पुटिनका कट्टर विरोधि रुसी विपक्षी नेता नाभाल्नीको कारागारमा मृत्यु

पुटिनका कट्टर विरोधि रुसी विपक्षी नेता नाभाल्नीको कारागारमा मृत्यु


रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको आर्कटिक जेल कोलोनीमा मृत्यु भएको छ । रुसको सङ्घीय कारागार सेवालाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार शुक्रबार नाभाल्नी टहलिइरहेको बेला अचानक बेहोश भएका र तत्काल चिकित्सकको सेवा उपलब्ध गराइएपनि उनलाई बचाउन सकिएन ।

कारागार सेवाले भनेको छ, ‘टहलेपछि नाभाल्नीले अप्ठ्यारे महसुस गर्नुभयो, उहाँ तत्काल बेहोश हुनुभयो, मेडिकल स्टाफ तुरुन्तै आइपुग्यो र एउटा एम्बुलेन्स टिमलाई बोलाइयो, पुनर्जीवनको उपाय गर्दा सकारात्मक परिणाम आएन, प्यारामेडिकहरूले उहाँको मृत्युको पुष्टि गरे, मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको छ ।’

रुसी राष्ट्रपति पुटिनको कट्टर विरोधि नाभाल्नी उक्त कारागारमा १९ वर्षको सजाय काटिरहेका थिए । रुसको अनुसन्धान समितिले पनि उनको मृत्युको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

नाभाल्नीका प्रेस सचिव किरा यर्मिशले उनको टिमलाई मृत्युको सूचना नदिइएको आरोप लगाएका छन् ।

नाभाल्नीका प्रवक्तालाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई नाभाल्नीको मृत्युको जानकारी दिइएको बताएका छन् ।

रुसका सबैभन्दा प्रख्यात ४७ वर्षीय विपक्षी नेता नाभाल्नीले रुसमा भ्लादिमिर पुटिनको भ्रष्टाचारको आलोचना गरेपछि सबैभन्दा ठूलो सङ्ख्यामा अनुयायी बनाएका थिए । रुसको कठोर प्रतिविरोधी कानूनका बावजुद उनको युट्युब च्यालनमा पोस्ट गरिएका उनको खुलासाले लाखौँ ‘भ्यु’ प्राप्त गरेको थियो र, हजारौँ रुसीलाई सडकमा ल्याएको थियो ।

जर्मनीबाट रुस फर्केपछि सन् २०२१ को प्रारम्भमै नाभाल्नीलाई कारागारमा पठाइएको थियो । स्वतन्त्र अधिकार समूह र पश्चिममा क्रेमलिनको व्यापक रूपमा निन्दा गरिएको आरोपको प्रतिशोधमा उनलाई १९ वर्षको कारागार सजाय सुनाइएको थियो । गत वर्षको अन्त्यमा उनलाई उत्तरी साइबेरियामा रुसको यमालो-नेनेट्स क्षेत्रमा आर्कटिक कारागारको एक कोलोनीमा राखिएको थियो ।