प्रतिगामी, हामी नेपाली !!

प्रतिगामी, हामी नेपाली !!


नेपाली राष्ट्रियता कमजोर र बाह्य हस्तक्षेप बलियो भयो, अब यसबाट मूक्ति खोजौं भनी अनुनय-विनय गर्दा देशसँग एकथान मोटरसाइकल, एउटा मरन्च्याँसे कार र एकप्रति रासनकार्ड साट्न आफूलाई तम्तयार राखिरहेको स्थितिमा हामी एकअर्कालाई देख्दैछौँ ।
✍ देवप्रकाश त्रिपाठी

राजनीतिमा मात्र ज्यादा प्रयोग हुने गरेको भएपनि समग्र मानव जीवनमा लागू हुने शब्द हो अग्रगमन ! र, प्रतिगमन पनि । सकारात्मक दिशातर्फको यात्रालाई अग्रगमन र त्यसविपरीतको यात्रालाई प्रतिगमन भनिन्छ । तर एकथरी चर्का कम्युनिष्टहरूले अग्रगमन र प्रतिगमन शब्दको कलमी गरेर आफूअनुकुल व्याख्या गर्ने गरेका छन् । तिनको विचारमा कम्युनिष्ट पार्टीको एकदलीय अधिनायकवादतर्फको यात्रा अग्रगमन हो र, त्यसतर्फ अग्रसर नहुनु चाहिँ प्रतिगमन हो । वास्तवमा पूर्ण प्रजातान्त्रिक प्रणाली विस्थापित गर्दै एकदलीय अधिनायकवादप्राप्तिको दिशामा दौडनु प्रतिगमनतर्फको यात्रा हो, तर नेपालमा यही उल्टो यात्रालाई सकारात्मक रूपमा ग्रहण गरिँदैछ । र, आममानिसलाई समेत ग्रहण गर्न बाध्य तुल्याइँदै छ ।

प्रकृति संरक्षण हुने मार्गमा चल्नु अग्रगमन हो भने बिनासको बाटोमा लाग्नु प्रतिगमन । स्वच्छ हावामा श्वास लिन पाउनु, स्वदेशमै गुणस्तरीय शिक्षाप्राप्तिको अवसर हुनु, पढाइ पूरा भएपछि रोजगारीको सुनिश्चितता हुनु, आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति संरक्षित रहनु, देशको आन्तरिक एकता अभेद्य हुनु, कानूनको निरङ्कुशता ब्याप्त रहनु, स्वदेशी उत्पादन बढ्नु, देशमा न्यायीक वातावरण बन्नु, शिक्षा र स्वास्थ्य उपचारको अधिकारबाट कोही वञ्चित नहुनु, देशको सार्वभौमिकता उच्च सम्मानपूर्ण रहनु, आफ्नो मुलुकको पासपोर्टलाई सर्बत्र सम्मान मिल्नु, देशको अर्थतन्त्र सुदृढ बन्नु र समग्र प्रकृति र प्राणी प्रशन्न रहने स्थिति हामी सबैको चाहना हो, यो नै हाम्रो गन्तव्य हो र, यस्तै गन्तब्यतर्फको यात्रालाई अग्रगमन भनिन्छ । तर नेपालमा भने प्रतिगामी यात्रालाई ‘अग्रगमन’को रूपमा प्रचार गर्दैछन् र, हामी चुपचाप ताली बजाउँदै छौँ ।

पत्रकारिताका आफ्नै मूल्य, मान्यता र शिद्धान्त छन् । सामान्यतया आममानिसमा सूचना प्रवाह गर्नु नै पत्रकारिता हो । तर यसको शिद्धान्तले सामान्य या नियमित या ब्याप्त घटनालाई समाचारीय महत्व दिने गर्दैन । अपवादका या दुर्लभ या अस्वाभाविक घटना/सन्दर्भले समाचारीय महत्व राख्ने हुनाले यस्तै सामाग्री समाचारका रूपमा प्रस्तुत हुने गर्दछन् । कुनैबेला शासन/प्रशासनमा अनियमितता र भ्रष्टाचारका घटना बिरलै हुने गर्थे, त्यसैले भ्रष्टाचारका विषय समाचार बन्ने गर्दथे । त्यसैगरी, निर्माण सामाग्री र निर्माण कार्यको गुणस्तरमा कुनै कमी रहन्नथ्यो, त्यसैले कतै सडक कालोपत्रे भएको एक वर्षमै भत्कँदा या, विद्यूत्का पोल ढल्दा या, ढल-पानी सुचारु नहुँदा महत्वपूर्ण समाचारका रूपमा प्रस्तुत हुने गर्दथे । तर यो समयमा विगतमा अपवादी मानिएका घटना ब्याप्त हुँदै आएका छन् र, सामान्य घटना/सन्दर्भचाहिँ अब अपवाद बन्न पुगेका छन् । त्यसैले देशमा सडक कालोपत्र भएको तीन वर्षसम्म टिक्यो भने त्यो घटनाले चाहिँ समाचारीय महत्व पाउने स्थिति छ । कालोपत्रे भएको ६ महिनादेखि एक वर्षभित्र सडक भत्किएको छ भने त्यसलाई सामान्य घटना मानेर सञ्चारमाध्यममा स्थान दिनुपर्ने ठानिँदैन । कुनै सरकारी कार्यालयमा घुसखोरी चल्छ भने त्यो समाचार होइन, जहाँ घुसखोरी र भ्रष्टाचार हुँदैन, त्योचाहिँ समाचार हो । कुनै खास विषय सन्दर्भमा विदेशी चासो या हस्तक्षेप बढ्यो भने कुनैबेला त्यो समाचार बन्थ्यो, तर अब कहाँ र कुन निकाय बाह्य हस्तक्षेपबाट मूक्त रहन सकेको छ, त्यसलाई चाहिँ समाचार बनाउनुपर्ने अवस्था देशमा छ ।

कुनैपनि विषयमा धारणा बनाउनुअघि सत्यतथ्य बुझ्नुपर्छ/बुझिन्छ, यो संसारमै चलेको सामान्य नियम हो । तर नेपालीहरू कुनै पनि घटना या विषयबारे मनोविश्लेषणका आधारमा धारणा बनाउँछन् र, त्यही नै सत्य प्रमाणित होस् भन्ने चाहन्छन् । धारणा बन्न या कुनै विषयप्रति निष्कर्षमा पुग्न तीनवटा पक्षको महत्वपूर्ण तथा आधारभूत भूमिका रहन्छ । पहिलो- सही सूचना, दोस्रो- अध्ययन र, तेस्रो- अनुभव नै धारणा बन्ने आधार हो । तर हामी नेपाली मनचिन्ते धारणा बनाउने गर्छौं, सकारात्मक विवरणमा ठ्याम्मै अविश्वास गर्ने र नकारात्मकतामा रमाउने प्रवृत्ति नै नेपालीको संस्कारका रूपमा विकशित हुँदै गएको छ ।

हाम्रा कदम आफ्नैविरूद्ध लक्षित छन्, तर हामी क्रान्तिकारिता र अग्रगमनका नाममा आफैविरूद्धको यात्रामा अन्धाधुन्ध सामेल भएका छौँ । एकथान पेटसँग देश साट्ने प्रवृत्तिको बिस्तार यसरी गरिँदै छ कि नेपाल स्वतन्त्र र सार्वभौम मुलुक भएकै कारण हाम्रो बर्बादी भएको भन्ने निष्कर्षलाई कुनै नेताको औपचारिक भाषणका रूपमा प्रस्तुत हुन मात्र बाँकी छ । कतिपय खोटा पत्रकार तथा कथित अभियन्ताहरूले त त्यस्तो प्रस्तुति दिएर आम मानिसमा भ्रमको बिजारोपण गरि नै सकेका छन् ।

ट्रेड युनियानिज्मलाई विश्वमा आर्थिक सवलिकरणमा मुख्य बाधक मानिन्छ । तर हामीले ट्रेड युनियन स्थापना गरेर सामूहिक सौदाबाजी (collective bargaining) गर्न पाउने अवस्थालाई मौलिक अधिकारको रूपमा संविधानमै ब्यवस्था गरेर लगानी निरुत्साहित गरेका छौँ । विश्वका समृद्ध देशहरू कसरी बनेका छन् भन्ने बुझ्न यहाँ तिनको इतिहास पढ्ने गरिँदैन । न आफ्नो मौलिकता र इतिहास पढिन्छ, न अर्काको ! र, देश बनेन भनेर ज्यादा चिन्ता लिनेहरूको मति हेरियो भने सुल्टो भेटिन्न ।

राष्ट्रिय एकता र सामाजिक सद्भाव शान्ति, स्थिरता र समृद्धिको मूलाधार हो । तर हामी जात, भाषा, क्षेत्र, संस्कृति र धर्मका नाममा अन्तरविरोध र द्वन्द्व पैदा गर्ने प्रावधान संविधानमै समेट्छौँ र, देश बनेन भनेर औधि चिन्ता लिने गर्छौं । भौगोलिक आकारले सानो र विपन्न मुलुकहरूका निम्ति राष्ट्रिय पहिचान स्थापित गर्ने कार्य जहिले पनि एउटा चुनौतीका रूपमा रहेको हुन्छ । तर नेपाल विगत केही दशकयता राष्ट्रिय पहिचानका प्रयास छोडेर ब्यक्ति र अनेक समूहका पहिचान स्थापित गर्ने तुच्छ कार्यमा अल्मलिएको छ । पाँच दशकअघि नै नेपालले आफूलाई शान्तिक्षेत्रको रूपमा विधिवत राखिरहन विश्वका सबै मुलुकहरूको समर्थन प्राप्त गर्ने अभियान चलाएको थियो र, १२१ मुलुकले समर्थन पनि गरिसकेको हो, तर २०४७ सालमा हामीले प्रजातन्त्रसँग शान्तिक्षेत्र साट्यौँ, देशको सार्वभौमिक सर्वोच्चता र सुदृढ राष्ट्रियताको लक्ष्यसँग प्रजातन्त्र साट्नुको परिणामका रूपमा असैह्य बाह्य हस्तक्षेप हामीले यतिबेला भोगिरहेका छौँ ।

नेपाली राष्ट्रियता कमजोर र बाह्य हस्तक्षेप बलियो भयो, अब यसबाट मूक्ति खोजौं भनी अनुनय-विनय गर्दा देशसँग एकथान मोटरसाइकल, एउटा मरन्च्याँसे कार र एकप्रति रासनकार्ड साट्न आफूलाई तम्तयार राखिरहेको स्थितिमा हामी एक अर्कालाई देख्दैछौँ ।

नेपालको अस्तित्व जोगाइराख्न धेरै तत्वगुणले योगदान दिएको छ र, तीमध्ये एउटा अखण्डित सार्वभौमिकता पनि हो । हामीले सार्वभौमिकताको विभाजन गरेर अन्ततः देश विघटनको बाटो समातेका हौँ । युनियन एकतामा आधारित हुन्छ भने फेडरालिज्म विखण्डनमा । नेपाललाई अमेरिकाझैँ अलग-अलग स्वतन्त्र राज्यहरूलाई जोडेर युनियन बनाइएको होइन, त्यसैले नेपालको सङ्घीयतालाई युनियन नभनेर फेडरल भनिन्छ, यो नै देश विभाजनको प्रारम्भिक आधार हो । तर यो सत्यबारे जसरी र जतिपटक भने पनि निर्णायक तह नेपालको पक्षको कुरा सुन्नै नसक्नेगरी बहिरिएको महसूस हामीले गरेका छौँ ।

समग्रमा हाम्रा कदम आफ्नैविरूद्ध लक्षित छन्, तर हामी क्रान्तिकारिता र अग्रगमनका नाममा आफैविरूद्धको यात्रामा अन्धाधुन्ध सामेल भएका छौँ । एकथान पेटसँग देश साट्ने प्रवृत्तिको बिस्तार यसरी गरिँदै छ कि नेपाल स्वतन्त्र र सार्वभौम मुलुक भएकै कारण हाम्रो बर्बादी भएको भन्ने निष्कर्षलाई कुनै नेताको औपचारिक भाषणका रूपमा प्रस्तुत हुन मात्र बाँकी छ । कतिपय खोटा पत्रकार तथा कथित अभियन्ताहरूले त त्यस्तो प्रस्तुति दिएर आम मानिसमा भ्रमको बिजारोपण गरि नै सकेका छन् ।

यसरी हामी निरन्तर उल्टो यात्रामा छौँ । सुल्टिने सद्बुद्धि शीघ्र प्राप्तिको कामना गर्दछु, जय मातृभूमि !