शाहवंशको २४० वर्ष : भ्रम र तथ्य

शाहवंशको २४० वर्ष : भ्रम र तथ्य


जनतासँग प्रत्यक्ष हुँदा राजाको लोकप्रियताको मात्रा बढ्दैछ । राजा र सर्वसाधारणबीचको पर्खाल ढलेको अवस्था हो यो । सर्वसाधारणसँगको प्रत्यक्ष संवादले राजामा शक्ति संचार भएको ठान्नेहरूको कमी छैन । यो देखेर हिजो पाखा लागेका चाटुकारहरू राजाको वरिपरि फेरि पर्खाल तैयार गर्न उद्धत देखिनु सुखद हैन ।
✍ स्वयम्भुनाथ कार्की

काठमाडौंमा गोर्खालीको विजयलाई वर्तमान नेपालको शुरुवात मान्ने गरिन्छ । यसो हुँदा सन् २००८ मा राजा ज्ञानेन्द्रलाई पाखा लगाएको अनि ‘नेपाल’ शुरु भएको वर्ष सन् १७६९ बीच २ सय ३८ वर्षको कालखण्ड हुन आउँछ । यो कालखण्डमा राम्रा काम हुन नसकेको भन्ने प्रायोजित हल्ला मच्चाउने रोजगारी आकर्षक छ । अझ यसबेला भएका नराम्रा कामको जिम्मेवारी एकोहोरो रूपमा शाहवंशलाई दिएमा तुरन्तै ख्यातिप्राप्त विद्वान् मानिने सोचको प्रधानता देखिनथालेको छ ।

यो दुष्प्रयासलाई राजा वीरेन्द्रको शासनकालदेखि पुनःस्थापना भएको दरबारवरिपरिको प्रभावशालीहरूको पर्खालले मलजल गरेको छ । यो ती प्रभावशालीहरूको राजालाई घुर्क्याउने हतियार बन्यो । रणबहादुर शाहको पालादेखि बन्न शुरु भएको यो पर्खालले गर्दा नेपालको इतिहासमा हमेशा दाग लगाउने काम गऱ्यो। यो पर्खाललाई राजा महेन्द्रले करिव-करिव ध्वस्त पारेका थिए । बेलाइती राजसंस्थाजस्तै बन्न खोज्ने प्रयत्नले आफ्ना बुबाज्यूले ध्वस्त पारेको जनता र राजाबीचको पर्खाल फेरि खडा हुन गयो ।

बडामहाराज पृथ्वीनारायण शाहले गोरखाको राजा भएको २६ वर्षसम्मको लगातार कोशिसपछि काठमाडौं जिते । काठमाडौंमा राजसुख भोगेर बस्न भन्दा नेपालको विस्तार गर्ने योजना र कार्य गरेर नुवाकोटमा ब्यस्त हुँदैमा अर्को ६ वर्ष बित्यो । त्यसपछि प्रताप सिंहले राज्यरोहणको २ वर्षमै युवा उमेरमा देहत्याग गरेपछि नेपालमा शिशुराजाको परम्परा शुरु भयो । यो शिशुराजाको परम्पराले गर्दा राजाको वरिपरि भारदार, नातेदार, प्रभावशालीहरूको पर्खाल बन्यो ।

यसपछिका दिनमा नेपालमा राजाको भन्दा रानीको हालीमुहाली चल्ने अनि रानी रिझाउने र मनपरी गर्ने प्रभावशालीले जहानिया शासन नै स्थापना गरे, जो राजा त्रिभुवनको राज्यकालको उत्तरार्धसम्म कायम रह्यो । सन् १७७७ मा दुईवर्षे रणबहादुर शाह गद्दीमा बसेको समयदेखि शुरु भएको ‘थपनाका राजा’को युग राजा महेन्द्रले सन १९५५ तिर करिव १८६ वर्षपछि तोडे । त्योभन्दा पहिलेको १०४ वर्ष राणाहरूले एकलौटी पर्खालको भूमिका निर्वाह गरे पनि बाँकी समय रानीहरू, विभिन्न भारदार, खलक र केही हिस्सा राजनीतिकर्मीहरूको भागमा पनि पर्न आउँछ ।

सन् १९७६ (२०३२ विसं) तिर नै फेरि राजाभन्दा रानीको सक्रियता शुरु भयो । देशवासीहरूलाई इतर र भितरमा बाँड्ने काम शुरु भयो । महेन्द्रले भत्काएको राजा र जनताबीचको पर्खाल फेरि थप मजवुत भएर आयो । जनताले राजा केवल तस्बिरमा मात्र देख्न पाउने परिस्थिति पैदा भयो । यसले झण्डै राजा त्रिभुवनको साखासन्तान नै समाप्त भएको थियो । परिवारसमाप्तिको पीडामा केहीले लगाएको लान्छनासमेत थपेर राजा ज्ञानेन्द्र सत्तामा बसे । सर्वसाधारणले जस्तै सामाजिक जीवन शुरु गरिसकेका राजा ज्ञानेन्द्रले यो पर्खाल छिचोल्लान् भन्ने आशा गरेका थिए । तर केही समय सिथिल भएर ढल्ला कि भनेजस्तो भएको पर्खाल अझ मजवुत भएर आयो । पर्खालपारिका जनताको इच्छा/चाहनाको गलत अर्थ लगाइयो । एक्कइसौँ शताव्दीमा मध्ययूगको जस्तो संचार, समाचार सबै बन्द गर्ने काम गराउन यी चाटुकारहरू सफल भए ।

जनतासँग प्रत्यक्ष सम्बन्ध नभएको समयमा शासकहरू कमजोर भएका हुन्छन् । यही कमजोर भएको मौकामा राजतन्त्रलाई नै पाखा लगाउन देशी-विदेशी शक्तिकेन्द्रहरू सफल भए । यो पाखा लगाइने क्रममा हाम्रो राजा प्राणभन्दा प्यारो छ भनेर ओठेभक्ति देखाउने चाटुकारहरू कि त दुला पसे कि खुलेर नै राजसंस्थाको विरोधमा लागे । यो कठिन समयमा साथ दिन त परैजाओस्, सहानुभूतिको एक वचनसमेत निकाल्न उनीहरूले सकेनन् । रातारात गणतन्त्रवादी बन्ने वा दुला परेर लुक्ने होड चल्यो । यसरी पाखा लगाइसकेपछि यो पर्खाल आफ्नो स्थानबाट हट्यो । राजाले जनता र जनताले राजा प्रत्यक्ष देख्न पाए । राजतन्त्रलाई आफूले पाखा लगाउँदासमेत प्रतिकारको एक शब्द पनि सुन्न नपरेकोे शक्ति राजाको केही चर्चा बढ्न थाल्नेवित्तिकै राजावरिपरि झुम्मिन पुग्ने गरेको देखिन्छ ।

यसबीचमा पाखा लगाइएका राजालाई सत्ताबाट सबै किसिमको रोक लगाउने प्रयत्न गरियो । जति रोक लगाइयो त्यति नै राजा लोकप्रिय हुँदैगएका छन् । पर्खालको उपस्थितिमा राजा ज्ञानेन्द्रले लोकप्रियता झण्डै-झण्डै ऋणात्मक भएको अवस्था भोग्नुपरेको थियो भने जनतासँग प्रत्यक्ष हुँदा प्रतिपल लोकप्रियताको मात्रा बढ्दैछ । जतिसुकै कठिन परिस्थिति भएको भए पनि यो राजा र सर्वसाधारणबीचको पर्खाल ढलेको अवस्था हो । सर्वसाधारणसँगको प्रत्यक्ष संवादले राजामा शक्ति संचार भएको ठान्नेहरूको कमी छैन । यो देखेर हिजो पाखा लागेका चाटुकारहरू राजाको वरिपरि फेरि पर्खाल तैयार गर्न उद्धत देखिनु सुखद हैन ।