अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने- ‘नेपाल सरकार सधैं प्रवासी नेपालीको साथमा छ’

अष्ट्रेलियामा परराष्ट्र्मन्त्रीले भने- ‘नेपाल सरकार सधैं प्रवासी नेपालीको साथमा छ’


  • राजन घिमिरे, अष्ट्रेलिया

परराष्ट्रमन्त्री एनपी साउदले प्रबासमा रहेका नेपालीका हरेक सुखदुःखमा नेपाल सरकार हरदम साथमा रहने बताएका छन् ।

अष्ट्रेलियाको राजधानी क्यानभरामा जनसम्पर्क समिति क्यानभेराले गत सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले विदेशमा सिकेको सिप र ज्ञानलाई आफ्नो जन्मभूमिमा लगाउन आग्रह गरे । विदेसमा रहेका नेपालीहरूलाई पासपोर्ट र गैह्रआवासीय नेपाली नागरिकता दिन सरकारले कुनै कन्जुस्याइँ नगरेको भन्दै उनले कुनै समय प्राविधिक वा प्रशासनिक झन्झट आएमा त्यसलाई विधि पुर्याएर हल गरिने उनले बताए ।

मन्त्री साउदले भने- ‘तपाईंहरूलाई नेपालसँग जोड्ने विषयमा नियम र नीतिहरुमा सुधार गर्नुपरे हामी तयार छौँ । नेपालको गैह्रआवासीय नेपालीमैत्री नीति कसरी बनाउन सकिन्छ, आउनुस सल्लाह गरेर अगाडि बढौँ ।’

नेपाल सरकार प्रवासी नेपालीहरूको सधैं भलो र प्रगती हेर्न चाहने परराष्ट्रमन्त्री साउदले बताए । उनले भने- ‘पछिल्लो समय अष्ट्रेलियामा नेपालीहरूको संख्या बढेसँगै यहाँ रहने नेपालीहरूले नेपाली राजदूतवासबाट छिटो र छरितो सेवा नपाएको गुनासो गर्नुभएको छ, त्यसतर्फ म राजदूतावाससँग बुझेर कहाँ र कस्तो समस्या भएको हो, त्यस्ता समस्याको हल चाँडै गर्नेछौँ ।’

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफूले १८ महिनाको कार्यकालमा धेरै नयाँ काम गरेको जानकारी दिँदै राजदूतावास यहाँ रहनुहुने नेपालीजनको सल्लाह र सुझाव बोकेर अगाडि बढ्ने बताए । विद्यार्थीहरूको बारेमा जानकारी दिँदै राजदूत पोखरेलले भने- ‘नेपाल जान चाहनेलाई हामी बढाउन सक्छौँ तर जान नचाहनेलाई सकिँदैन । किनकि यहाँको नीति र कानुन नै यस्तो छ ।’

जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश गुरूङले गैह्रआवासीय नेपाली संघमा देखापरेको किचलोको चाँडै समाधान गरिदिन परराष्ट्रमन्त्रीसमक्ष आग्रह गरे । उनले जनसम्पर्क समिति अष्ट्रेलियाले यहाँ रहेका गैह्रआवासीय नेपालीहरूलाई एक बनाउन जहिले पनि साथ र हात दिएको कुरामा जोड दिए ।

कार्यक्रममा जनसम्पर्क समिति क्यानभराका संयोजक ललित मल्ल, गैह्रआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, जनसम्पर्क समिति एनएसडब्लुका संयोजक शितल खाण गिरी, हेमन्त काफ्ले, कृष्ण गिरी, विवे थापा लगायतले प्रवासी नेपालीहरूको पक्षमा नेपाल सरकार र अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले खुलेर साथ दिनुपर्ने कुरामा जोड दिएका थिए ।