के नेपाली हिन्दू कट्टर हुँदै छन् ?

के नेपाली हिन्दू कट्टर हुँदै छन् ?


हो, हिन्दुहरू हिजोभन्दा आज असहिष्णु हुँदैछन् तर अर्काको लागि होइन आफ्नो परिचय, अस्मिता तथा इतिहासको संरक्षणका सवालमा । धेरै लामो अन्तरालपछि हिन्दू-गौरवको कुरा उठेको छ, यो उठान रोकिनु हुँदैन । इतिहासमा हिन्दूले सबैभन्दा बढी गुमाएको छ । शस्त्रको कुरा होइन, अन्यको अस्तित्व अस्वीकार गर्ने आन्दोलन होइन, यो स्वत्वको सङ्घर्ष हो ।
✍ गोविन्द शरण

नेपाली मिडियामा एउटा रोइलो निकै पढ्ने र सुन्ने गरिन्छ- नेपाली हिन्दू असहिष्णु हुँदैछन्, कट्टर हुँदैछन् ! भारतीय कट्टर हिन्दुत्वका नेपालमा बाछिटा पर्दैछन् रे ! खासगरी भारतमा राममन्दिरको उदय र नेपालमा गौहत्याका विरुद्ध जनमत बनेपछि यस्तो ‘रोइलो’ बढ्दो छ । समग्रमा सबै मिलेर नेपाली हिन्दूहरूलाई आफ्नो अस्तित्व र परिचय त्याग्न अभिप्रेरित गरिरहेका छन् । के हिन्दुले आफ्नो अस्तित्व त्यागिदिनु पर्छ त ?

उपर्युक्त रोइलो गर्नेहरूमा आफूलाई धर्मनिरपेक्ष भन्ने व्यक्तिहरू, आफ्नो विश्वासमा सबैभन्दा कट्टर भएर पनि राजनैतिक उदारताको लाभ प्राप्त गर्न धर्मनिरपेक्षतावादी बनेका मुस्लिम, इसाई तथा अम्बेडकर ब्रान्डका घृणावादी बौद्धहरू अगाडि छन् ।

नेपाल होस् वा भारत हिन्दुहरूको बहुमत प्रमाणित तथ्य हो । नेपालमा ८१ प्रतिशत जनसंख्या हिन्दुहरूको छ भने भारतमा ७८ प्रतिशत जनता हिन्दू छन् । यो प्रचण्ड जनमतलाई मुसाई, समाजवादी, घृणावादी, धर्मनिरपेक्षतावादीले भोटमा पराजित गर्न सक्दैनन् । यसै मेसोमा हिन्दु-आवाजलाई ‘आतङ्ककवाद’ भन्दै भारतीय कङ्ग्रेसले बदनाम गर्न खोज्यो । जब यो बाटो सफल भएन आज यी सबै मिलेर हिन्दूहरूलाई आफ्नो ‘अस्तित्व त्याग्न’ अपिल गरिरहेका छन् । के नेपालीहरू परिचयविहीन भएर अरूको परिचय स्थापित गरिदिने हो ?

हिन्दु शब्दसँग घृणा, हिन्दू संस्कृतिसँग घृणा, हिन्दू देवीदेवतासँग घृणा, हिन्दूको सांस्कृतिक भाषा ‘संस्कृत’सँग घृणा, हिन्दू विद्वान् तथा पुरोहितसँग घृणा, हिन्दू पाठशालाहरूसँग घृणा, हिन्दू सन्तहरूसँग घृणा, हिन्दुका आराध्य गौ तथा तुलसीसँग घृणा, हिन्दू राष्ट्रको उठान सँग घृणा ! यो कस्तो धर्मनिरपेक्षतावाद हो जसले हिन्दूहरूको परिचयसँग घृणा गर्छ र, हिन्दूहरूले आफ्नो परिचय खोज्दा ‘कट्टरवाद’ भन्दै जिहादी र क्रुसेडीसँग तुलना गर्छ ? के हिन्दुहरू परिचयविहीन भएपछि मात्र यो घृणा समाप्त हुन्छ !? प्रश्न उठाउनु पर्छ ! प्रश्न उठाउनु नै हिन्दुअस्तित्वको आवाज हो ।

कुनै पनि हिन्दूले आफुलाई परिचयविहीन, श्रीविहीन, राष्ट्रविहीन, संस्कृतिविहीन, स्वाभिमानविहीन र आत्मविश्वासविहीन बनाउने षड्यन्त्रलाई किन स्वीकार गर्नुपर्ने ? धेरै लामो अन्तरालपछि हिन्दू-गौरवको कुरा उठेको छ, यो उठान रोकिनु हुँदैन । इतिहासमा हिन्दूले सबैभन्दा बढी गुमाएको छ । शस्त्रको कुरा होइन, अन्यको अस्तित्व अस्वीकार गर्ने आन्दोलन होइन, यो स्वत्वको सङ्घर्ष हो ।

यहाँसम्म त ठीकै थियो… किनभने एउटा धर्मले आफ्नो बर्चश्व स्थापित होस् भन्ने चाहन्छ र विपक्षी धर्मको उत्थानबाट चिन्तित हुन्छ तर अचम्मको कुरा के भने राजनैतिक दलहरूले पनि हिन्दुहरूलाई असहिष्णुताको पाठ पढाउने प्रयत्न गरिरहेका छन् !

प्रश्न उठ्छ- के साँच्चिकै हिन्दुहरू असहिष्णु भएकै हुन् वा असहिष्णुबाटतिर अग्रसर हुँदैछन् त ? हो, हिन्दुहरू हिजोभन्दा आज असहिष्णु हुँदैछन् तर अर्काको लागि होइन आफ्नो परिचय, अस्मिता तथा इतिहासको संरक्षणका सवालमा । आज हिन्दूहरूले आफूलाई गालीगलौज गर्ने/अपमान गर्ने र शरणार्थी भन्ने प्रवृत्तिप्रति असहिष्णुता प्रकट गर्दैछन् ।

पहिलो कुरा- यस्तो असाहिष्णुताका कारक नेपाली र तथा भारतीय राजनीतिले समाज र संस्कृतिको विरुद्ध ‘लादेको’ धर्मनिरपेक्षता नै हो । युरोपमा धर्मनिरपेक्षता इसाईहरूको एकलकाटे प्रवृत्तिविरुद्ध विद्रोह थियो । तर नेपाल एवम् भारतमा हिन्दुहरूले कुनै ‘एकलकाटे’ पवृत्ति देखाएका थिएनन् । पश्चिमा प्रतिमानबाट बनेको राजनैतिक चिन्तनले नेपालीलाई इसाई तथा मुसलमानको श्रेणीमा ल्याएर उभ्यायो । अनि, हिन्दुहरूसँग आफ्नो बहुलवादी संस्कृतिको सुरक्षाका लागि असाहिष्णु बन्नुको विकल्प रहेन ।

दोश्रो कुरा- हदैसम्मको कट्टरपन्थी विचार र संस्कार भएका मुस्लिम तथा इसाईहरूले आफूलाई ‘धर्मनिरपेक्षवादी’ भन्दै हिन्दू देवस्थानहरू, धर्मसंस्कारहरू तथा संस्कृतिमा प्रहार गरेको देख्दा र बुझ्दा पनि अल्पसंख्यक, सबै धर्म समान हुन्, राज सबैको लागि बराबर हुन्छ भन्दै तुष्टीकरणको नीतिमा उभिएपछि हिन्दूहरूसँग आफ्नो अस्तित्व जोगाउनुको विकल्प रहेन । नेपाल होस् वा भारत ‘धर्मनिरपेक्षता’को आड लिएर कट्टरपन्थीहरूले धर्मपरिवर्तन गराउँदै छन् । सरकारहरू तिनलाई संरक्षण गरिरहेका छन् । यदि कुनै हिन्दूले ‘धर्म परिवर्तन रोक्नुपर्छ’ भन्यो भने असाहिष्णु भन्दै उल्टो खेदो खन्छन् । अनि, हिन्दुहरू असाहिष्णु नभएर के गर्नु ?

तेस्रो कुरा- वैदिक, जैन, बौद्ध, चार्वाक, किराती तथा बोन्पोहरू नेपालका रैथाने संस्कृति हुन् । हिन्दुलाई ककेसियाबाट आएको शरणार्थी, मंगोलहरूलाई मंगोलियाबाट आएको शरणार्थी भन्दै अपमान गर्ने तर ‘आदिवासी-जनजाति’को छातामा आवद्ध भएर ‘हिन्दू अन्यायी हुन्, बाहुनक्षेत्रीले देश बिगारेका हुन्, बाहुनक्षेत्री शोषक हुन्’ जस्ता कपोलकल्पित आरोप लगाउनेहरूलाई स्वतन्त्रता र अधिकारको आन्दोलन भनेर संरक्षण गर्ने तर हिन्दुहरूले ‘यो गलत हो, हामी नेपाली हौँ’ भन्दा ‘जनजातिआदिवासी’को अधिकारको आन्दोलनप्रति असाहिष्णुता हो भन्दै बेवास्ता गर्ने ‘साम्यवादी-समाजवादी’को व्यवहारले गर्दा हिन्दुहरूसँग असहिष्णु बन्नुको विकल्प रहेन । ‘असहिष्णुता’ शब्द पनि अर्को धर्म-संस्कृतिलाई सहनै नसक्ने र अर्को राजनैतिक चिन्तनलाई सहन गर्नै नसक्ने ‘मुसाई’बाट नै नक्कल गरिएको हो । यदि नेपाली तथा भारतीय हिन्दुहरू असहिष्णु र धर्मान्ध भएको भए नेपाल उहिले नै साउदी अरब बन्थ्यो ।

चौथो र अन्तिम कुरा- हिन्दुहरूउपर गरिएको अत्याचार अत्याचार नै नहुने, मुसाई वा डलरदासप्रतिको एउटा ‘शब्द’ असहिष्णुता देख्ने नेपाली तथा भारतीय दृष्टिकोणबाट हिन्दुहरू आहत भएका छन् । यो पीडा एकएकघरमा फैलिँदै छ । सञ्चारले ‘हिन्दुहरूलाई’ असहिष्णु देखाएर अझै उपकार गर्दैछ, किनभने आजको हिन्दू समाजले इतिहासमा प्रवेश गरेर ‘अत्याचारीहरू’ र मिडियालाई सुनेर वर्तमानका ‘सकुनी’हरूलाई राम्रै मुल्याङ्कन गर्न सक्छ । गौहत्याविरुद्ध सन्तहरूको अवाज होस् वा भारतमा नवनिर्मित राममन्दिर नै किन नहोस्, हिन्दू जागरणका प्रतिनिधि हुन् ।

पाँचौ, सहिष्णुताको पाठ हिन्दुहरूलाई सिकाउनु पर्दैन । जुन शक्तिले अर्को धर्म, संस्कृति तथा इतिहासलाई स्वीकार सक्दैन, जुन शक्तिले गुम्वाहरूलाई आलु गोदाममा रुपान्तरित गर्दैछ, जुन शक्तिले पशुपतिनाथको मन्दिर तोडेको हो, जुन शक्तिले स्वयंभूनाथ चैत्य लुटेको हो, जुन शक्तिले सबै धर्म समान हुन् भन्ने नाममा १.५ प्रतिशत मात्र जनसंख्या भएको ‘समुदाय’लाई प्रमुख धर्मको महलमा राखेको छ, जुन शक्तिले विद्यालयहरूमा हिन्दूहरूको विश्वासलाई काल्पनिक र मुसाईहरूको इतिहासलाई वास्तविक भनेर पढाउन आरम्भ गरेको छ, जुन शक्तिले संस्कृत गुरुकुलमा आगो लगायो, बटुकहरूको टुप्पी काट्यो- तिनलाई सहिष्णुता र अहिंसाको पाठ पढाउनु । आफ्नो अस्तित्व जोगाउन हिन्दुहरू असहिष्णुको बाटोमा हिंड्नु पर्ने बाध्यता सृजना गर्नेहरूले बूझ ।

उप्रान्त नेपालीहरूले नेपालको धर्मनिरपेक्षतावाद एउटा कट्टरपन्थी अवधारणा हो जसले ‘हिन्दु’हरू बाहेक सबैलाई मित्रशक्तिका रूपमा लिन्छ भन्ने तत्थ्य राम्रै बुझ्न थालेका छन् । कुरा राजनैतिक विश्वासको होइन, हिन्दु-गौरवको हो । हिन्दु-गौरव रक्षाका लागि ‘पार्टीवाद’को दाम्लोमा नेपाली जनता धेरै बाँधिने छैनन् । आजको मितिमा १५-देखि ३५ वर्षका युवाहरू वैदिक धर्म, संस्कृतिका पक्षमा, आफ्नो मौलिक वैदिक, बौद्ध, जैन, बौद्ध संस्कृतिको निरन्तरताका पक्षमा उभिएका छन् ।

हिन्दूहरूलाई ‘नेपाली ब्राण्ड र भारतीय ब्राण्ड’मा विभाजित गरेर हेर्नेहरू तिम्रो पराजय निकट छ । नेपाललाई मोदी होइन नेपालीको गौरव चाहिएको छ । जुन गौरवको आरम्भ भइसकेको छ र, संस्थागत हुँदैछ । घृणावादको अन्त्य हुनैपर्छ । सबैसँग प्रेम गरौँ, कसैसँग घृणा नगरौँ तर घृणावादीले बनाएको ‘आत्मघाती’ सहिष्णुताका पोषक पनि नबनौँ ।
स्वस्तिअस्तु !