टेक तामाङको साहित्यिक यात्रा : हतियार समाउने हातमा कलम

टेक तामाङको साहित्यिक यात्रा : हतियार समाउने हातमा कलम


✍ सुरेन्द्र सुवेदी, काठमाडौं

टेकबहादुर तामाङ अर्थात् बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) । उनको पहिचान योमात्र होइन । उनी वर्तमानमा चिनिएका गीतकार र कवि हुन् । उनका गीत र भजन सय बढीको सङ्ख्यामा बजारमा आइसकेका छन् अर्थात् रेकर्डेड छन् ।

भोजपुरको भोजपुर नगरपालिका-२, हेलौछामा जन्मिएका उनले स्थानीय कालिका निम्नमाध्यमिक विद्यालयबाट अध्ययन सुरु गरे । पुलचोकको इन्जिनियरिङ क्याम्पसमा ओभरसियर पढे । निजीबाट एमबीए गरे । २०५२ भदौमा नेपाल प्रहरीको निरीक्षक पदमा भर्ना भए । प्रहरीमा रहेर पनि निरन्तर लेखनमा व्यस्त रहने उनले लेखेको र गीत शिव परियारले गाएको ‘सानो ठूलो जातै छैन’ बोलको गीतले इमेज एवार्ड पाउन सफल भयो ।

भीम विराग आफैले लेखेका गीतमा मात्र सङ्गीत भर्ने सङ्गीतकारका रूपमा चिनिन्थे । तर, त्यस्ता सर्जकले समेत तामाङको आग्रहमा दुई वटा गीतमा संगीत भरे । उनले लेखेकामध्ये मेलिना राईले गाएको ‘नजिक यति भएर पनि, स्वर्ग सुख मिले पनि…’ बोलको गीत सङ्गीतप्रेमीमाझ लोकप्रिय छ, निकै मन पराइन्छ । पुराना गायक प्रदीपराज पाण्डेले पनि तामाङको ‘अल्झिरह्यो यादहरू…’ बोलको गीत गाएका छन् ।

तामाङले २०६७ मा ‘स्वदेश’, २०६९ मा ‘जीवनसाथी’, २०७० मा ‘नेपाल आमा’ र २०७५ मा ‘नाता’ एल्बम निकालिसकेका छन् । उनको ‘नाता’ नामक एल्वम महिला कलाकारले मात्र आवाज दिएको एल्वम हो । अर्थात्, महिला गायिकाको मात्र आवाज समेटिएको एल्वम प्रकाशित गरेर पृथक कीर्ति राखेका छन् उनले । सर्जक तामाङले आधुनिक गीत ७ सयबढी लेखेका छन् । ती गीत सङ्कलित पुस्तक प्रकाशन गर्ने उनको तयारी छ । यस्तै, १ सय ३२ वटा राष्ट्रिय गीतको सँगालो ‘नेपाल आमा’ हो भने १ सय २३ वटा भजनको सँगालो ‘भक्ति सागर’ हो ।

‘जन्मी-खेली हुर्कें आमा…’ बोलको गीत दीप श्रेष्ठले गाएका छन् । राजेशपायल राईले ‘मै खुकुरी अघिसरी..’ बोलको चर्चित गीत गाएका छन् । यी दुवै राष्ट्रिय गीत हुन् । उनको उत्कृष्ट सिर्जना ‘तिमीलाई माया गर्छु, अंगालोमा बेरिरहुँ…’ लोकप्रिय गायिका अन्जु पन्तले गाएकी छन् । उनले लेखेका गीत रामकृष्ण ढकालदेखि देशका चर्चित प्रायः सबै गायकले गाइसकेका छन् ।

२०२७ असोजमा बुबा भीमबहादुर र आमा फूलमायाका सन्तानका रूपमा जन्मिएका तामाङले बाल्यकालदेखि नै गीत र कविता लेख्न थालेका हुन् । पढाइमा अब्बल उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय भइरहन्थे । यसरी उत्कृष्ट हुँदा पाउने पुरस्कारमा साहित्यिक पुस्तकहरू हुन्थे । अनि, ती पुस्तकहरू पढ्दै जाँदा साहित्यतर्फ आकर्षण बढेको स्मरण गर्छन् । प्रहरीमा काम गर्दा एक समय आफूभन्दा सिनियर अधिकृतले ‘लेख्ने पेशा दुखिया हो, लेखेर काम छैन’ भनेपछि आफूलाई पनि ‘हो नै’ जस्तो लागेर एक दशक गीत, कविता, भजनहरू नलेखेको उनले घटना र विचारलाई सुनाए ।

उनी शान्ति स्थापनार्थ शान्ति सेनामा गएको बेला एक जुनियर प्रहरी अधिकृतले गीत, कविता र भजन लेख्न आग्रह गरेपछि फेरि लेखन सुरु भएको उनको भनाइ छ । अहिले पनि कार्यालयको समयबाहेक उनी निरन्तर लेखनमै ब्यस्तु रहन्छन् । ‘लेखनमै रस बस्यो, अब त नलेखी बस्न सकिन्न’- उनले भने ।