पश्चिमा बर्चस्वको युग क्रमशः कमजोर हुँदै !

पश्चिमा बर्चस्वको युग क्रमशः कमजोर हुँदै !


ब्रिक्सले अर्को वैश्विक ध्रुवको नेतृत्व गर्ने

अमेरिकी ब्यारेकमा ब्यापक आक्रमण शुरु भइरहेको छ । अमेरिकीहरू इराक र सिरियाबाट पनि भाग्ने दिन कुरेर बसेका छन् । यदि ब्यारेकमा अमेरिकन सैनिक मरे भने युद्धबाट फर्कन नसक्ने गरि फसिने चिन्ताले अमेरिका काँपिरहेको छ ।
✍ डिल्ली अम्माई

विषय प्रवेश :

कर्पोरेट पुँजीवादले मानिस, प्रकृति, ज्ञान, सिप, जीव तथा प्रेमलाई किनबेचको बस्तुमा रुपान्तरण गर्दछ र, नाफालाई अर्थ-राजनीतिको अन्तिम उपलब्धि मान्दछ । बजार पुँजीवादलाई ठुला पूंजीपतिहरूले आफ्नो अर्थ प्रणालीको फ्रेमभित्र राखेर सञ्चालन गर्दछन् । जब उनीहरू संगठित हुँदै विशाल संजाल बनाउन थाल्दछन्, त्यसले अन्तर्राष्ट्रिय जालोको रूप लिन्छ । संसारको औद्योगिक, प्राविधिक र वित्तिय ब्यवस्थामा उनीहरूले पूर्ण बर्चस्व बनाएर संसारमा सँगठित शोषण गर्ने भएकोले त्यसलाई कर्पोरेट पुँजिवाद भनिन्छ । त्यहाँ बजार बिचौलियाहरूको नियन्त्रणमा हुन्छ भने बस्तुको मूल्य क्रयशक्ति र मागबीचको सन्तुलन तय हुन्छ । कर्पोरेट पुँजीवादले कच्चा पदार्थको लागि अरुका देशलाई उपनिवेश बनाउने र लुट्ने गर्नाले उपभोक्ता देश र जनताहरू कंगाल हुँदै जान्छन् । यस्तो व्यवस्थाको अन्तिम चरण साम्राज्यवाद हो, त्यसले मानिससहित देशहरूलाई पनि उपभोक्ता हुँदै क्रमशः दास बनाउँछ, निचोर्छ र अन्तमा विश्वलाई कच्चापदार्थको पूर्तिको लागि युद्धको भुमरीमा धकेल्छ ।

यस ब्यवस्थामा मानविय मूल्य बस्तुको मूल्य जस्तै हो । कमजोर ङ्याकिन्छ र उसको अस्तित्व प्रतिस्पर्धाको कारण मेटिन्छ भने जित्नेहरूको इन्ट्रेष्टमा प्रणाली चलायमान हुन्छ । ब्यापारको लागि प्रतिष्पर्धा र कच्चापदार्थको लागि कब्जा त यहाँ सामान्य जस्तै हुन्छ । यसैका उदाहरणहरू हुन् अहिले विश्वभर चलिरहेका द्वन्द्व र युद्धहरू !

अहिलेसम्म संसारको वित्तिय र राजनैतिक प्रणालीको सम्राट उत्तर अमेरिका नै हो । उसका केही सहयात्रीहरू युरोपमा छन् भने संसारभर ९ सय भन्दा बढी ठाउँमा स्थाइ सैनिक क्याम्पहरू रहेका छन् । यी सबै मिलेर उसले आफ्नो सोचअनुकुल विश्व व्यवस्था चलाइरहेको छ । ५०० वर्षदेखि अहिलेसम्मको वैश्विक बर्चस्व मोटामोटी युरोप र अमेरिकी नेतृत्वको वरिपरि नै छ । यो बर्चस्वको लडाइँमा युरोपियनहरूले अमेरिकी महाद्वीप, युरोप, अफ्रिका, एसिया, अष्ट्रेलिया गरेर करोडौँ मानिसको जातिय सफाया गरिसकेका छन् । उनीहरूले गरेको जेनोसाइडको लिखित विवरण उतार्नु धेरै नै मुस्किल कुरा हो ।

सन् २०१४ फेब्रुअरी तथा मुठभेडको रुपमा सन् २०२२ फेब्रुअरी २४ देखि चलिरहेको युक्रेन युद्ध होस् वा ७ अक्टोबर, २०२३ देखि चलेको हमास–इजरायल युद्ध– दुवैको सृजनाहार अमेरिका नै हो । साम्राज्यवादी अमेरिकाले इतिहासमा बालक, वृद्ध, महिला वा कुनै पनि देशका निरपराध मानिस मारिँदा दया, प्रेम र मानवता वा मानविय करुणा ब्यक्त गरेको इतिहास छैन । उसको चासो राष्ट्रिय स्वार्थ र आर्थिक लाभसँग मात्र रहन्छ ।

त्योभन्दा अगाडिका इरान इराक, सिरिया, प्रसियन गल्फ, लाल सागर लगायत मध्यपूर्वका प्रायः सबै प्रतक्ष वा प्रोक्सी वार अमेरिकी इन्ट्रेष्टमा नै भएका व्यापारिक द्वन्द्वका बाइप्रोडक्ट हुन् । यी सबै युद्धको प्रमुख रहस्य बर्चस्वको छिनाझपटीभित्र रहेपनि यसको बाहिरी रुप वैश्विक ब्यापार प्रतिष्पर्धाले ल्याएको द्वन्द्व हो भन्दा अत्युक्ति नहोला ।

यी सबै युद्धहरूको कारणले गर्दा अहिले संसारमा आधुनिक हतियारहरूको होड आकासिँदै गइरहेको छ । हतियारको निर्माण र किन बेच इतिहासकै उच्च स्तरमा छ । यी टकरावहरूले संसार कता जाँदैछ भन्नेतर्फ नै संकेत गर्दछन् ।

संसारमा प्रविधि र हतियार निर्माणको विकास स्तर बाहिर जति देखिएको छ भित्रभित्रै त्योभन्दा सयौँ गुणा बढी हुन सक्छ । चीन, इरान, उत्तर कोरिया, भारतले आफ्नो प्रविधिलाई गुणात्मक रुपले रुपान्तरण गर्दै लागेका छन् । उत्तरकोरियाको एउटा ह्याकरले संसारको इन्टरनेट संचालित सेवालाई ह्याक गरेर वा भाइरस पठाएर आधुनिक युद्धक्षमतालाई चुनौती दिन सक्ने अवस्थामा आइपुगेको छ ।

एउटा भाइरसले संसारको सम्पूर्ण प्रणाली ठप्प पार्न सक्ने युग हो यो । यन्त्र विकास र रोबर्ट आर्मी, ड्रोन वा जहाजमा अत्याधुनिक प्रविधि, डिफेन्स सिष्टममा उत्तर कोरिया, चीन, इरानको प्रविधिले पुराना शक्तिराष्ट्रहरू हायलकायल छन् । इजरायल र अमेरिकी शक्तिका पुराना मिथकहरू अहिले मजाकका विषय बनिरहेका छन् । युक्रेन रुस युद्धमा जस्तै हमास र इजरायल युद्धमा पनि सबैको युद्ध शक्ति, प्रविधि र कौशलको राम्रै परिक्षण भइरहेको छ ।

अन्तर्राष्ट्रिय सङ्कट :

वैश्विक सङ्कट घट्दो हैन बढ्दो छ । पश्चिमानियन्त्रित वैश्विक व्यवस्था भत्किने अवस्थामा छ । अमेरिकी विश्लेषकहरूकै अनुशार विश्व बहुध्रुवीय कोर्समा गइ नै सकेको छ । यो सबै नवउदारवादी विश्व व्यवस्थामा आएको सङ्कट र त्यसले पैदा गरेका अनेकौं अन्तरविरोधका कारण भएको हुन सक्ने आँकलन आर्थिक विश्लेषकहरूको छ ।

यी सबै अन्तर्विरोध एक्कासी प्रकट भएका भने हैनन् । पुरानो वैश्विक प्रणालीमा देखिएका अन्तरविरोधहरू ऐतिहासिक त्रुटी, निषेधात्मक राजनैतिक प्रणाली, संवेदनहीन अर्थनीति, केही साँस्कृतिक पहिचानको खोजी र प्रविधिका क्षेत्रमा आएको बदलावका कारण विकसित हुँदै आएका हुन् । यो सबैको संक्षिप्त अवस्था र परिवेशलाई नबुझी नवउदारवादविरुद्ध पूर्व र दक्षिणका मुल्यगत अन्तरसंघर्षलाई बुझ्न सकिँदैन ।

‘प्रोक्सी वार’पछिको परिदृश्य :

अमेरिकाले जैस अद अदल, आइएसआइलगायत विश्वका सयौँ आतंकवादी संघ–संस्थालाई पोषण गर्दै आफ्ना दुश्मनको विरुद्ध प्रयोग गर्दछ । अब त्यो शैली इरान, रुसलगायत अन्य देशहरूले पनि प्रयोग गर्न थालेका छन् । इरानसमर्थित हुथी (यमन), हेजबुल्लाह (लेबनान) लगायतका प्रोक्सी संघ–सँगठन त्यसैका उदाहरण हुन् । प्राविधिक हिसाबले उनीहरू पनि सशक्त बनाइँदै आएका छन् ।

उत्तर अमेरिका र बेलायतलाई बृहद युद्धमा लतार्ने योजनाका साथ पश्चिमाविरोधि मोर्चाले मध्येपूर्वमा हुथी र हेजबुल्लाहलाई अगाडि सारेको छ । लालसागरमै हुथीलाई अघि सारेर संयुक्त राज्य अमेरिका र बेलायतका मालबाहक पानीजहाजलाई आक्रमण गरिएको छ । अमेरिकाको शक्तिलाई तौलेर आक्रमण गरिरहेका छन् हमास, हुथी र हेजबुल्लाहहरूले । पश्चिमाविरुद्धको सम्पूर्ण साहनुभुति यिनीहरूमाथि छ ।

यिनीहरूको पछि ठुला शक्तिहरू जोडिएकोले पश्चिमाहरूको प्रोक्सी लडाकाहरूसँग लड्ने चाहना थिएन । अब नचाहँदानचाहँदै बेलायत र अमेरिका हुथी र हेजबुल्लाहको विरुद्ध लड्नुपर्ने अवस्था आउन थालेको छ । रुस, चीनलगायत ब्रिक्स समुहले चाहेको कुरा नै पश्चिमालाई युद्धमा तान्नु रहेको थियो । त्यसरी तानिँदा तालिवानसँग हारेको अमेरिका इरानसँग प्रत्यक्ष रुपमा लड्नुपर्ने हुन सक्छ । अमेरिका युद्धमा तानिने बित्तिकै रुस, चीन र उत्तर कोरिया र अन्त्यमा ब्रिक्स देशहरूसँग उसले एकै पटक लड्नुपर्ने हुन सक्छ । तिनै कारणले गर्दा प्रोक्सी युद्ध लम्ब्याउने योजनामा हुथीले ६ लाख सैनिक भर्ना गर्दैछ ।

अमेरिकाले छोयो कि देश जल्यो भन्ने कुरा लगभग प्रमाणित सत्यजस्तै देखियो । युक्रेन, इराक, सिरिया, अफगान, यमन, भियतनाम, दक्षिण अमेरिका, निकारागुवा ध्वस्त भएर सकिएका देशहरू भए । अमेरिकी बेसक्याम्प भएका देशहरूको अवस्था पनि अन्तत्वगत्वा हुने त्यस्तै हो । किनकि अमेरिकी उक्साहटकै कारण युद्ध बिस्तारै फैलिने क्रममा छ ।

सेनाको सहयोग र अमेरिकी डिजाइनमा गरिएको चुनावले निम्त्याएको सङ्कट र गुटबन्दीले पाकिस्तान पनि गिजोलिन थालेको छ । प्रदर्शनीहरू हिंसात्मक बन्दै छन् । जनमत पश्चिमाको विरुद्ध छ । संसदीय चुनावको लगत्तै पाकिस्तानमा गृहयुद्ध हुने अवस्था सृजना हुँदैछ । ‘अमेरिकाले जहाँ टेक्छ त्यो कि सिरिया हुन्छ कि इराक !’ हेनरी किसिन्जरको यो भनाइ पाकिस्तानको हकमा पनि लागु होलाजस्तो छ । पूर्व प्रधानमन्त्री इमरान खानले संयुक्त राज्य अमेरिकालाई अमेरिकी सेनाको बेस राख्न आकास र स्थान नदिएको कारण सत्ताबाट अपदस्त भइ जेल जानु पऱ्यो । तर जनमत इमरान खानको पक्षमा रहेको कुरा चुनावमा उनका उम्मेद्वारले ल्याएको सिट संख्याले पनि प्रमाणित गरिदिएको छ ।

नयाँ ध्रुविकरण :

यो पटक अमेरिकालाई तह लगाउने योजनामा संसारका सबै उत्पीडित राष्ट्रहरू छन् । पश्चिमा विश्लेषकहरूका अनुसार अब अमेरिकी सैन्य सिबिरहरू हान्ने तयारीमा हुथीहरू छन् । पूर्वमा उत्तरकोरिया हान्ने तयारीमा छ । रुस, चीन, इरान मौकाको पर्खाइमा छन् । सिंगो अफ्रिकामा साम्राज्यवादी शक्तिहरू हात धोएर निस्कने तरखरमा छन् । अमेरिकी ब्यारेकमा ब्यापक आक्रमण शुरु भइरहेको छ । अमेरिकीहरू इराक र सिरियाबाट पनि भाग्ने दिन कुरेर बसेका छन् । यदि ब्यारेकमा अमेरिकन सैनिक मरे भने युद्धबाट फर्कन नसक्ने गरि फसिने चिन्ताले अमेरिका काँपिरहेको छ ।

अमेरिकी साम्राज्यवादीलाई आफ्नो भूमिबाट लखेट्ने योजनामा नै मध्येपूर्व युद्धमा सबै शक्ति लागेका छन् । ‘सन् २०२४ उथलपुथलको वर्ष हो, र त्यसको इपिसेन्टर मध्येपूर्व हो ।’ (httpsM//tass.com/politics/1717383) रुसका गुप्तचर प्रमुख सर्गेइ नारस्किन (Sergey Naryshkin)ले इटालीमा भनेको यो भनाइले अबको वैश्विक अवस्थालाई धेरै तयारीका साथ संकेत गरिरहेको बताइन्छ ।

अहिले वैश्विक शक्तिकेन्द्रको ध्रुविकरण यति तीव्र भएको छ कि अमेरिकाको विरुद्धमा उभिएका देशहरू पूर्णरूपले रणनैतिक तालमेलमा छन् । कसले कतिबेला कस्तो भूमिका खेल्ने उनीहरू चुस्त आन्तरिक सुचना पर्खाइमा छन् । अहिले एक्लै कोहपिनि छैन । वैश्विक राजनीतिको अन्तरिक अवस्थालाई विश्लेषण गर्दा अमेरिका र इजरायल संसारबाट अलगथलग हुने अवस्थामा पुगेको देखिन्छ ।

विद्रोहीहरू शक्ति राष्ट्रहरूकै आड र भरोसाले लडिरहेका छन् । अमेरिकासँग युद्ध गरिरहेका विद्रोहीहरू युद्ध कला र प्रविधिमा कति माथि छन् भन्ने कुरा अमेरिकाको खुफियालाई थाहा नै थिएन भन्न मिल्दैन । बेला–बेलामा सीआइएले हुथी र हेजबुल्लाहलाई युद्धमा नतान्न अनुरोध गरेकै थियो । प्रोक्सी युद्ध लडिरहेका विद्रोही समुह प्रविधि र रणकौशलमा अमेरिकालाई टक्कर दिन सक्ने हैसियतमा रहेछन् भन्ने कुरा संसारले बुझ्न पायो । हमासले इजरायल र अमेरिकाका कथित मिथकहरूलाई पनि संसारसामु नाङ्गेझार पारिदियो । यस मानेमा हमासले युद्ध जितिसकेको मान्नेहरू पनि छन् ।

अब इरान पनि अमेरिकाद्वारा थोपरिएको युद्धमा तानियो भने अमेरिकालाई साथ दिने केवल बेलायत मात्र बाँकी रहने निश्चित छ । त्यो अवस्थाले अमेरिका हच्केको मात्र छैन, इरानसँग भिड्दा रहस्यमय पाण्डुरा बाकस खुल्न सक्ने भयले तर्सेको छ । ‘इरान के हो केहो ?’ ड्रोन त त्यति खतरा छ, आणविक र हाइपर सोनिक प्रविधि पनि छ कि ? या आणविक बम पनि बनाइसक्यो कि ? यो गोलामा चीन, उत्तर कोरिया, रुस र भारत समेत भएकोले पश्चिमाहरू इरानलाई जिस्काउने वा ललकार्ने पक्षमा छैनन् ।

आइसिजेमा आम नरसंहारको मुद्धा फैसलापछिको अवस्था :

दक्षिण अमेरिकाद्वारा अन्तर्राष्ट्रिय अदालतमा इजरायलले गरेको आम नरसंहारको विरुद्ध मुद्धा परेपछि संसारभर हलचल मच्चिएको छ । दक्षिण अफ्रिका उत्पीडित देश र जनताको पक्षमा गर्विलो छाती बनाएर एकाकार भएको छ । साम्राज्यवादीलाई कहिल्यै बिर्सन नसक्ने चुनौती दिँदै न्याएको लागि दक्षिण अफ्रिका सिंह झैँ गर्जेको छ । यता इस्लामिक कानुन र मुसलमान भाइ–भाइको फुइँ छाड्ने कथित शक्तिशाली भनाउँदा अरबियन देशहरू आफ्ना फिलिस्तिन बन्धुहरूको समुल सफाया हुँदा इजरायली फासिष्टहरूकै पाउपुजा गरेर बसिरहेका छन् । यो दृश्यले उनीहरूको कथित बहादुरीको भुमि पनि लाजले जुकेको छ । ब्रमाण्डभरि अरब लिगको कायरताको धज्जी उडेको छ । दक्षिण अफ्रिकाको न्यायपूर्ण कानुनी लडाइँले अमेरिका र इजरायललाई संसारको सामु नाङ्गेझार पारिदियो । यो मुद्धाले गर्दा अरुका देश लुट्न यिनीहरूले कसरी एउटा देशका सम्पूर्ण नागरिकहरूको बिनास गर्दा रहेछन् भन्ने कुरा अब स्वयं जान्नेबुझ्ने मौका मिल्यो ।

गत फेब्रुअरी ७ तारिक इजरायललाई गाजामा मानवअधिकारको ब्यापक उलंघन गरेको कुरा अन्तर्राष्ट्रिय अदालतबाट प्रमाणित भएपछि संसारभर अमेरिकी साम्राज्यवाद र उसको कठपुतली इजरायलका विरुद्ध संसारभर प्रदर्शनहरू भइरहेका छन् । स्पेनले इजरायललाई हतियार नदिने घोषणा गऱ्यो । केहि देशले विभिन्न अपराधिक मुद्धाहरूमा मुद्धा हाल्ने तयारि गरिरहेका छन् । त्यस्तै जापानले पनि अन्तराष्ट्रिय कानुनको पालना गर्दै जापानमा भएको इजरायली हतियार कम्पनी (एल्पिट)लाई देश निकाला गरिदिएको छ ।

झुटा प्रोपागान्डा :

पुटिन, चीन, कोरिया वा साम्राज्यवादविरोधि शक्तिलाई दानवीकरण गर्दै आएको पश्चिमा साम्राज्यवादको मानवअधिकारको च्यादर युक्रेन र गाजाको प्रोक्सी वारमा हावाले उडाएपछि ऊ विश्व जनमतबाट नाङ्गिएको छ ।

उसले अल्जाजिरा जस्ता केही बाहेक संसारका प्रायः मिडियालाई लगानीमार्फत कब्जामा लिएको छ । कुल पुँजी ४ ९.४२ ट्रिलियन रहेको संसारको सबैभन्दा ठूलो बहुराष्ट्रिय वित्तीय कम्पनि ब्ल्याक स्टोन लगायत मार्फत प्रतक्ष वा परोक्ष रुपले पुँजीवादी मिडियानियन्त्रित छन् । इन्ट्रेष्ट बाझियो भने पत्रकारहरू मिडिया हाउसबाट निकालिन्छन् वा मारिन्छन् । त्यसैले मिडियामा साम्राज्यवादीहरूको अदृश्य नियन्त्रण छ ।

अझ फक्स न्युजको लागि विश्व प्रसिद्ध अमेरिकी पत्रकार टुकर कार्ल्सन (Tucker Carlson) ले लिएको भ्लामिदिर पुटिनको अन्तर्वार्तापछि पश्चिमाहरूमा कम्पन पैदा भएको छ । पश्चिमा जनतालगायत संसारले अमेरिकी उक्साहटमा भएको प्रोक्सी युद्धलाई भिन्न कोणबाट बुझ्ने अवसर पाएका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपतिका उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल ट्रम्पले फेब्रुअरी १२, २०२४ को चुनावीसभामा दिएको ‘चुनाव जितेपछि उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो)लाई सहयोग बन्द गर्ने र रुसलाई सहयोग गर्ने’ मन्तव्यले पश्चिमा जगतमा कोलाहल मच्चिएको छ ।

युनाइटेड नेसन्स रिलिफ एण्ड वर्कर्स एजेन्सी (UNRWA)का कर्मचारीले हमासको आक्रमणमा सहभागी भएको भन्ने इजरायलले आरोप लगाएपछि अमेरिका केही देशले अनुसन्धान पूर्व पेलिस्टाइन रिफ्युजीलाई दिने सहयोग रोके ।

देशको नाम नै लिएर भन्नु पर्दा क्यानडा, अष्ट्रेलिया, बेलायत, जर्मनी, इटाली, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, फिनल्याण्ड, इस्टोनिया, जापान, अस्ट्रिया र रोमानियाले युनाइटेड नेसन्स रिलिफ एण्ड वर्कर्स एजेन्सीलाई दिने बजेट रोक्ने घोषणामा अमेरिकालाई साथ दिए । बेल्जियम, स्पेन, पोर्चुगल, अष्ट्रेलियालगायत देशहरूले सहयोग बजेट नरोक्ने बरु बढाएर दिने घोषणा गरेका छन् । यसले पनि युरोपियन युनियनभित्रको अन्तरसंघर्षलाई सतहमा ल्याइदियो ।

अमेरिकामा आन्तरिक सङ्कट :

अर्कोतर्फ अमेरिका आफ्नै देशभित्रको द्वन्द्वमा फस्ने खतरा उत्तिकै छ । टेक्सासलगायत केही देशहरूले आफ्नो राज्य अलग हुन चाहेको बताइरहेका छन् । मेक अमेरिका ग्रेट अगेन अभियानले अमेरिकाबाट एंग्लो सेक्सनका राज्यहरू र मेक्सिकनलगायत कालाजाति भएका राज्य अलग हुने सम्भावनालाई बढाएर लागेको छ । जब देश कमजोर हुँदै जान्छ त्यसपछि गृहयुद्धद्वारा देश विभाजन हुने खतरा बढेर जान्छ ।

त्यस्तै डेमोक्र्याटका न्यायाधीशहरूले राष्ट्रपति चुनामा बाइडेनका प्रतिस्पर्धी डोनाल ट्रम्पलाई आगामी चुनावमा उठ्न नपाउनेगरी लामो समय जेल राख्नुपर्ने अन्यथा अमेरिकाको लागि खतरा हुने बताइरहेका छन् । यदि ट्रम्पलाई त्यसो गरिएमा हतियार उठ्ने भनेर रिपब्लिकन पार्टीका नेताहरूले धम्की दिइसकेका छन् । सरकारी तथ्याङ्कअनुशार ३३.५ करोड उत्तर अमेरिकीहरूले ४७ करोड स्वचालित राइफल र मेसिनगनहरू घरमा राख्दछन् भनिन्छ । यदि अमेरिका आन्तरिक युद्धमा फस्यो भने ती सबै हतियार प्रयोग हुने सम्भावना रहन्छ ।

सारमा,
अमेरिकाले संसारभरि पश्चिमा सामरिक, सांस्कृतिक, धार्मिक र पुँजीवादी मुल्यमा आधारित राजनैतिक बर्चस्व कायम गर्न शुरु गरेको झण्डै पाँच सय वर्ष भयो । अहिलेसम्म उसले औपनिवेसिक लुट र बर्चस्वको लडाइँमा विश्वमा धेरै युद्धहरू थोपरिसकेको छ । उसले युद्ध थोपर्नको लागि प्रत्यक्ष आक्रमण गर्नु एउटा तरिका हो । त्यसबाहेक आन्तरिक विद्रोह गराउने, छिमेकीसँगको अन्तरविरोधलाई चर्काएर युद्ध गराउने, आर्थिक तथा व्यापारिक प्रतिबन्ध लगाउने र कुटनैतिक धम्कीमार्फत दबाब दिने कुराहरू पर्दछन् । आफ्नो हितबाहेक अमेरिकाको दीर्घकालिक शत्रु या मित्रु कोही हुँदैन । त्यसैले पूर्व अमेरिकी राजनीतिज्ञ हेनरी किसिन्जरले भनेका छन्, ‘अमेरिकासँग दुश्मनी मोल्नु खतरनाक हो भने मित्रता गर्नु झनै भयावह कुरा हो !’

आखिर, अमेरिकाको मित्र हुनु सुरुमा राम्रा कुराको लागि मार्गप्रशस्त भएजस्तो लाग्न सक्छ तर अहिलेसम्मको नतिजा हेर्दा घातक परिणाम देखाइरहेको छ । लादेन, सद्दाम, गद्दाफी शुरुमा अमेरिकाका अनन्य मित्र थिए, तर अन्त्यमा उनीहरूलाई अमेरिकाले नै माऱ्यो । यसलाई अर्को उदाहरणबाट यसरी प्रष्ट पार्न सकिन्छ कि गत वर्ष दुई देशको विवादका कारण अष्ट्रेलिया र चीनबीच एक व्यापारिक सम्झौता रद्द भएको थियो । त्यो विवादपछि चीनले अष्ट्रेलियाको जौ किन्न बन्द गऱ्यो तर अष्ट्रेलिया अमेरिकाको सहयोगी मित्रदेश भएको ठानिए पनि अमेरिकाले अष्ट्रेलियासँगको सम्झौता भङ्ग गराइ चीनलाई अमेरिकी जौ बेच्न पाउँदा अत्यन्त खुसी भयो । फ्रान्स र अष्ट्रेलियाबीच भएको पानडुब्बी सम्झौतामा पनि अमेरिका खेल्यो र त्यो सम्झौता रद्ध गराइ आफ्नो सामरिक पानडुब्बी अष्ट्रेलियालाई बेच्यो । रुसको तेल ग्याँस बन्द गर्न लगाएर युरोपमा आफ्नो तेल र ग्याँस अति महँगो मुल्यमा बेच्ने अमेरिकाको लागि मित्रभन्दा प्रिय पैसा नै भयो । उसले रुसबाट युरोपलाई तेल किन्न दिएको छैन तर आफूले किनिरहेको छ ।

अमेरिकाको स्वार्थी नीतिका कारण उसका युरोपियन मित्रहरूले फ्रान्स, जर्मनीलगायत युरोपले चित्त दुखाए । नजिकको मित्रले दिएको दुःख टाढाको शत्रुले दिने दुःखभन्दा अत्यधिक पीडादायी र भयानक हुन्छ भन्ने कुरा त्यो बेला फ्रान्सले दिएको प्रतिक्रियाबाट थाहा हुन्छ ।

शीतयुद्धको समाप्तिपछि नै अमेरिकालगायत पश्चिमाहरू तेश्रो विश्वयुद्धको तयारीमा लागेका हुन् । त्यो तयारी ९० को दशकपछि नयाँ चरणको युद्धमा गयो । अफगान, इरान, इराक, यमन, सिरिया, युक्रेन, रुस, कोरियालगायतका देशहरूमा अमेरिकाले युद्धका कारक र कारणहरू निर्माण गर्दै आएको छ । कारकहरू बलिया नहुन्जेल अमेरिकाको पृष्ठपोषणमा हुर्कन्छ तर बलिया भइसकेपछि उसकै लागि आत्मघाती हुने हुँदा ऊ दिक्क छ । अमेरिकन रणनीतिमा कारक कारणको निर्माण विधि त्रुटीपूर्ण रहेको केही रणनीतिकारहरूले बताए पनि ऊ अहिलेसम्म सिरियामा रहेको क्रुदिस्ट आन्दोलन, जैस अस अदल, आइएसआई लगायतका आतङ्कवादी संगठनहरूलाई आफ्नो अनुकुलतामा प्रयोग गर्दै आइरहेको तथ्य कसैसामु छिपेको छैन ।

अमेरिकी साम्राज्यवाद तेस्रो विश्वयुद्धको लागि ब्यस्त र ब्यग्र प्रतीत हुन्छ । उसकै कारण तेस्रो विश्वयुद्ध लगभग अपरिहार्य जस्तै बनिरहेको छ । त्यो बिनासकारी युद्धलाई रोक्न सबै उत्पीडित राष्ट्रहरू एक हुनुको विकल्प हामीसँग छैन ।

पश्चिमा शक्ति आन्तरिक कारणले धरासायी हूने अवस्था पनि आइसकेको छ । आकाशबाहेक आगामी तेश्रो विश्वयुद्धका तीन बिन्दु पूर्वीयुरोप, मध्येपूर्व र पूर्वीएसियाको ताइवान सम्भावित युद्धस्थल हुन सक्ने अवस्था छ । यो युद्ध जमिन क्षेत्रमा मात्र हुने छैन, इन्टरनेट र डाटा सेक्युरिटीमा एउटा भाइरसले प्रविधिलाई आफ्नो कब्जामा लिने हदसम्म जाने छ । स्पेसका सबै सेटलाइट सर्किट वा नेटवर्क ध्वस्त हुनेछन् ।

अन्त्यमा, युद्धबाट हुने मानव सभ्यताको आगामी बिनासलाई रोक्न सबै देशहरूबाट साम्राज्यवादी क्याम्प धपाउने अभियान अझै तिखार्नु आवश्यक छ । उदार पुंजिवादका विरोधि मौलिक सभ्यताका समर्थक, राष्ट्रवादी, परम्परावादी तथा बामपन्थी शक्तिहरूको वैश्विक संयुक्त मोर्चा अहिलेको वैश्विक आवश्यकता हो । जसको भ्रुणको रुपमा ब्रिक्सले जन्म लिइसकेको छ । राष्ट्रिय रूपमा पनि त्यही मोडेलमा संयुक्त मोर्चा बनाएर साम्राज्यवादी पृष्ठपोषक एनजीओ, आइएनजीओ, सांस्कृतिक साम्राज्यको लागि परिचालित मिसिनरी, अमेरिकी बेस क्याम्प र पश्चिमाको लागि जासुस गर्ने मानवअधिकारवादीहरूलाई देशबाट धपाउने अभियान शुरु गर्नुपर्छ ।

अबको वैश्विक क्रान्ति सतहमा देखिएका दृश्यहरूमा मात्र सीमित नभएर परिस्कृत प्रजातन्त्रलाई पहुँच, समावेसिता, पूर्ण सहभागिता र समानतासँग घनिभूत रुपमा जोडिएर आउने छ । आफ्नै मौलिकतामा फुलेको एउटा फूलजस्तो आभा जनताको खुशीमा देखिने छ । नविन प्रजातन्त्रमा शक्तिको प्रतिष्पर्धालाई सहअस्तित्वले पछार्ने छ भने मानिसहरूको खुशी र सामुहिक उत्तरदायित्व बोधले सिङ्गो विश्वलाई अझ उत्कृष्ट मानव महासंघमा रुपान्तरण गर्नेछ । अस्तु ।