‘गणतन्त्र’ र शासकीय शैली

‘गणतन्त्र’ र शासकीय शैली


यिनै पात्र र यस्तै व्यवस्था कायम रहे नेपाल भन्ने देशको अस्तित्व नै कायम नरहने ठहर सर्वसाधारणसमेतले गर्न थालेका छन् । फलस्वरुप अपत्यारिला पात्रहरूले पनि ‘जङ्गबहादुर’ बन्ने उद्घोष गरेको सुन्न थालिएको छ । कुशासनका कारण इमान्दारले आत्तिनुपर्ने, बेइमानहरू मैमत्त बन्ने कुसंस्कृति मौलाउँदा सिङ्गै नेपाल अवसादग्रस्त बन्न पुगेको छ ।

आफूलाई ‘किसानकी छोरी’ दाबी गर्दै संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिको जिम्मेवारी हातपार्न सफल ‘काङ्ग्रेस नेतृ’ आरजु राणा देउवाले बितेको सोमबार उक्त समितिको बैठक चलिरहँदा अप्रत्यासित एवम् अप्रिय परिस्थितिको सामना गर्नुपऱ्यो । पदप्राप्तिका लागि किसानकै छोरी बन्न तत्पर भएपनि आरजु अरुबेला हरदम सम्भ्रान्त या सामन्ती व्यवहारमै प्रस्तुत हुने गरेको उनसँग निकट रही व्यवहार गर्नेहरू सुनाउँछन् । समय-प्रवाहसँगै देश शाहकाल, राणाकाल, पञ्चायती शासन, बहुदलीय प्रजातन्त्र हुँदै कथित लोकतन्त्र र गणतन्त्रसम्म आइपुगेको छ । बोलीलाई नै कानुन मान्नुपर्ने समयको शासन वा शासकका कुरा वर्तमान पुस्ताका नागरिकको निम्ति कथासरह लाग्छ । अर्थात्, ‘को अभिजात्य को सर्वसाधारण, सबै समान हुन्’ भन्ने अहिलेका नागरिकको मन-मष्तिष्कमा ‘सेट’ भइसकेको छ, भलै व्यवहारमा समानताको सिद्धान्त लागु हुन नसकेको किन नहोस् !

बैठकमा आफ्नो भनाइ वा सुझाव प्रस्तुत गरिरहेका सांसद प्रेम सुवाल एकाएक भड्किन पुगे जब समितिका सभापति आरजुले उनलाई बीचमै रोक्न खोजिन् । हुन त आफ्नो भनाइ छोट्याएर प्रस्तुत हुनका लागि उनको आग्रह थियो, तर सम्बन्धित विषयमा अत्यन्त गम्भीर सुझाव प्रस्तुत गरिरहेका नेमकिपाबाट संसद्मा प्रतिनिधित्व गरेका सांसद सुवाललाई आरजुको शैली चित्त बुझेन । सम्भवतः विगतमा आरजुबाट भए-गरेका काम-कुरा वा उनका विवादास्पद अभिव्यक्ति र व्यवहारप्रति पनि सांसद सुवाल असन्तुष्ट र रुस्ट थिए, उनी भड्किएको अवस्थाले यस्तै सङ्केत गर्दथ्यो । उनले मुखै खोलेर भन्नसमेत भ्याए- ‘थाहा छ… हामीले आमजनता र जनजीविकाको कुरा उठाउँदा तपाईंहरूलाई बिझाउँछ ! तपाईंहरूलाई त सिंहदरबार कब्जा गरेर भ्रष्टाचार गर्न पाए पुगिहाल्छ… !’

वास्तवमा बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरूबीच छलफल चलिरहेको थियो, त्यहाँ सांसद सुवालले आफ्नो पालोमा जनजीविकासँग प्रत्यक्ष जोडिएका पानी, दूध, औषधि, तरकारीलगायत खाद्यवस्तुको स्वच्छताको बारेमा अत्यन्त गहन र महत्वपूर्ण कुरा राखिरहेका थिए । यस्तोमा ‘अधिनायकवादी शैली’ दर्शाउँदै आरजुले अवरोध गरेकी थिइन् । संसदीय समितिको बैठकमा सभापतिबाट सामन्ती ‘रोव-रवाफ’ प्रकट गरिएको सन्दर्भ पुराना बामपन्थी नेता रहेका सांसद सुवाललाई ‘डाइजेष्ट’ हुने सवाल नै थिएन । फलतः उनले जोडदार प्रतिवाद गरे र, ‘नाताकृपावाद’को बलमा रातारात राजनीतिमा उच्चस्थान हासिल गरेका आरजु-प्रवृत्तिमाथि ‘बीपीलाई त तपाईंहरूले बीपी प्रतिष्ठानमै बेचिदिनुभयो…’ भन्दै कडा ब्यङ्ग्य गरिदिए ।

सांसदद्वय आरजु राणा र प्रेम सुवालबीच चलेको ‘भनाभनी’को सन्दर्भलाई एउटा बिम्बको रूपमा प्रस्तुत गरिएको मात्र हो । वर्तमान राजनीतिको यथार्थ चित्र नै यही हो । बोलीमा त यतिबेला देशमा भुइँजनताको शासन कायम भएको भनिएको छ, तर शासक, शासन या शासकीय प्रवृत्तिचाहिँ भुइँजनताभन्दा कता हो कता आकासिएको प्रतीत हुन्छ । राणा तथा शाहकालिन शासकहरू त बरु अभिजातिय फुइँफाइँ प्रकट गरेपनि तल्लो तहका जनताको न्याय मार्न हिच्किचाउँथे भन्ने उतिबेलाका जान्ने-सुन्नेहरूको कथन सुनिन्छ । तर, आज सर्वसाधारण अझ सर्वहाराकै दिन ल्यायौँ भन्ने राजनीतिजीवीहरूमा शासकीय अहङ्कार चौपट्टै उकासिएको महसूस हुन्छ । शासनलाई नागरिकसँग जोड्न गाउँ-गाउँमै सिंहदरबार पुऱ्याइएको दम्भपूर्ण भाषण अहिलेका शासकहरू गर्दछन्, तर जनताका घरआँगनमा सिंहदरबार पुग्यो कि सिंहदरबारमा हुने भयानक भ्रष्टाचारका ‘फर्मुला’ पुगे भन्ने विषयमा बहस चल्न थालेको छ । ‘सुशासन’को निम्ति अहोरात्र तल्लीन नेतृत्व वर्गबाट भए-गरिएका भ्रष्टाचारका वास्तविक ‘कथा’ सुनेर तमाम नेपालीजन कहालिन थालेका छन् ।

नयाँ जमानामा सामन्ती प्रथाको प्रतिनिधित्व झल्किने पात्र तथा शासन-व्यवस्था उपयुक्त नहोला भन्ने ठानेर नयाँ व्यवस्था र नेतृत्वप्रति जबर्जस्ती आश्वस्त हुनखोज्ने नागरिक पनि यतिबेला फेरि भड्किन थालेका छन् । यिनै पात्र र यस्तै व्यवस्था कायम रहे नेपाल भन्ने देशको अस्तित्व नै कायम नरहनेसम्मको ठहरमा सर्वसाधारण नेपालीसमेत पुग्ने परिवेश पैदा भएको छ । फलस्वरुप अपत्यारिला पात्रहरूसमेत ‘जङ्गबहादुर’ बन्ने उद्घोष गर्न थालेका छन् । कुशासनका कारण जताततै अव्यवस्था र अस्तव्यस्तता बढेको प्रतीत हुँदैछ । इमान्दारले आत्तिनुपर्ने, बेइमानहरू मैमत्त बन्ने कुसंस्कृति मौलाउँदा सिङ्गै नेपाल अवसादग्रस्त बन्न पुगेको छ । यसका बाबजुद शासकहरूमा चेत पलाएको अनुभूति गर्न सकिएको छैन, यो नै यतिबेलाको विषद् विषय हो ।