भारतले पहिलोपटक ‘हेलिकप्टर आकस्मिक चिकित्सा सेवा’ शुरु गर्ने

भारतले पहिलोपटक ‘हेलिकप्टर आकस्मिक चिकित्सा सेवा’ शुरु गर्ने


भारत सरकारले उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकप्टर आपतकालीन चिकित्सा सेवा शुरु गर्ने घोषणा गरेको छ ।

त्यहाँको संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिएका छन् ।

‘म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु कि यस किसिमको आकस्मिक सेवा यही राज्यबाट शुरु हुनेछ र त्यसका लागि हेलिकप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ’, मन्त्री ज्योतिरादित्य सिन्धियाले उल्लेख गरेका छन् ।

मन्त्री सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुऱ्याउने छ ।

यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकप्टरहरू प्रयोग गर्ने सरकारको पहलको रूपमा सहयोग गर्ने जनाइएको छ । सेवाको उद्देश्य आकस्मिक दुर्घटनापीडित र पहाडी भूभागका बिरामीहरूलाई समयमै उपचारका निम्ति यातायात उपलब्ध गराउने उद्देश्य रहेको मन्त्री सिन्धियाले उल्लेख गरेका छन् ।