एकीकृत सूचना प्रणाली विकास गर्न गठित कार्यदलले काम थाल्यो

एकीकृत सूचना प्रणाली विकास गर्न गठित कार्यदलले काम थाल्यो


आपतकालीन सेवाका लागि एकीकृत सूचना प्रणालीको विकास गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले काम थालेको छ । आपतकालीन अवस्थामा परेका व्यक्तिले आफूसँग रहेको सञ्चारसाधन प्रयोग गरी केन्द्रीय प्रणालीमा सूचना दिने र, आवश्यक आपतकालीन सेवा लिन सक्नेगरी एकीकृत सूचना प्रणाली विकास गर्न सरकारले एक साताअघि कार्यदल गठन गरेको थियो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले पहिलो बैठक बसेर सूचना प्रणाली, कानुनी आधार, विभिन्न निकायले गरिरहेका अभ्यासलगायत विषयमा छलफल गरी कार्यअघि बढाएको संयोजक पाण्डेले जानकारी दिएका छन् ।

उक्त कार्यदलमा गृह, स्वास्थ्य, सञ्चार तथा सूचना प्रविधि, सङ्घीय मामिला र सामान्य प्रशासन मन्त्रालयका साथै नेपाली सेना, सशस्त्र प्रहरीका एक/एक र नेपाल प्रहरीका दुई जना प्रतिनिधि रहेका छन् ।

तत्कालका लागि एम्बुलेन्स, प्रहरी सेवा र दमकल सेवालाई एकीकृत रुपमा उपलब्ध गराइने गरी प्रणालीको विकास गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । अत्यावश्यक सहायता सेवाका लागि हाल नेपाल प्रहरीको १००, दमकलको १०१, एम्बुलेन्सको १०२ र ट्राफिक प्रहरीको १०३ नम्बर प्रयोगमा छन् ।

उक्त प्रणालीअन्तर्गत एम्बुलेन्स, दमकल, प्रहरी सेवा, प्रारम्भिक स्वास्थ्य जस्ता सेवा एकीकृत रुपमा उपलब्ध गराइने छ । तत्कालका लागि भने एम्बुलेन्स, दमकल र प्रहरी सेवा समावेश गरिने जनाइएको छ ।

नयाँ सेवा सुरु भएपछि सबै नागरिकले एउटै नम्बर प्रयोग गरेर आफूलाई परेको समस्या केन्द्रीय प्रणालीमा पठाउन सक्नेछन् । केन्द्रीय सूचना प्रणालीले प्राप्त सूचनालाई तत्कालै सम्बन्धित निकायमा पठाउने छ । आपतकालीन सेवा प्रवाहका लागि विभिन्न उपप्रणालीसमेत प्रयोगमा ल्याइने बताइएको छ ।