प्रेम के हो ?

प्रेम के हो ?


(सन्दर्भ : भेलेन्टाइन डे)

संस्कृतमा भनिएको छ, ‘न हि वान्छति यः प्रियः कदा निजसर्वस्वसमर्पित । प्रतिदानफलं प्रियां प्रति जगति प्रेम तदेव कथ्यते ।।’ अर्थात्, आफ्नो सर्वस्व अर्पित गरेर बदलामा केही पाउने आशा गर्दैन, त्यो नै प्रेम हो । तसर्थ प्रेमदिवस पूर्वीय दर्शनअनुसार कि त शिवरात्रीका दिन, कि त कृष्णजन्माष्ठमीको दिन मनाउने गरिएमा बढी सान्दर्भिक हुनेछ ।
✍राजेन्द्र खनाल ‘क्षितिज’

‘भेलेन्टाइन डे’लाई हामी ‘प्रणय वा प्रेम दिवस’ पनि भन्दछौँ । अन्जान छु, यो दिवस थाहा भएर मनाउँछौं वा पश्चिमीको सिको गरिरहेका छौँ ! बाइबल पल्टाएर हेर्दा माया-प्रेमको कुरा गरिएपनि ‘भेलेन्टाइन डे’को बारे लेखिएको कुनै सन्देश भेटिनँ । अगाध प्रेमको कथा जोडेर कसैको उदाहरणीय जीवनको वर्णन भएको यो दिवसको इतिहास पल्टाउँदा भेटिनँ । जसले गर्दा हामीलाई यो दिवस मनाउन प्रेरित गरोस् !? अहिले हाम्रो समाजले भड्किलो रूपमा भेलेन्टाइन डे मनाएको देख्दछु । वास्तविक प्रेम के हो भनेर बुझेको देख्दिनँ ।

वास्तवमा भेलेन्टाइन डे एकजना प्राचिन रोमनपुजारी संत भेलेन्टाइनको सम्झनामा मनाउने गरेको हो । जसले तेस्रो शताब्दिमा बुतपरस्त रोमन राजा क्लाडियसको आदेशको विरोधमा गएर इसाई जोडीहरूको विवाह गर्न मद्दत गरेका थिए । सम्राट क्लाडियसले यूवाहरू प्रेम र विवाह गर्न लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर प्रतिबन्ध लगाएका थिए । तर भेलेन्टाइनले राजाको निर्णयलाई धर्मविरुद्ध भन्थे । अनि उनले विवाहको लागि मात्र प्रेरित गरेनन्, यूवायुवतीका जोडी तयार पारेर सार्वजनिक स्थलमा नै सामुहिक विवाह कार्यक्रम गरे । त्यो विवाहमा प्रेम थियो वा थिएन दैव जानुन् । त्यसो गरेवापत उनलाई पक्डेर जेलमा राखियो । जेलमै जीवन बिताइरहेका उनलाई फेव्रुअरी १४ तारिखका दिन मृत्यदण्ड दिइएको थियो । मृत्यवरणकै क्रममा उनले आफ्नो दुवै आँखा त्यसै जेलका जेलरकी दृष्टिविहीन छोरी ‘जैकोवस’लाई दान गरेर एउटा पत्र लेखेका थिए । उक्त पत्रको अन्त्यमा ‘तिम्रो भेलेन्टाइन’ भनेका थिए । जेलरकी छोरीसँग भेलेन्टाइनको न कुनै दोहोरो संवाद थियो, न प्रेमको चित्रण गरिएको कुनै कथा, न त पत्रमा केही उजागर नै गरेका थिए । मृत्यपश्चात् आँखा दान गर्ने दानवीरहरू अहिले संसारभरि नै भएपनि, सायद पहिलो दान गर्ने यिनै संत थिए । उनै पादरीको सम्झनास्वरुप भेलेन्टाइन डे मनाउन पाँचौं शताब्दिमा पोप गेलासियसले प्रत्येक फेब्रुअरी १४ तारिखका दिन घोषणा गरे र, सोहीअनुरुप मनाउन थालिएको हो ।

अर्बौं रुपैंयाँ खर्चेर ग्रेटिङ कार्ड, रातो गुलाफ, अनि नानाथरी उपहार किनेर हामी अरु देशलाई धनी बनाइरहेका छौँ । प्रारम्भमा अमेरिका अनि बेलायतबाट शुरु भएको भएतापनि यो दिवस मनाउने क्रम अहिले संसारभरि नै थालिएको छ । यही दिन चाइनामा ‘नाइट्स आफ सेवेन्स’ र जापान/कोरियामा ‘वाइट डे’ भनेर मनाइन्छ ।

जबकि जुलाई ७ लाई ‘अन्तर्राष्ट्रिय शान्ति र प्रेमदिवस’ भनेर घोषणा गरिएको छ, तर यो दिनलाई मान्छेहरूले मनाएको देखिँदैन । लाग्छ- मानिसलाई शान्ति चाहिएको छैन । प्रेम र शान्तिको मिश्रण भन्दा अरु के नै ठूलो हुन सक्छ ? संसारमा शान्ति र प्रेम नै सबैभन्दा आवश्यक मानिन्छ, जहाँ शान्ति र प्रेम छ, त्यहाँ स्वर्गीय आनन्द हुन्छ । नेपालमा पनि यस्ता धेरै उत्सवहरू छन्, तर अन्तर्राष्ट्रियकरण हुन सकेको छैन । यस्ता दिवसहरूलाई पनि हामीले बिश्वमा फैलाउनु पर्छ, न कि अरुको मात्र सिको गर्ने !

यो दिवसले विवाह गर्नु नै प्रेम हो भनेको जस्तो देखिन्छ ? वास्तविक प्रेम के हो ? कस्तो प्रेमलाई प्रेमिल मिलन अनि आत्मादेखिको प्रेम भनिन्छ ? तपाईंहरूले यो भेलेन्टाइन डे को इतिहास हेर्दा वास्तविक प्रेम कहाँ देख्नुहन्छ ?

अब शुरु गरौँ- प्रेम के हो भनेर । ओशो भन्छन्, प्रेम अद्भूत छ, अलौकिक छ । संस्कृतमा भनिएको छ, ‘प्रेमैव हृदयानि बध्नात्’ अर्थात्, प्रेमले नै हृदयलाई जोड्दछ । प्रेम अँध्यारोको एउटा रोसनी हो । प्रेम भन्नु नै कसैको जीवनमा आनन्दित भएको महसूस हुनु हो, जसलाई संस्कृतमा ‘रसो नाम परं प्रेम’ भनिएको छ । प्रेमको कुनै कारण हुँदैन, यो अकारण हुन्छ । यदि प्रेममा कसैको जीवनमा कारण भए, त्यसलाई ‘मोह’ भनिन्छ । त्यसैले प्रेम अकारण हो । मोह पाप हो । कसैले तपाईंलाई ‘म यो कारण प्रेम गर्छु’ भन्छ भने त्यो सरासर झुट ठहरिन्छ । प्रेम त स्वर्गबाट पृथ्वीमा झरेको एउटा अद्भूत किरण हो । ‘प्रेमाहो क्वाचिदपि नेक्षते व्ययापम्’ अर्थात्, प्रेमले कठिनाइको मतलब गर्दैन । प्रेम र्निमोही हुन्छ, यसमा कुनै मोह हुँदैन । कसैप्रति पनि मोह छिटो हुन सक्छ, तर त्यो क्षणिक हुन्छ । तर, प्रेमको बिजारोपण हुन समय लाग्छ तर जीवनभर रहन्छ । प्रेम दुई व्यक्तिबीच स्वतन्त्रताको आदानप्रदान हो । आध्यात्मिक हिसाबमा भन्ने हो भने अझ प्रेम दुई जोडीको एउटै आत्मा हो । यसमा कोही ठूलो र कोही सानो हुँदैन । प्रेममा लेनदेन पनि हुँदैन, यदि त्यसो भएमा त्यो फेरि व्यापार हुन्छ । प्रेममा त केवल दिनु अनि मात्र दिनु हुन्छ ।

एकपल्ट राधाले कृष्णलाई सोध्नुभयो- प्रेमको सही मतलब के हो ? कृष्णले भन्नुभयो- जहाँ मतलब हुन्छ, त्यहाँ प्रेम नै हुँदैन । फेरि राधाले सोध्नुभयो, तपाईंले मसँग निःस्वार्थ प्रेम गर्नुभयो, तर विवाह रुक्मणीसँग गर्नुभयो, किन ? कृष्णले हाँस्दै भन्नुभयो- विवाहको लागि दुई शरीरको आवश्यकता पर्दछ, तर हामी त एक छौँ !

पहिला-पहिला एकदिन मनाइने भेलेन्टाइन डे अहिले सप्ताव्यापी भएको छ । फेब्रुअरी ७ को दिन गुलाफको फूल दिनेदेखि प्रपोज, चकलेट, टेडी, प्रमिस, हग, किस गरेर अन्त्यमा फेब्रुअरी १४ मा आफूले मनपराएको प्रेमी, प्रेमिका वा साथीभाइ, घरमा बुबाआमा वा अरुसँग प्रेम (लभ) दिवस मनाइन्छ । अझ केही दिन थपेमा, यो प्रेम फेरि पुरानै अवस्थामा फर्किन्छ ‘ब्रेकअप’ भएर । विवाह भइहाले पनि, यदि साँचो प्रेम नभएमा फेरि डिभोर्समा गएर अन्त्य हुन्छ । त्यसैले जबसम्म दुई व्यक्ति वा जोडीको एकआपसमा समझदारी हुँदैन, कुनैपनि प्रेम जीवन्त रहन सक्दैन ।

यसपालि यही दिन विद्याकी देवी माता सरस्वतीको पुजा गरिने दिन पनि परेको छ । तर सरस्वती माताको पुजा स्कुलका भाइबहिनीको मात्र हो जस्तो गरिन्छ । मानौँ हामीमा अथाह ज्ञान भइसकेको छ । अब विद्या वा बुद्धि, ज्ञान, विवेकको आवश्यकता नै छैन । हुनसक्छ हामी भेलेन्टाइनको पछि लाग्छौँ, अनि सरस्वतीपुजा विर्सन्छौँ ?

संसारमा हामीले धेरै प्रेमी जोडीहरूले साँचो प्रेम गरेको तर त्यो प्रेमलाई अभिभावकहरूले स्वीकार नगर्दा प्रेमिल जोडीले मृत्यवरण गरेका पनि सुनेका र पढेका छौँ । नेपालमा पनि त्यस्ता कैयौँ घटना भएका छन्, जस्तै केही वर्षअघि भएको रुकुमको घटना । यहाँ म तपाईंहरूले सोचिरहेको केही उदाहरण दिँदैछु ।

प्रेमको प्रस्फुटन हामी ‘लैला-मजनु’मा देख्न सक्छौँ । त्यो अमरप्रेम थियो । तर समाजले त्यो प्रेम स्वीकार गरेनन् र, लैलाको विवाह अर्कैसँग गरिदिए । त्यसपछि प्रेमको नाउँमा आहुुति दिँदै दुवैजनाले आत्महत्या गरे ।

त्यस्तै, हीर-राँझाको प्रेम पनि निःस्वार्थ प्रेम थियो । गरिव र धनी भएकै कारण, यो पनि समाजले स्वीकार गरेनन् । दुवैले मृत्यवरण गर्न पुग्छन् । प्रेम आखिर प्रेम हो, त्यहाँ गरिब र धनी, उच नीच, सानो ठूलो भन्ने हुँदैन ।

अर्को सर्वाधिक चर्चित प्रेम भनेको रोमियो र जुलियटको हो । विश्व इतिहासमा रोमियो र जुलियटको प्रेम अद्वितिय र अमर पनि मानिन्छ । विलियम शेक्सपियरको नाटकको माध्यमबाट यसको खुबै प्रचार भएको थियो । जुन प्रेम सुनौलो अक्षरले लेखिएको छ ।

यस्तै, प्रेम विभेदकारी भएपनि शाहजहाँको मुमताजप्रति गहिरो प्रेम रहेको देखिन्छ । यसमा मुमताजको कुनै धारणा नदेखिएपनि शाहजहाँ भने मुमताजको रूप/सौन्दर्यमा लठ्ठ थिए । विभेदकारी यसकारण कि शाहजहाँको १४ जना श्रीमतीमध्ये मुमताज एक थिइन् । अनि मुमताजले चौधौँ बच्चा पाउँदा प्राण त्याग गर्छिन् । तर चौध जना श्रीमतीमा केवल मुमताजको नाममा शाहजहाँले प्रेमको प्रतीकको रूपमा ताजमहल बनाउँछन् ।

त्यस्तै, खड्ग शमशेरले आफ्नी अति प्यारी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको किनार पाल्पामा रानीमहलको निर्माण गरेका थिए । यसलाई नेपालको ताजमहल पनि भनिन्छ, र प्रेमको प्रतीक पनि मानिन्छ ।

यी र यस्तै प्रेमसँग जोडिएका प्रसङ्गहरू अरु पनि छन्, तर हामी यी प्रेमसँग सम्बन्धित रोचक चित्रणलाई नजरअन्दाज गर्दछौँ । अनि केवल विवाह गरिदिएको सन्दर्भलाई प्रेम मान्दछौँ र, भेलेन्टाइन डे मनाउदछौँ ।

अब प्रसङ्ग बदलौँ ।

हाम्रा पूर्वीय दर्शन वा ग्रन्थहरूमा वर्णन गरेअनुसार वास्तवमा साँचो प्रेम भनेको सतिदेवी र महादेवको जस्तो होस् वा शिव र पार्वतीको जस्तो होस् ।

देवी पार्वतीले एकदिन महादेवसँग सोध्नुभयो- प्रेम के हो ? यसको रहस्य के हो ? प्रेमको वास्तविक स्वरुप के हो ? महादेवले मुस्कराउँदै भन्नुभयो- मलाई तिमी प्रेम के हो भनेर सोद्धछौ पार्वती । सत्य त यो हो, प्रेमको अनेकौँ रूप तिमीले नै उजागर गरेकी छौ । तिमीबाट नै मैले प्रेमको अनेक अनुभूति पाएको छु ।

त्यसैले भनिन्छ, ‘प्रेमैकानभतिः हृदानभाव्या न त दर्शिनी ।।’ अर्थात्, प्रेम एउटा एहसास हो, जसलाई आँखाले देख्न सकिँदैन, तर हृदयले महसूस गर्न सकिन्छ ।’

पार्वतीले फेरि भनिन्- के यो विभिन्न अनुभूतिहरूको अभिव्यक्ति सम्भव छ ? त्यसपछि महादेवले भन्नुभयो- सतीको रूपमा जब तिमीले प्राण त्याग गरेर मबाट टाढा भयौ तब मैले मेरो जीवन, मेरो सारा संसार, मेरो यो ब्रम्हाण्ड र भूमण्डलमा दायित्व सबै निराधार भएको थियो । आँखाबाट केवल आँशुका धारा मात्र बगिरहन्थ्यो । तिम्रो अभाव खड्किएको थियो । तिम्रो अभाव र मेरो एक्लोपनले गर्दा यो सृष्टि नै अपूर्ण लाग्नु नै प्रेम हो । जब तिमी पार्वतीको रूपमा फेरि जन्म लिएर आयौ, अनि मेरो बैराग्यपन, एकान्तपनलाई हटायौ, त्यो नै प्रेम हो ।

प्रेम त त्यो हो जसमा विवाह र शारीरिक सम्बन्ध हुनैपर्छ भन्ने छैन । निःस्वार्थ प्रेममा विवाह हुन पनि सक्छ, नहुन पनि सक्छ । प्रेम वा माया हृदयदेखि नै गरिन्छ । त्यो प्रेम चाहे बा-आमासँग होस्, दिदीबहिनीसँग, दाजुभाइसँग, सखा/सखीसँग, जोसँग पनि हुनसक्छ ।

ल हेर्नुस्, वास्तविक प्रेम के रहेछ ? तसर्थ, महाशिवरात्रीको दिन नै भगवान् शिव र माता पार्वतीको विवाह भएको थियो । हामीले किन यो दिन नै प्रेम दिवस नमनाउने ? म त बढी सान्दर्भिक यो दिन नै देख्छु ।

त्यस्तै, राधा र कृष्णको प्रेम, वास्तविक प्रेम थियो । प्रेम त त्यो हो जसमा विवाह र शारीरिक सम्बन्ध हुनैपर्छ भन्ने छैन । निःस्वार्थ प्रेममा विवाह हुन पनि सक्छ, नहुन पनि सक्छ । प्रेम वा माया हृदयदेखि नै गरिन्छ । त्यो प्रेम चाहे बा-आमासँग होस्, दिदीबहिनीसँग, दाजुभाइसँग, सखा/सखीसँग, जोसँग पनि हुनसक्छ । प्रेम प्रकृतिसँग, जनावर, नदी, पंक्षी वा वनस्पति जोसँग पनि हुनसक्छ । त्यस्तै, कृष्ण र राधाको प्रेम साँचो प्रेम थियो, जुन सखा/सखीको रूपमा सीमित रह्यो । जबकि यिनीहरू दुवैको विवाह अरुसँग भयो, आपसमा भने विवाह भएन, तर प्रेम सदा रहिरह्यो ।

कृष्ण भन्नुहन्छ- कसैलाई प्रेम गर्नु नै ठूलो उपहार हो, यसैलाई संस्कृतमा भन्दा, ‘प्रेम ईश्वरस्य महत्मपारितोषीकमस्ति’ । अनि जसले प्रेम पाउँछ, त्यो उसको लागि ठूलो सम्मान हो ।

एकपल्ट राधाले कृष्णलाई सोध्नुभयो- प्रेमको सही मतलब के हो ? कृष्णले भन्नुभयो- जहाँ मतलब हुन्छ, त्यहाँ प्रेम नै हुँदैन । फेरि राधाले सोध्नुभयो, तपाईंले मसँग निःस्वार्थ प्रेम गर्नुभयो, तर विवाह रुक्मणीसँग गर्नुभयो, किन ? कृष्णले हाँस्दै भन्नुभयो- विवाहको लागि दुई शरीरको आवश्यकता पर्दछ, तर हामी त एक छौँ !

राधाले मर्ने बेलामा कृष्णसँग अन्तिम अनुरोध गरेकी थिइन्, बाँसुरी बजाउन । त्यसपछि कृष्णले बाँसुरीको धुन जगत् मोहित पार्नेगरी बजाउन थाल्छन्, राधा कृष्णले बजाएको बाँसुरी सँगसँगै समाहित हुँदै आफ्नो प्राण त्याग गर्दछिन् ।

कृष्ण मरेपछि अर्जुनले कृष्णको शरीर जलाउँदा, सबै अङ्ग जलेपनि हृदय जलेको थिएन । पछि उडिसास्थित चार धाममध्ये एक धाम जगन्नाथपुरी मन्दिरमा यो हृदय बलिरहेको अवस्थामा राखिन्छ । हृदयको ढुकढुकी आज पनि मन्दिरको पर्खालहरूमा सुन्न सकिन्छ भनिन्छ । प्रेम त अमर हुँदोरहेछ, प्रेममय हृदय होस् त कृष्णको जस्तो ।

तसर्थ, निःस्वार्थ प्रेम भनेको राधा-कृष्णको जस्तो वा शिव-पार्वतीको जस्तो होस्, जुग-जुगसम्म अटल रहने, जन्म-जन्मसँग साथ रहने । त्यसैले संस्कृतमा भनिएको छ, ‘न हि वान्छति यः प्रियः कदा निजसर्वस्वसमर्पित । प्रतिदानफलं प्रियां प्रति जगति प्रेम तदेव कथ्यते ।।’ अर्थात्, आफ्नो सर्वस्व अर्पित गरेर बदलामा केही पाउने आशा गर्दैन, त्यो नै प्रेम हो । तसर्थ प्रेमदिवस पूर्वीय दर्शनअनुसार कि त शिवरात्रीका दिन, कि त कृष्णजन्माष्ठमीको दिन मनाउने गरिएमा बढी सान्दर्भिक हुनेछ । अस्तु !

  • विजयपुर (धरान), हाल : बेलायत