ललिता निवास जग्गा कब्जा प्रकरणको एक स्मरणीय तथ्य

ललिता निवास जग्गा कब्जा प्रकरणको एक स्मरणीय तथ्य


मीनबहादुरले जमिन खरिद गरेको भनेर जो-जसले बुझ्नुभएको छ, त्यो शतप्रतिशत गलत हो । ढकाल र गुरुङ योजनाकार हुनुहुन्छ । मोही खडा गर्ने, प्रशासन र राजनीतिक तहमा घुसपेस मिलाउने, नक्कली मोहीको नाममा लालपुर्जा बनाएर तिनीहरूबाट आफूले किनेको नाटक गर्ने काम पूर्व योजनाअनुसार नै भएको हो ।
✍ देवप्रकाश त्रिपाठी

ललिता निवासको नाममा रहेको सरकारी जग्गा कब्जा प्रकरणमा जमिन खरिदकर्ता भनिएका मीनबहादुर गुरुङ नामक ब्यक्तिप्रति कतिपय मानिसले सहानुभूतिका शब्द खर्चेको देखिएपछि दुई दशक पुरानो एउटा घटना स्मरण भएको छ, जसलाई सबैको जानकारीका निम्ति यहाँ प्रस्तुत गर्न सान्दर्भिक ठानेको छु ।

कुमारी बैंक सञ्चालक समितिको अध्यक्ष हुनुहुन्थ्यो नुरप्रताप राणा, उहाँ मुख्य लगानीकर्ता रहेको थोपलखोला हाइड्रोपावर सञ्चालक समिति अध्यक्षको जिम्मेवारीचाहिँ मैले निर्वाह गरिरहेको थिएँ । सञ्चालक समितिमा नरेश बज्राचार्य, नुरप्रताप राणा र विश्व कँडेल हुनुहुन्थ्यो, हामी एउटा परिवारजस्तै भएर बसेका थियौँ । नुरप्रताप राणा र मेरा बीचमा विशेष घनिष्टता थियो, उमेरले मभन्दा उहाँ ज्यादा परिपक्व भएपनि विभिन्न विषयमा मैले प्रस्तुत गर्ने धारणाप्रति उहाँको उच्च सम्मान रहने गर्दथ्यो । र, किन हो कुन्नि अधिकाङ्श निर्णय लिनुअघि मसँग परामर्श गर्नु उपयुक्त ठान्नुहुन्थ्यो । उहाँको गोल्डस्टार जुत्ता कम्पनीमा उत्पन्न समस्या हुन् या कुमारी बैंकमा, प्रायः शेयर गर्नुहुन्थ्यो ! त्यस्तैमा एकदिन उहाँले भन्नुभयो- ‘कुमारी बैंकमा मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल नामका सञ्चालकहरू हुनुहुन्छ, उहाँहरूले मलाई बालुवाटारस्थित ललिता निवासको नामले चिनिने जग्गामा मोही खडा गरेर उक्त जग्गा मोहीसँग खरिद गरेको कागज बनाएर हातपार्न सकिने बताउनुभएको छ । यसो गर्नु उचित होला कि नहोला, हुन्छ भने तपाईंको पनि उच्च राजनीतिक तहमा सम्पर्क छ, लाग्नुपऱ्यो, हामी सबैलाई फाइदा हुन्छ, यदि यो नमिल्ने कुरा हो भने छोडिदिनुपऱ्यो, म पनि लाग्न भएन ।’

राणाबाट त्यति कुरा सुनिसकेपछि मैले त्यसबारे सबिस्तार बुझेको थिएँ । त्यो त सरकारको नाममा रहेको उक्त जग्गामा नक्कली मोही खडा गरेर पहिले तिनको नाममा लालपुर्जा बनाउने र, त्यसपछि उनीहरूको हातमा बीस-पचास हजार थमाइदिएर खरिद गरेको कागज बनाइ जग्गा आफ्नो स्वामित्वमा ल्याउने योजना रहेछ । मैले आफू अलिक जान्ने-बुझ्ने भएदेखि नै सरकारी सम्पत्तिमा क्षति पुऱ्याएर तथा ब्यक्तिको आत्मा रुवाएर धन कमाइमा नलाग्ने अठोट गरेको थिएँ । यस्तो मूल्य मान्यताका कारण धेरै अवसरहरू गुमेका थिए, तर मलाई पश्चाताप कहिल्यै रहेन । बुझिसकेपछि मैले नुरप्रताप राणालाई ‘यो काममा नलाग्न’ सुझाव दिँदै आफू पनि नलाग्ने स्पष्ट गरिदिएँ । एकै वचनमा उहाँ त्यस्तो काममा नलाग्न सहमत हुनुभयो । शोभाकान्त स्याङ्जाका र मीनबहादुर ओखलढुङ्गाका बासिन्दा हुनुहुन्थ्यो । यी दुवैसँग मेरो ब्यक्तिगत चिनजान नभएपनि नुरप्रतापमार्फत दुवैका बारेमा जानकारी प्राप्त भइरहेको हुन्थ्यो । बैंकको सञ्चालक समितिमा पनि ढकाल र गुरुङ मिलेर सधैं अप्ठ्यारो पारिरहन खोजेको बुझिन्थ्यो ।

नुरप्रताप राणाले ललिता निवास कब्जा गर्ने कार्यमा सहयोग नपुऱ्याएकोले पनि हुनसक्छ, उहाँहरूबीच अन्तरविरोध गहिरिएको थियो । यतिबेला राणा यस धर्तिमा हुनुहुन्न, तर ललिता निवासलाई कब्जा गर्न भइरहेका प्रयासबारे उहाँको जानकारीमा आएर मलाई बताइएका तथ्यहरू अहिलेसम्म मेरा कानमा गुन्जदै छन् । सोचेको थिएँ- ‘तिनले जग्गा कब्जा गर्न सकेका छैनन् ! तर २०६३ पछि लुटेरा भएपनि त्यसो भनिहाल्न नमिल्नेहरूको राज्यसत्ता आएपछि क्रमशः मिलाइ-मिलाइ आफ्नो बनाउन भ्याएका रहेछन् । जुनबेला मैले यो थाहा पाएँ, त्यसपछि आफूलाई निरीह ठानेको थिएँ । राज्यमा त्यस्तैहरूको बोलवाला सुरु भइसकेको थियो ।

त्यसैले, मीनबहादुरले जमिन खरिद गरेको भनेर जो-जसले बुझ्नुभएको छ, त्यो शतप्रतिशत गलत हो । ढकाल र गुरुङहरू योजनाकार हुनुहुन्छ । मोही खडा गर्ने, प्रशासन र राजनीतिक तहमा घुसपेस मिलाउने, नक्कली मोहीको नाममा लालपुर्जा बनाएर तिनीहरूबाट आफूले किनेको नाटक गर्ने काम पूर्व योजनाअनुसार नै भएको हो । त्यसैले ढकाल र गुरुङप्रति सहानुभूति रहनुपर्ने कुनै कारण तथ्यहरूले देखाउँदैन ।

आँखैअगाडि बागमतीको पचासौँ रोपनी जमिन कब्जा भएर अहिले निकै ठूला भवनहरू बनेका छन् । त्यसबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदा सुन्न कोही तयार भएनन् । जब धन बोल्न थाल्छ त्यसपछि सत्य चुप रहन बाध्य हुन्छ भनेजस्तै भयो ।

यता मेरो बासस्थान (ललितपुर-१०, युएनपार्क)को ठीक पारिपट्टि (बागमतीको काठमाडौंतर्फ) बागमती किनार भूमाफियाहरूले हेर्दाहेर्दै कब्जा गरिसक्दा पनि मैले केही गर्न सकेको थिइनँ । पारिको किनारा कब्जा गर्नुअघि उनीहरू हाल युएनपार्क रहेको फाँट नापी गरेर कब्जा गर्न आएका थिए । मलाई चुपचाप बसिदिएबापत तीन रोपनी जमिन दिइने प्रस्ताव थियो, मैले उक्त प्रस्ताव अस्वीकार गर्दै भनेको थिएँ- ‘ म लिन्नँ र तपाईंहरूको हुन पनि दिन्नँ ।’ पछि बुझ्दा थाहा भयो- हाम्रा वडाध्यक्ष नरसिंह ब्यन्जनकारलाई सात रोपनी तथा टोल सुधार समितिका अध्यक्ष कुलबहादुर आचार्यलाई तीन रोपनी उपलब्ध गराइने प्रस्ताव गर्दा उहाँहरूले पनि अस्वीकार गर्नुभएको रहेछ ।

ललितपुरतर्फको जमिन कब्जा हुन नसक्ने देखिएपछि उनीहरू काठमाडौंतिर लागेछन् । त्यसनिम्ति क-कसलाई मिलाए भन्ने बुझिएको छैन, तर सबैभन्दा पहिले धोबिखोला आएर बागमतीमा मिसिने ठाउँको बागमती बगरको बीचमा एउटा मन्दिर निर्माण हुन थाल्यो । मन्दिर निर्माणमा असहमति जनाउन खोजिएन, त्यसपछि मन्दिरको सूरक्षार्थ पर्खाल लगाइयो र, त्यही पर्खाल सिधा पारेर बागमतीको बीचैबीच बुद्धनगरतर्फको जमिन नदीबाट अलग गरियो । धोबिखोला दोभानदेखि रोजबड स्कूलको पर्खाल हुँदै जगत श्रेष्ठको घर नै बागमतीको वास्तविक किनारा थियो । आँखैअगाडि बागमतीको पचासौँ रोपनी जमिन कब्जा भएर अहिले निकै ठूला भवनहरू बनेका छन् । त्यसबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदा सुन्न कोही तयार भएनन् । जब धन बोल्न थाल्छ त्यसपछि सत्य चुप रहन बाध्य हुन्छ भनेजस्तै भयो ।

त्यसैले ललिता निवासको नाममा रहेको सरकारी जमिन कब्जा हुँदा पनि हामीले केही गर्न सकेका थिएनौँ । जो-जसले जमिन फिर्ता गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, उहाँहरूलाई धेरै-धेरै धन्यवाद !