चित्रकला र सङ्गीतमा अब्बल राजेन्द्र

चित्रकला र सङ्गीतमा अब्बल राजेन्द्र


ओझेलमा परेका कलाकार

  • सुरेन्द्र सुवेदी, काठमाडौं

‘कथा पढ्ने पाठकले त्यसको अर्थ बुझेजस्तै पेन्टिङले पनि भन्न खोजेको कुरा दर्शकलाई बुझाउन सक्नुपर्छ । जे हेर्‍यो त्यही देखिन्छ भन्नु ठीक होइन’- यो भनाइ हो, कलाकार राजेन्द्र रानामगरको । संगीतप्रतिको रुचीले २०४३ सालमा ललितकला क्याम्पस प्रवेश गरेका राना पछि गएर चित्रकारका रुपमा स्थापित भए । त्यही क्याम्पसबाट ०४८ मा म्युजिक र पेण्टिङ दुवै विषयमा स्नातक उतीर्ण गरे ।

म्युजिकलाई सौखको रुपमा लिएर काम गर्दै आएपनि पेण्टिङलाई भने व्यवसायिकता दिए । उनले २०४५ मा सहिद स्मारक स्कूलमा केही समय संगीत शिक्षकको रुपमा पनि काम गरे । त्यसपछि उनी चित्रकलातर्फ केन्द्रीत हुँदै ग्यालेक्सी, प्यारागनजस्ता धेरै स्कुलमा कला शिक्षकको रुपमा काम गरिसकेका राना सामाखुसी इङलिस बोर्डिङ स्कुलमा हालपनि अध्यापन गर्दै आएका छन् । कलाका विविध विधा र माध्यममा काम गर्ने राना विशेषगरी पानी चित्रमा रमाउने गरेका छन् । कुनै पनि विषय बस्तुमा रेखा, रंग-संयोजन, प्रकाश, छायाँ र दुरान्तरको सफल प्रस्तुतिले नै कलाकारलाई सफलता हात लाग्ने उनको बुझाइ छ ।

वरिष्ठ कलाकारहरू अमर चित्रकार, कृष्णगोपाल रञ्जितहरूबाट प्रभावित राना वात्सायनको पानी चित्र पनि मनपराउने गरेको बताउँछन् । कलाकार रानाले रेखाचित्रमा पनि लामो अनुभव बटुलेका छन् । हेर्दा सरल देखिए पनि रेखा चित्रलाई उनी गाह्रो विधाको रुपमा लिन्छन् । ‘रेखा चित्र तयार गर्दा समय र धैर्यताको आवश्यकता छ नै, अझ कथावस्तुको भावसँग मिल्नेगरी सवल रेखामार्फत त्यसलाई चित्राङ्कन गर्नु ज्यादै कठिन काम हो’, उनले घटना र विचारलाई भने ।

उनले सन् १९९२ मा युनिसेफको छात्रवृत्तिमा भारतको बम्बैबाट एनिमेसन (कार्टुन चलचित्र) सम्बन्धी तालिम पनि लिएका छन् । फोरमैलाको विषयमा बनाइएको नेपालकै पहिलो कार्टुन चलचित्र ‘ऋषि दाइ र साथीहरू’ मा काम गरेका छन् । यसमा अन्य ७ जना कलाकार पनि छन् । यस्तै रेन्छिन योञ्जनले बनाएको एनिमेसन फिल्म ‘नीदकी परि’ मा संलग्न ५ जना कलाकारमध्ये राना पनि एक हुन् । त्यसैगरी पेण्टासफ्ट कम्प्युटर इन्टिच्युट, माया एकेडेमी र यति डिजिटल एनिमेसन स्टुडियोमा कार्टुन चलचित्र सम्बन्धी प्रशिक्षण दिएका रानाले अन्य धेरै संघ संस्थामा आवद्ध व्यक्तिहरूलाई पनि सीप हस्तान्तरण गरिसकेका छन् ।

भक्तपुरको चाँगुनारायणमा प्रेमबहादुर र चिनीमैया रानामगरका जेठो सन्तानको रुपमा २०२४ मा जन्मिएका उनले काठमाडौंको दरबार हाइस्कूलबाट एसएलसीको अध्ययन पूरा गरेपछि ललितकला क्याम्पसतर्फ लागेका हुन् ।

विभिन्न ६ वटा सामूहिक चित्रकला प्रदर्शनीमा भाग लिइसकेका उनले विविध कला गतिविधिमा पनि संलग्न छन् । रुचीको रुपमा फोटोग्राफी र साहित्यमा कलम चलाउने तथा पत्रपत्रिकामा लेख रचना प्रकाशित पनि गर्दै आएका छन् । उनी साहित्यको गजल विधामा पनि सक्रिय छन् ।

उनले लेखेको र मन पराइएको गजल-

‘मन त मन नै हो, कहिले काहिँ जल्नु पर्छ
अरुलाई उज्याले दिन, आफै बल्नु पर्छ ।
अरुले केही गरेन भनेर के दोष दिनु र खै
राम्रो हुन त पहिले आफैंलाई बदल्नु पर्छ ।
म त माथि पुगेँ, मलाई कसैले भेट्दैन नसोच्नु
भर्‍याङ उही हो, बुझ्नुुहोस् त्यहीँबाट झर्नुपर्छ ।’

हाल प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्दै कम्प्युटरबाट एनिमेसन र डिजिटल पेण्टिङमा पनि उनी पोख्त भइसकेका छन् । उनी नेपाल कमर्स क्याम्पस, मिनभवनको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको अन्तर क्याम्पस लोकगीत प्रतियोगितामा प्रथम, द्वितीय र ललितकला क्याम्पसमा आयोजित सांगीतिक कार्यक्रममा लोकगीततर्फ तृतीय स्थान प्राप्त गरेको उनले स्मरण सुनाए ।

उनले नेपालकै पहिलो दैनिक पत्रिका गोरखापत्रमा पनि केही समय विज्ञापन शाखाअन्तर्गत ग्राफिक डिजाइनरको रुपमा काम गरिसकेका छन् । त्यहाँ राम्रो काम गर्न राजनीतिक नियुक्तिबाट आएका केही साथीहरूले नदिएपछि उनी राजीनामा दिएर गोरखापत्रबाट विदा भएको संझन्छन् । उनले देशान्तर र राष्ट्रवाणी साप्ताहिकमा पनि कार्टुन बनाएका थिए ।