अर्जुनद्वारा आत्महत्या गर्नुअघिको बयान !

अर्जुनद्वारा आत्महत्या गर्नुअघिको बयान !


विगत डेढ दशकदेखि अमेरिका बस्दै आएका चर्चित रक्तदाता (दुई सय पटकभन्दा बढी रक्तदान गरेका) अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारीअनुसार प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको छ । कारमा आगो लगाएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।

मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लिएको ढकालले बताएका छन् । प्रहरीले निधन पुष्टि गर्दै मैनाली परिवारलाई पत्र दिइसकेको बताइएको छ ।

मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको जानकारी दिएका थिए । यतिबेला मैनालीको आत्महत्या प्रकरण निकै चर्चामा छ । आत्महत्या गर्नुअघि फेसबुकमा मैनालीले के लेखेका थिए, हेरौँ-

प्यारी श्रीमती तारा,
धेरै धेरै माया !

आज म परलोक जाँदैछु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिँदोरहेनछ, शब्द पनि काफी हुँदोरहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तातो न छारोको कुरामा ‘…नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस…’ जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरी श्रीमती)को मनमा के भयो होला !? यसरी उसले आफू असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९/१० वर्षकी छोरी, १३/१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला १ त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदैथिए, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो ? के पायो ? अब तिम्रो क्षतिलाई उसले सुनकै घर बनाएर दिए पनि पूर्ति हुन सक्ला त ?

छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे एक वर्ष ढिलो नहोस् भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिनअगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ ?’ त्यसपछि यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनि मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । नआत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन् ।

गतवर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन् । अग्निको बाटोबाट एक प्रतिशत भन्दा कम गएका रहेछन् । यो बाटो ज्यादै नै पीडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दुःखले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभूति हुन्छ नै होला । त्यही नै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दुःखद निधन भएतापनि मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दिइरहनुहुनेछ भन्ने लागेको छ, ताकि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन् । मैले विगत ३६ सम्म गरेका कर्मधर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानका बारेमा केही सिकुन् । प्रेरित हुन् । अरु के भनम् ! मसँग यत्रो पीडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागिरहेँ । दुखेको मनलाई लुकाइराखेँ । आज विगत एक बर्षदेखिको दुःख सकिँदै छ ।

म, तिमी, छोरा∕छोरी (अमुन∕अमित) र आमामा धेरै कृतज्ञ छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोराछोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कुदृष्टि पर्‍यो । सबै सत्यानास भयो । अब मैले बारबार जन्म लिनु नपरोस् । यदी परेमा फेरिपनि तिमीलाई नै पाउँ । जस्तोसुकै गाह्रो परिस्थिति आए पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ति मिलोस् ।

तिम्रो श्रीमान् । ॐ नम शिवाय !

ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात॥