मर्नुअघि बाँचौँ न !

मर्नुअघि बाँचौँ न !


ब्रम्हाण्ड झैँ जीवन पनि रहस्यले भरिएको र अमूल्य छ । मर्नु त त्यसैपनि छँदैछ, मर्नकै लागि अनेक दुःख-कष्ट गर्नुभन्दा मर्नुअघि जीवनलाई सहजरूपमा बाँच्नसक्ने बनाऔँ ।
✍ बबिता बस्नेत

रक्तदानमा विश्वब्यापी नाम कमाएका अर्जुन मैनालीले सन् २०२३ डिसेम्बर २० तारिखको बिहान ७ बजे मेसेन्जरमा लेख्नुभएको थियो- ‘नमस्कार बबिताज्यु, आराम हुनुहुन्छ ? म जनवरी २८ देखि फ्रेब्रुअरी ५ सम्म काठमाडौंमा रहनेछु । जनवरी ३१ मा छोरीको विवाह छ । हजुरको सपरिवारमा निम्ता छ । कार्ड आउँदैछ हजुर ।’ म अनामनगर बस्दा उहाँको घर र म बस्ने घर जोडिएको थियो । मसँग अति निकट सरिता दिज्युका श्रीमान् श्रीकृष्ण श्रेष्ठ पनि काभ्रेनिवासी हुनुभएकाले उहाँहरूको परिवारका सदस्यहरूबीच एकअर्कासँग कौसीबाट कुरा भइरहेको हुन्थ्यो । अर्जुनजीका बुबा पद्मकेशर मैनालीलाई हामी दाइ भन्थ्यौँ । दुई वर्षअघि मैनाली दाइको फोक्सोको क्यान्सरले मृत्यु भएको सुन्दा दुःख लागेको थियो ।

अर्जुनजी अमेरिका गएपछि रक्तदानका समाचारहरू पठाइरहन्थे । म काठ्माडौं आउँदै छु भन्ने मेसेजपछि छोरीको विवाह कार्ड आयो, विवाह माघ १७ गतेको थियो । कार्य ब्यस्तताले विवाहमा जान नपाउँदा अलिक अप्ठ्यारो लागिरहेको थियो, एक्कासी पत्नीलाई सम्बोधन गरेर लेखिएको उनको स्टेटस देखेँ । केही समयपछि त उनको मृत्युकै खबर सर्बत्र फैलियो । उनलाई चिन्ने र उनको कामलाई चिन्ने सबै आश्चर्यमा परे, आफ्नो रगत दिएर अरुको जिन्दगी बचाउँदै हिँडेको मान्छेले कसरी आफ्नै हत्या गर्न सक्यो ?

उनले आफ्नो मृत्युको कारणमा आफन्तले दुर्व्यवहार गरेको उल्लेख गरेका छन्, जसलाई ‘घरेलु हिंसा’ भन्न मिल्छ । घरेलु हिंसा निवारणसम्बन्धी कानुनले ‘घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलुसम्बन्धमा भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ’ भनेको छ । कानूनअनुसार, घरेलु सम्बन्ध भन्नाले बंशज, विवाह, धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य भनिएको छ । ‘विवाह’ भन्ने शब्द उल्लेख गरिएकोले घरेलु सम्बन्धमा रहेकाबाट भएको हिंसा भन्न मिल्यो । तथापि, भएको के थियो भन्ने कुरामा सम्बन्धित ब्यक्तिको भनाइ भने बाहिर आएको छैन । घरेलु हिंसामा परेका पुरुषका कमैमात्र घटना सार्वजनिक हुने गरेका छन् । विशेषगरी महिलामाथि हुने घरेलु हिंसालाई विश्वब्यापी आश्चर्यको रूपमा लिने गरिएको छ ।

आत्महत्यालाई पनि महिलामाथि हुने हिंसालाईझैँ विश्वब्यापी आश्चार्यको रूपमा लिने गरिएको छ । यो जतापनि छ, धनी, गरिब, शिक्षित, अशिक्षित, कुनैपनि जात, क्षेत्र, वर्ग, समूदाय, जहाँपनि र कुनैपनि बेला । युरोप, अमेरिका, एशिया, दक्षिण एशिया सबैतिर नै आत्महत्याका घटना बढिरहेका छन् । आश्चर्यजनक कुरा त के छ भने विश्वको खुशीको सूचीमा एशियामै पहिलो नम्बरमा रहेको भुटानमा समेत आत्महत्या बढेको देखिएको छ । आर्थिकरूपले सम्पन्न मानिने फिनल्याण्ड, नर्वे, डेनमार्कमा आत्महत्याको ग्राफ बढ्दो छ । आत्महत्या किन हुन्छ ? किन बढिरहेको छ ? भनेर विश्वमा धेरै अनुसन्धानहरू भएका छन् । ती रिसर्चहरूले यसै कारणले हो भन्ने स्पष्ट निर्क्योल भने निकाल्न सकेका छैनन् । तर एकपल्ट आत्महत्या गर्न खोजेको ब्यक्तिले फेरि पनि कोशिस गर्ने गरेको भेटिएको छ । विश्व स्वास्थ्य संगठनदेखि स्वास्थ्यक्षेत्रमा काम गर्ने विभिन्न संस्था तथा विश्वविद्यालयहरूले आत्महत्यालाई लिएर रिसर्च गरेका छन् । रिसर्चका क्रममा डिप्रेशन आत्महत्याको मुख्य कारण भेटिएको छ । डिप्रेशन के कारणले हुन्छ त भन्दा मुख्य कारण तनावलाई मानिएको छ । जीवनमा गढेर रहेको पुरानो घाउ; जस्तै यौनहिंसा, बलात्कार, युद्धको दृष्य देखेकाहरू, युद्धमा आँखैअगाडि बाबुआमा या छोराछोरीको मृत्यु ब्यहोरेकाहरू, लागुऔषध, मदिरा, सम्बन्धमा खटपट, आर्थिक लेनदेन या गरिबीलगायतका कुराले मानिसलाई डिप्रेशनतर्फ धकेल्छ । यी विविध कारणले जीवनमा आशा हराउँदै गएपछि मानिसले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको छ ।

पैसा नहुँदा मसँग पैसा भए हुन्थ्यो जस्तो लाग्ने र पैसा भएपछि नाम/सम्मान चाहिने शायद मानवीय प्रवृत्ति नै हो । ठुल्ठूला ब्यापारीहरूको मिडियामा लगानी या राजनीतिप्रवेशको कारण यही नाम, मान सम्मानको चाहनासँग जोडिएको छ । मानवीय आकाङ्क्षाहरूको ब्यवस्थापन गर्न त्यति सहज छैन ।

अर्जुन मैनाली रक्तदाताको रूपमा चर्चित भएका र उनले सार्वजनिकरूपमा नै ‘म मर्दैछु’ भनेर घोषणा गरी आत्महत्या गरेका कारण चर्चामा आएपनि बेखबर मानिसले मृत्युवरण गरेका घटनाहरू बढिरहेका छन् । हिजोसम्म सामाजिक संजालमा नाचेको, हाँसेको फोटो राखिरहेको मान्छेलाई अकस्मात श्रद्धाञ्जली दिनुपरेका घटनाहरू बढ्दैछन् । एकातिर हर्ट एट्याक्ट र ब्रेन हेमरेज भएर अकस्मात मृत्यु भएका घटना पहिलेको तुलनामा बढिरहेका छन् भने अर्कोतिर आत्महत्या गर्नेको सङ्ख्या बढ्दैछ । आत्महत्याको अर्थ मानिसमा जिन्दगीप्रति निराशा छाउनु हो । शारीरिक चोटभन्दा कैयौं गुणा घातक भएर मानसिक चोट अगाडि आइदिँदा मानिसले जीवनको अन्त्य गर्न पुग्छ । जिन्दगीमा धेरथोर उतारचढाव सबैको हुन्छ, त्यसलाई कसरी लिने भन्ने कुरा मानिस आफैमा निहित हुन्छ । तनावलाई झेल्न ‘कोपिङ्ग मेकानिज्म’ मानिस आफैले निर्माण गरी लागु गर्ने हो, अरुले गरिदिएर हुँदैन । यद्यपि आफूवरिपरिको वातावरणले मानिसलाई फरक भने पारिरहेको हुन्छ । मूलतः जीवन आफैले धान्ने र सम्हाल्ने कुरा हो ।

यदि मृत्यु नहुँदो हो त मानव बस्ती कस्तो हुने थियो होला ? अनुमानमात्र गर्न सकिन्छ । मृत्युबिनाको जीवन कल्पना मात्र गर्दा पनि कुरुप घना बस्ती आँखाअगाडि आउँछ । मैले एकदिन मर्नुपर्छ भन्ने जानकारी हुँदा त मानिसहरूबीच तँछाड्मँछाड् यस्तो छ, मर्नैनपर्ने भए त झन् के हुन्थ्यो होला ? हरेक मानिसको जीवनमा मृत्यु अपरिहार्य छ, त्यसैले त मृत्युलाई जिन्दगीको अन्तिम सत्य पनि भनिन्छ । तथापि, गुरु ब्रम्हश्री मित्रले मृत्यु सत्य नभएर भ्रम हो भन्नुभएको छ । आत्मामा विश्वास गर्नेहरू मृत्युलाई सामान्य घटना मान्छन् । अघि या पछिको कुरा हो, मृत्युले कसैलाई छोड्दैन । मृत्यु निश्चित हुँदाहुँदै पनि कहिले हुन्छ भन्ने अनिश्चित भएकाले जिउँदो-जाग्दो अवस्थामै मरुँ भन्ने सोच राख्नेहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । जीवनदेखि हैरान भएर आत्महत्या गर्नेहरूको सङ्ख्या हामीकहाँ दिन-प्रतिदिन बढिरहेको छ । हामीकहाँ मात्र होइन आत्महत्या विश्वब्यापी रूपमै बढ्दै गएको तथ्याङ्कहरूले देखाएका छन् ।

कतिपय मानिस भन्छन्- आत्महत्याको कारण गरिबी हो, तर अध्ययनले गरिबभन्दा धनी मुलुकहरूमा बढी आत्महत्या हुने गरेको देखाएको छ । सन् २००७ मा नर्वे गएका बेला एकजना साथीले यो पङ्क्तिकारलाई साँझको खानामा बोलाएका थिए । उनकी पत्नी त्यहाँ हेल्थ म्यागेजिनकी सम्पादक रहिछन् । उनले हातमा दिएको मोटो साप्ताहिक पत्रिका पल्टाउँदै मैले यस्तो पत्रिका चलाउँदा तपाईंहरूलाई आइपर्ने समस्या के हो भनेर सोधेँ । उनले ‘हामीकहाँ यति धेरै विज्ञापन आउँछ कि सबै विज्ञापन हामी छाप्न सक्दैनौं, विज्ञापनको ब्यवस्थापन नै हाम्रो समस्या हो’ भनिन् । यता पत्रिकाका लागि विज्ञापन नपाएर आर्थिक समस्या भोगिरहेका हाम्रालागि त्यो रोचक समस्या थियो । नर्वेजियन भाषाको पत्रिका हेर्दै मैले भनेँ- ‘खास विज्ञापनचाहिँ केको आउँछ नि ?’ उनले भनिन्, ‘डिप्रेशनको औषधीको !’ डिप्रेशनका रोगी बढेसँगै नर्वेमा डिप्रेशनसम्बन्धीका औषधि उद्योगहरू धमाधम खुल्न थालेछन् । औषधि उत्पादन गरेपछि त्यहाँ अखबारमा विज्ञापन छपाएर तिनका राम्रा र नराम्रा पक्षका बारेमा सर्बसाधारणलाई जानकारी दिनुपर्ने सरकारी नियम रहेछ । औषधी केले बनेको छ, कसरी काम गर्छ र यसका साइडइफेक्टहरू के-के हुन् जस्ता कुरा जनताको सूचनाको हकअन्तर्गत पर्दारहेछन् । त्यसैले कम्पनीहरूले आफ्नो उत्पादनहरूको विज्ञापन अनिवार्यरूपले गर्नुपर्दोरहेछ । ‘नर्वेमा मानिसलाई यति धेरै डिप्रेशनचाहिँ किन भएको ?’ भनेर सोधेकी थिएँ, उनले ‘आर्थिक समस्या छैन, सबै कुरा पुगेको छ, त्यसैले रिलेशनसीपलगायतका समस्या बढेका छन्’ भनिन् । त्यसपछि मलाई ‘ओहो ! जिन्दगी धान्नका लागि दौडधुप गर्दागर्दै अरु कुरा सोच्नै नपाउने हाम्रै अवस्था ठिक’ भन्ने लागेको थियो ।

अघि या पछिको कुरा हो, मृत्युले कसैलाई छोड्दैन । मृत्यु निश्चित हुँदाहुँदै पनि कहिले हुन्छ भन्ने अनिश्चित भएकाले जिउँदो-जाग्दो अवस्थामै मरुँ भन्ने सोच राख्नेहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ ।

अशिक्षितमा भन्दा शिक्षितमा यो सङ्ख्या बढी छ । मानिसको जीवन सपनाहरूले भरिएको हुन्छ । यो गरुँ, त्यो गरुँ, यहाँ पछि त्यहाँ जाउँ, यति भएपछि अब मलाई पुग्यो भन्ने मानिसहरू कमै देखिएका/भेटिएका छन् । चाहे त्यो पैसाका सन्दर्भमा होस् या नाम वा पदका सन्दर्भमा । पैसा नहुँदा मसँग पैसा भए हुन्थ्यो जस्तो लाग्ने र पैसा भएपछि नाम/सम्मान चाहिने शायद मानवीय प्रवृत्ति नै हो । ठुल्ठूला ब्यापारीहरूको मिडियामा लगानी या राजनीतिप्रवेशको कारण यही नाम, मान सम्मानको चाहनासँग जोडिएको छ । मानवीय आकाङ्क्षाहरूको ब्यवस्थापन गर्न त्यति सहज छैन । गौतम बुद्धले आफ्ना चेलाहरूलाई सन्यास लिने बेलामा तीन महिना घाटमा बस्न लगाउनुहुन्थ्यो रे । तीन महिनासम्म मानिसका लाशहरू हेरेर, चितामा लाश जलेको देखेर जीवनको सत्य उनीहरूले थाहा पाउन् भनी उनीहरूलाई त्यसरी घाटमा पठाइने गरिन्थ्यो । तीन महिनासम्म घाटमा बसेर महत्वाकाङ्क्षा शुन्यमा झरेपछि बल्ल उनीहरू सन्यास लिनका लागि योग्य हुन्थे रे ! महत्वाकाङ्क्षा र जीवनको वास्तविकताबीच ठुलो अन्तर छ ।

धेरैजसो घटनामा आफ्ना महत्वाकाङ्क्षाको ब्यवस्थापन गर्न नसकेर मानिसले आत्महत्या गरेका छन् । आफूवरिपरिको वातावरण जब सही लाग्न छोड्छ त्यसपछि मानिसमा विरक्ति छाउने गर्छ । जीवनको कुनै न कुनै मोडमा आत्महत्या गरुँ कि के हो भन्ने सोच आउँछ भनिन्छ । मानिस हो, सोचहरू अनेक आउँछन् । सम्हाल्ने त आफूले आफैलाई नै हो । आफूले आफैलाई सम्हाल्नु जिन्दगीमा ठुलो कुरा हो । आफूले आफैलाई अन्त्य गर्ने कुरालाई आत्महत्या नाम दिइएपनि आत्माको मात्र नभएर शरीरको पनि हत्या हुने गर्छ । आत्महत्या र बाँच्ने चाहनाबीचको अन्तरविरोधचाहिँ के हो भने मानिसमा धेरै कुरामा असमानता भएपनि बाँच्न चाहने कुरामा प्रायः समानता नै देखिन्छ । हरेक मान्छे सकेसम्म जिन्दगीको अन्तिम सास फेर्दासम्म पनि बाँच्न चाहन्छ । वृद्धावस्था हुँदै गएपछि बाँच्ने चाहना झन् बढ्छ भनिन्छ । यसर्थमा आत्महत्या आम कुरा भने होइन ।

पछिल्लो आँकडालाई हेर्दा धेरैजसो मानिसहरूले मुलतः दुई कारणले आत्महत्या गरेको देखिन्छ, आर्थिक अभाव र सम्बन्धमा समस्या । यी दुई कुराले धेरै मानिसको ज्यान लिएको छ । नेपालमा आत्महत्याको कारणका बारेमा अनुसन्धान गर्ने कानून थिएन । अहिले मुलुकी संहिताले आत्महत्या दुरुत्साहनका लागि भनेर कानून ल्यायो जसअनुरुप दोषी प्रमाणित भएमा पँच वर्षसम्म जेलसजाय हुन सक्छ । कानून आफैमा नराम्रो छैन तर यसको अभ्यासमा बदलाको भावना भयो भने निर्दोष मानिस फस्ने सम्भावना पनि त्यत्तिकै छ । कानूनको प्रयोग कसैलाई फसाउन नभएर पीडितलाई न्याय दिनका लागि हुनुपर्छ ।

समयक्रममा आत्महत्याको एउटा कारण बन्दै गएको सोसियल मिडिया र प्रविधि आत्महत्या घोषणाको माध्यम पनि बन्न थालेको छ । सोच्ने शक्ति र विवेक भएका कारण मानिस अन्य प्राणीभन्दा फरक छ । ब्रम्हाण्ड झैँ जीवन पनि रहस्यले भरिएको र अमूल्य छ । मर्नु त त्यसैपनि छँदैछ, मर्नकै लागि अनेक दुःख-कष्ट गर्नुभन्दा मर्नुअघि जीवनलाई सहजरूपमा बाँच्नसक्ने बनाऔँ ।