पाल्पा जीप दुर्घटना : मृतक संख्या दश, सबै जनाको सनाखत

पाल्पा जीप दुर्घटना : मृतक संख्या दश, सबै जनाको सनाखत


पाल्पामा मंगलबार साँझ भएको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो ।

मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुन सकेको थिएन ।

तिनाउँ गाउँपालिका-६ मस्यामस्थित इको फार्महाउसनजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मङ्गलवार साँभm दुर्घटना भएको थियो । आफैं अनियन्त्रित भएर जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा तिनाउँ गाउँपालिका–६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउँ–६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका-१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपाल रहेका छन् ।

यसैगरी तिनाउँ-२ खुर्सानेकी २० वर्षीय गीता सुनार, रिब्दिकोट गाउँपालिका-१ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका-५ का २९ वर्षीया दिलमाया जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

जीपचालक तानसेन नगरपालिका-१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।