आफन्त र गाउँलेबाट बालिका पटक-पटक बलात्कृत भएको खुलासा

आफन्त र गाउँलेबाट बालिका पटक-पटक बलात्कृत भएको खुलासा


डडेल्धुराको आलिताल गाउँपालिकाकी एक १२ वर्षीया बालिका पटकपटक बलात्कृत हुनुपरेको घटना बाहिरिएको छ । उपचारका लागि अस्पताल पुगेपछि बालिका बलात्कारको सिकार भएको घटना खुल्न आएको हो ।

उपचारका लागि अस्पताल पुगेकी बालिका आफन्त र गाउँकै एक युवाबाट बलात्कृत हुनुपरेको खुलेको प्रहरीले जनाएको छ ।

बालिका आइतबार उपचारका लागि आफन्तसहित पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । उपचारमा संलग्न चिकित्सकले बालिकामाथि बलात्कार भएको आशङ्का गरेपछि प्रहरीलाई खबर गर्दा घटना बाहिरिएको हो । प्रहरीले अनुसन्धान गर्दा बालिका पटकपटक बलात्कारको सिकार भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले बताए ।

गत वर्ष भदौमा काका नाता पर्नेबाट बलात्कृत भएकी बालिका फेरि गएको माघ ६ गते एक स्थानीय युवकबाट पनि बलात्कारमा परेको उनको बयानबाट खुल्न आएको हो । पीडित बालिकाले डर, धम्कीका कारण घटनाबारेमा कसैलाई पनि नभनेको प्रहरीको भनाइ छ । अहिले बालिकालाई आफन्तको सहयोगमा जिल्ला प्रहरी कार्यालय पुऱ्याइएको छ ।

पीडितपक्षको जाहेरीका आधारमा बलात्कार गरेको आरोपमा आलितालका २० वर्षीय पुष्कर थापालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुद्दाफाँटका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले बताए । बालिका वृद्ध हजुरबुवा र हजुरआमासँंग बस्दै आएकी छन् । ती बालिकाका काका नाता पर्ने व्यक्ति भने अहिले भारतमा छन् । बलात्कारको घटना ढाकछोप गर्न उनी भारत गएको हुनसक्ने प्रहरीको आशङ्का छ । बालिकाका आमाबाबु कामका सिलसिलामा भारतमा रहेका बताइएको छ ।

symbolic image