‘आमा’को स्थान लिने ती महान् भाउजु !

‘आमा’को स्थान लिने ती महान् भाउजु !


दाजुले आफ्ना भाइ-बहिनीलाई अंश दिनुपर्ला भनेर भएजतिको सम्पत्ति आफ्नो नाममा गर्दै रहेछन् । पतिले यस्तो गर्न लागेको जानकारी पाएपछि पत्नीले आफ्ना सानी नन्द र देवरलाई सम्पत्तिबाट बञ्चित हुन नदिनका लागि पतिलाई प्रतिवादी बनाएर अदालतमा अंशचलनको मुद्दा हालिन् ।
✍ रसना ढकाल

काठमाडौं जिल्ला अदालतको एक इजलासमा रोचक दृश्य देखियो । एक महिला आफ्ना देवर र नन्दको सम्पति-हक स्थापित गर्नका लागि पतिसँग सम्बन्धविच्छेद मागिरहेकी थिइन् । उनले इजलासमा न्यायाधीशसँग अनुरोध गर्दै भनिन्- ‘श्रीमान् ! जुन दाजुले आफ्नो भाइ र बहिनीलाई अंश नदिन अनेकन चाल चल्न सक्छ त्यस्ता पुरुषको पत्नी हुँ म ! डर लाग्यो मलाई… जो व्यक्ति आफ्नो भाइ र बहिनीको ‘दाइ’ हुन सक्दैन भने के उ मेरो पति जीवनभर रहन सक्ला ? या मैले नै उसलाई जीवनभरी साथ दिन सकुँला ? जसले आफ्नै भाइ-बहिनीलाई हेलाको पात्र बनाउँछ, त्यस्तो पात्र मेरो पति हुन सक्दैन श्रीमान् ! मेरो बुबा र आमाले मलाई परिवार जोड्नको लागि सम्बन्ध बनाइदिएका हुन्, परिवार तोड्नको लागि होइन । मेरा पतिले मलाई पनि यो अवस्थामा नपु¥याइदिउन् जुन अवस्थामा उनले आफ्नो एकै कोखबाट जन्मिएका भाइ-बहिनीलाइ पुऱ्याइरहेको छ ! त्यसकारण म सम्बन्धविच्छेदको निर्णयमा पुगेँ । म मेरो छोराछोरीसमानका देवर र नन्दसँग बस्छु । दुःख या सुख जस्तो हुन्छ हामी सहन्छौँ ।’

भाउजुको यो अभिव्यक्ति सुनेर १७ वर्षीय देवर भन्छन्- ‘भाउजु ! दाइसँग सम्बन्धविच्छेद नमाग्नुहोस्, बरु हामीलाई अंश चाहिन्न तर हजुर भाउजु चाहिन्छ ! किनकि आमा बितेपछि हामीले आमाको रुप हजुरमा देखेका छौँ… !’ देवरको यो शब्द सुनेर भाउजु बोल्न सकिनन् । इजलासका श्रीमानले ‘तपाईंहरू आपसी सहमतिमा आउनुस्, होइन भने तपाईंहरूकै इच्छा…’ भनेपछि उनीहरू इजलासबाहिर निस्किए ।

पङ्क्तिकार एक कामले अदालत पुगेकी थिएँ । त्यस दिन अदालतका फाँटमा निकै भिड थियो । समय बिताउने उद्देश्यले इजलासभित्र बहस सुन्न पुगेँ र, माथिको दृश्य देखेँ । त्यो दृश्यले मेरो मन सारै छोयो । ममात्रै होइन, त्यस इजलासमा रहेका इजलासअधिकृत लगायत मुद्दाका पक्ष-विपक्षीहरू सबैको मन छोयो । यत्तिकैमा खाजाको समय भयो, सबै बाहिर निस्किए र, आपसमा भन्न थाले- ‘कस्तो भाउजु ! हाम्रो नेपाली समाजमा यस्तो भाउजु कम नै भेटिन्छन्, जसले आफ्नो नन्द र देवरको भविष्य बनाउन आफ्नै भविष्य दाउमा लगाउँछन् । परिवार जोड्नको लागि यस्तो संस्कार दिने ती आमाबुबा महान् हुन्, जसले आफ्नो पतिसँग सम्बन्धविच्छेद मागिन् तर देवर र नन्दलाई छोडिनन् । सबै अचम्ममा परे । एकआपसमा कानेखुशी गर्न थाले ।

भाउजुले परिवार जोगाउन गरेको त्यागको त्यो दृश्य कुनै चलचित्रको दृश्य भन्दा कम थिएन । पतिसँग सम्बन्ध विच्छेद नमागे हुने, किनकि दाजु या भाइले सगोलको सम्पत्ति हिनामिना गरे भने त्यसको उपचारको लागि कानुनमा प्रश्स्तै ठाउँ छ, दुषित लिखत बदर, अंशचलन, जालसाजी लगायतका मुद्दा एक अशिंयारले अर्कोलाई हाल्न पाउँछ । मैले बडो हिम्मत गरेर ती भाउजुलाई सोधेँ- ‘दिदी तपाईंले किन पतिसँग सम्बन्धविच्छेद माग्नुभयो ? यदि तपाईंको पतिले सम्पत्ति हिनामिना गरे भने यसको कानुनी उपचार त अरु पनि प्रशस्तै छ नि… सम्बन्धविच्छेद नै निकास त होइन होला !’

मेरो कुरा सुनेर भाउजुले भनिन्- ‘म्याडम, मैले मेरा सासु र ससुरालाई उहाँहरूको अन्तिम अवस्थामा यी मेरा नन्द र देवरलाई साथमै राख्ने वचन दिएकी छु । यिनीहरूलाई विचल्ली हुनबाट रोक्ने पूरै जिम्मेवारी ममाथि छ । यी मेरा सन्तानजस्तै हुन्, भलै यिनले पछि गएर जेसुकै गरुन् तर बचनबाट पछि हटनु हुन्न, मेरा आमा-बाबाले मलाई यही सिकाएका छन् । घरकी बुहारीको नाताले मैले बचन दिएकी छु ।’

ठुलो दाजुले आफ्ना भाइ र बहिनीलाई अंश दिनुपर्ला भनेर भएजतिको सम्पत्ति आफ्नो नाममा गर्दै रहेछन् । पतिले यस्तो गर्न लागेको जानकारी पाएपछि पत्नीले आफ्ना सानी नन्द र देवरलाई सम्पत्तिबाट बञ्चित हुन नदिनका लागि पतिलाई प्रतिवादी बनाएर जिल्ला अदालतमा अंशचलनको मुद्दा हालिन् । त्यहि अंशबण्डाको मामला निकासको लागि अदालत पुगेको त्यस परिवारमा बडो माया र एकअर्कामा आत्मियता भएको देखियो । एकातिर अंशको मुद्दा थियो भने अर्कोतिर परिवारको परिभाषा दिने खालको दृश्य थियो ।

त्यस दृश्यले परिवारभित्र कस्तो प्रेम हुनुपर्छ भने देखाइरहेको थियो । जसले जन्म दिन्छ उ पो आमा, भाउजु पनि आमा हुन्छिन् र…? यस्तो प्रश्न सबैको मनमा उब्जिन सक्छ, जुन स्वभाविक पनि हो । तर हाम्रो नेपाली समाजमा आमापछिको ‘आमा’सरह भाउजु भनी मान्ने पनि छन् । यस्ता धेरै उदाहरणहरू खोज्दै जाँदा पाउन सकिन्छ । कुनै पनि नाता सम्बन्ध संधैको लागि हुँदैन । जबसम्म मान्छेको प्राण हुन्छ तबसम्म सम्बन्धअनुसारको सम्बोधन हुन्छ, तर मृत्युपश्चात सम्बोधन पूरै नसुन्ने हुन पुग्छ ।

साँच्चै भन्नुपर्दा परिवार सबैलाई चाहिन्छ । मानिस जन्मेपछि नमरुन्जेल त्यही परिवारको सम्सर्गमा रहन्छ । आफ्नो दुःखसुख परिवारमै पूर्ति गर्छ । तर पछिल्लो समय बढ्दै गएको एकल परिवारको युगले परिवारभित्र मायाको अभाव महसूस गराइरहेको छ । अहिले बढ्दो आधुनिकीकरण र एक्लोपनले परिवार भन्ने शब्दको परिभाषा खोज्नुपर्ने अवस्था आएको छ । हाम्रा पिता-पूर्खाको पालामा परिवार भनेर सम्बोधन गर्दा आमाबुबा, काकाकाकी, छोराछोरी लगायत सबैलाई सम्बोधन गरिन्थ्यो भने अहिले पतिले पत्नीलाई र पत्नीने पतिलाई मात्रै परिवार ठान्ने चलन आएको छ । जन्म दिने आमाबुबा, दाजुभाइ दिदीबहिनीको त्यहाँ कुनै स्थान नरहने खतरा बढेको छ ।

केहि महिनाअगाडिको कुरा हो, एक तालिमको दौरान सौराहा पुगेकी थिएँ । मेरो रुमपार्टनरले आफू सौराहा पुगेको फोटो फेसबुकमा पोष्ट गर्नुभयो र तुरुन्तै १५ कमेन्ट आए । र, मैले- ‘दिदी, कति धेरै कमेन्ट हो यति चाँडै ! फेरि सबैले कति राम्रा शब्दहरू लेख्नुभएको .. ?’ भनेर सोधेँ । रुमपाटर्नरले- ‘यी सबै मेरा नन्दहरू, ज्वाइँ र देवारानीहरू हुन् । हाम्रो प्यारा परिवारजन हुन्, यिनैले कमेन्ट गरेका हुन्’ भन्नुभयो । त्यस्तो देख्दा र सुन्दा नि आनन्द लाग्ने ! साँच्चै परिवार त हाम्रो बृहत छ नि, परिवार भएर पनि नभएजस्तो गर्ने, खुम्च्याउने हामी आफैले गर्दारहेछौँ ।

आमा, बुबा भन्ने शब्द एकदमै निकट र ममताले भरिएको शब्द हो । आमाको कोखबाट जन्म र बुबाले सन्तानलाई दिने मार्गदर्शन, साथ, प्रेम कति हो कति । यो दुई शब्दको जति बयान गरे पनि शब्द त्यति कम पर्न जान्छ । तर यति भनिरहँदा हाम्रो नेपाली समाजमा आमाको चर्चा अत्यधिक र बुबाको चर्चा कम हुने गर्दछ । हुन त केही वर्षयता आएका दिग्भ्रमित सोचहरूको नकारात्मक परिणतिका कारण यस्तो हुन गएको हो । सन्तानको लागि आमा र बुबा दुवै समान हुन् । आमाको स्नेह कोखमा आएको दिनदेखि नै सुरु हुन्छ । आमा र बुबा बन्न पाउँदा सबैले आफूलाई सौभाग्य ठान्छ, किनकि सन्तानप्रतिको प्रेम, संसारको सबैभन्दा उच्चतम कोटीको प्रेम हो । तथापि, यस संसारमा आमाबुबा बन्न नपाएकाहरूको पनि बेग्लै कहानी छ । कोहीले धर्मपुत्र या पुत्री बनाएर सन्तानको रहर पूरा गरेका छन् भने कोहीले यस्तो गर्न सकेका छैनन्, फरक यति मात्रै हो ।

धन सम्पत्ति र व्यक्ति एकअर्काको पुरक हुन् । धन कमाउने पनि व्यक्ति हो र गुमाउने पनि व्यक्तिले नै हो । जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ भनेजस्तै नै हो । ठुल्ठूला र आदर्शको कुरा गर्दैमा सबै कुरा पुग्दैन । धन सम्पत्ति मानिस बाँचुञ्जेल चाहिन्छ । किनकि त्यसको प्रयोगले व्यक्तिले आफनो भविष्य निर्धारण गर्न सक्छ, दिनहुँको काममा त्यो प्रयोग हुन्छ । तर त्यही सम्पत्ति प्राप्तिको लागि पूरै परिवारको बलिदान लिनु पनि राम्रो हुँदैन । हाम्रो समाजमा यस्तो पनि देख्न पाइन्छ कि घर, सम्पत्ति प्रशस्तै छ तर परिवारभित्र आत्मियता छैन । यदि परिवार भएर एकर्काभित्र आत्मीयता छैन भने त्यो परिवार रणभूमिमा परिणत हुन समय लाग्दैन । त्यो परिवार धनी हुन्छ जुन परिवारमा एकअर्काबीच आत्मियता हुन्छ । जस्तो कि अदालतमा देखिएको माथि उल्लेखित दृश्य जस्तो !