पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकलाई

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावकलाई


पोखरामा शनिबार सम्पन्न पोखरा अन्तर्राष्ट्रिय म्याराथन १८औँ संस्करणको उपाधि केन्याली धावक जुलियास मुरियाली वाहोमले जितेका छन् ।

नेपाली खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा आयोजित म्याराथनमा केन्याली धावकले उपाधि चुमेका हुन् । उनले निर्धारित ४२.१९५ किलोमिटर दुई घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गरेर नगद रु पाँच लाख पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी, केन्याकै अर्का धावक इसाक किहारा कमिरीले दुई घण्टा २० मिनेट ०५ सेकेन्डमा दौड पूरा गरेर उपविजेताको पुरस्कार हासिल गरे । पुरस्कारको राशि रु. तीन लाख छ ।

अघिल्लो संस्करणका विजेता केन्याली धावक इडविन किप्लागटले दुई घण्टा २० मिनेट ४५ सेकेन्डमा निर्धारित दूरी पार गरी तृतीय हुँदै रु दुई लाख पुरस्कार प्राप्त गरे । नेपाली धावक किरण सिंह बोगटी चौथो स्थानमा समेटिए । उनले उक्त दूरी २ घण्टा २४ मिनेट ०२ सेकेन्डमा पूरा गरेका थिए । प्रोत्साहनस्वरुप उनलाई रु ३० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशतर्फ सफल लामा, देवप्रसाद जलारी र मनोज अधिकारी क्रमशः प्रथम, द्वितीय र तृतीय भए । यसैगरी, महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जित्नुभयो । उनले निर्धारित २१ किलोमिटर एक घण्टा १८ मिनेट ३९ सेकेन्डमा पार गर्दै नगद रु एक लाख ५० हजार प्राप्त गरे ।

केन्याली अवीजल जेरोप एक घण्टा १९ मिनेट दुई सेकेन्डमा उक्त दूरी पार गर्दै दोस्रो हुँदा राममाया बुढाले एक घण्टा १९ मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै तृतीय स्थान हासिल गरिन् । नेपालकी फूलमती रानाले एक घण्टा २१ मिनेट ०७ सेकेन्डमा निर्धारित दूरी पार गरी सान्त्वना स्थान हासिल गरिन् ।

पुरुष १० किलोमिटर दौडमा ३१ मिनेट १५ सेकेन्डमा दूरी पार गरी टङ्कबहादुर कार्की प्रथम, सुवास कार्की द्वितीय हुँदा ३२ मिनेट ३७ सेकेन्डमा पार गरे । तृतीय भएका सञ्जीव नेपालीले ३३ मिनेट २९ सेकेन्डमा दूरी पूरा गरे । प्रथम भएका कार्कीले रु ३० हजार, द्वितीय हुनुभएका सुवासले रु २० हजार र तृतीय भएका नेपालीले रु १५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गरे ।

महिला १० किलोमिटर दौडमा ४२ मिनेट १६ सेकेन्डमा दूरी पार गरी आशा रावत पहिलो हुँदा ४२ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी सीमा चौधरी द्वितीय र ४४ मिनेट २१ सेकेन्डमा दूरी पार गर्दै नम्रता गुरुङ तृतीय भइन् ।

यसैगरी, पाँच किमी छात्र दौडमा तेन्जन रोक्का मगर पहिलो, प्रकाश थिङ दोस्रो र ईश्वर ढकाल तृतीय भए । छात्रातर्फ नारायणी भण्डारी पहिलो, गीता श्रेष्ठ दोस्रो र एन्जीला जिटी तृतीय हुन सफल भइन् ।

यसैगरी, पाँच किमी भेट्रान पुरुषतर्फ कपिल श्रेष्ठ, आइलाल शाही, नीमबहादुर थापा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । महिलातर्फ चित्रा गुरुङ, विष्णुकुमारी गुरुङ र चेतमाया पँगेनी क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् ।

प्रतियोगिताको पाँच किलोमिटर छात्रछात्रा तथा भेट्रान दौडमा प्रथम हुनेलाई जनही रु १५ हजार, दोस्रोलाई जनही रु १० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई जनही रु सात हजार पुरस्कार प्रदान गरिएको थियो ।