गजुरीदेखि सिड्नीसम्मको एक प्रेरक सङ्घर्ष-कथा !

गजुरीदेखि सिड्नीसम्मको एक प्रेरक सङ्घर्ष-कथा !


वि.सं. २०३३ मा माता हिरादेवी र पिता तोयानाथ डल्लाकोटी (हाल दिवंगत) का जेष्ठ सुपुत्रका रूपमा गजुरी (धादिङ)मा जन्मिएका दीपक डल्लाकोटी एक आम नेपाली युवा हुन्, तर उनको ‘जीवन-सङ्घर्ष’ भने तमाम नेपाली युवाका लागि प्रेरक बन्न सक्छ ।

सानैदेखि चञ्चले तर अध्ययनशील स्वाभावका उनी स्थानीय स्तरमा क्लब संचालनदेखि सामाजिक/आर्थिक क्षेत्रमा योगदान दिँदै आएका व्यक्तिको रूपमा आफ्नो गाउँ-ठाउँमा चिनिन्छन् । जब उनी कक्षा ७ मा अध्ययनरत थिए, एक अकल्पनीय घटना घट्यो । एक सडक दुर्घटनामा उनले आफ्नो बुबालाई गुमाए । त्यसपछि उनको जीवनले दर्दनाक कोल्टे फेऱ्यो । सधैं कक्षामा प्रथम/दोश्रो स्थान हासिल गर्ने दीपकको पढाइमा मात्र असर नपरी उनको पारिवारिक जीवन नै आर्थिक/सामाजिक परिवेशले थिचिएर खस्कँदै गयो । बालक उमेरमै बाबु गुमाएर टुहुरो बन्नुपरेको पीडा, एकलनारीमा अनुदित आमासहित पाँच जनाको परिवारको बोझ नै उनमाथि थोपरियो । यस्तो परिस्थितिसँग पौँठेजोरी खोज्दै उनले २०४८ सालमा एसएलसी परीक्षा पार गरे र, उच्चशिक्षा अध्ययनको लागि नेपाल ल क्याम्पसमा भर्ना भए । अनेक दुःखकष्ट झेल्दै बीएल पढ्दै थिए, तर काठमाडौंको महँगो बसाइ धान्न नसकी पैसाकै खोजीमा उनी अरबको तातो हावा अनि बालुवामा सुन खोज्न तल्लीन रहे ।

केही वर्षको अरब बसाइपछि ‘अरुको काम गर्नुभन्दा आफ्नै उद्यम किन नगर्ने ?’ भन्दै २०५४ सालमा उनी नेपाल फर्किए । अनि धादिङ बेसीस्थित Public health & technical education मा community medical assistance (CMA) पढ्न थाले र प्रथम श्रेणीमा पास भए । अनि गजुरी बजारमा आफ्नै हेल्थ क्लिनिक सञ्चालन गरे । स्वास्थ्य सेवाको पहुँच त्यतिबेला गाउँका कुना-कुनामा हुने सवाल नै थिएन, कहिले पिंडाको गैरीगाउँ त कहिले गजुरीको सुन्दरनाङ्गी जस्ता विकट स्थानहरूमा औषधिको झोला बोकी उनले निकै समय बस्ती-बस्ती र घर-घरमा सेवा प्रदान गरे । त्यतिबेला कहिले सुत्केरी ब्यथाले सताएका त कहिले विषालु च्याउ खाएर जीवनमरणको दोसाँधमा पुगेका, कहिले झाडाबान्ताले थलिएका त कहिले घाउचोटले रन्थनिएका पीडित गाउँबासीका लागि दीपकले सेवा उपलब्ध गराए । तर, घरमा हुर्कंदै गरेका भाइ-बहिनीप्रतिको दायित्वबोध र आर्थिक अभावले सताइएर उनी पुनः युएई शहरमा सेक्युरिटी गार्डको रूपमा डीपी वर्ल्ड नामक कम्पनीमा काम गर्न बाध्य भए ।

यसरी देश अनि परदेश गर्दै घरको ‘जेठो सदस्य’को भूमिका निर्वाह गर्दै थिए दीपक डल्लाकोटी । यसैक्रममा २०६० सालमा चितवननिवासी शारदा तिवारीसँग उनी लगनगाँठोमा बाँधिन पुगे । त्यसपछि जीवनको यात्रालाई अर्को मोड दिँदै उनले चितवनकै हाकिमचोकमा क्लिनिक सञ्चालन गरे । तर ‘सिएमए’ फेजआउट हुँदै गएकोले नजिकैको नवलपरासीस्थित कालिका मेडिकल एण्ड टेक्निकल इन्ष्टिच्युटमा हेल्थ असिस्टेन्स (HA) तीनवर्षे अध्ययन गरी उनले पहिलो श्रेणीमा पास गरे र, लगत्तै २०७४ सालमा उच्चशिक्षाको लागि अष्ट्रेलियाको सिड्नी हानिए ।

उमेर ४० बाट उकालो लागिसकेका भएपनि जीवनलाई नयाँ परिवेशमा पुनः शुन्यबाट सुरु गर्ने अवस्थामा उभिएका थिए उनी । हप्तैपिच्छेको कोठाभाडा, खाना अनि युनिभर्सिटी आउजाउ खर्च, युनिभर्सिटीको शुल्क तथा गाउँको बैंकको ऋणको किस्ता र ब्याज… ! यो भयावह आर्थिक भारले थिचेर उठ्नै नसक्ने पो हो कि भन्ने त्रासदीसँग भिड्दै उनले आफूलाई सम्हाले र पाँच वर्षको कठिन यात्रा पार गरे । ४७ वर्षको उमेरमा पनि उनले पढाइको धोको कायम राखे र, अस्ट्रेलियाको Torrens University बाट Batchelor of social science (community services) मा स्नातक गरे । स्वदेशमा परिस्थिति प्रतिकुल बनेपनि परदेशमै भएपनि डिग्रीधारी ‘टोपी’ पहिरिने धोको उनले पूरा गरे ।

यसरी ‘जहाँ इच्छा त्यहाँ उपाए’ भन्ने भनाइलाई अवलम्बन गर्दै एक मध्यमवर्गीय किसानको छोरोले अनेक उतारचढावका बीच आफ्नो सपना साकार पारे । अब जीवनको बाँकी समय स्वदेश अनि परदेशका अनुभव, विकास, परिवर्तन, सुचना सञ्चार, प्रविधि, ज्ञान-विज्ञानलाई स्वदेशमै प्रयोग गर्न आतुर छन् दीपक । घर-घरमा रोजगार, टोलटोलमा भण्डारण, समयअनुरुप जनसेवा, ब्यापार-व्यवसाय र वितरण अनि उदार अर्थतन्त्रलाई प्रोत्साहन दिने आर्थिक ब्यवस्थाका पक्षपाती उनको जीवन-भोगाइ अनि अबको लक्ष्यले नेपालमा रहेका तमाम नागरिक तथा विदेसिन चाहने युवा एवम् विद्यार्थी वर्गलाई बेग्लै प्रेरणा मिल्नेमा आशावादी बन्न सकिन्छ ।