राममन्दिरको उद्घाटन र हिन्दु-गौरव !

राममन्दिरको उद्घाटन र हिन्दु-गौरव !


भगवान विष्णुको एक अवतार मानिने रामलाई व्यापकरूपमा हिन्दु धर्मावलम्बीद्वारा पूजा गर्ने गरिने तथ्य बोध हुँदाहुँदै दुराशयी भावना प्रकट गरिनुको तुक रहन्न । नेपालका सत्ताधारी दलका नेताहरूले राममन्दिर उद्घाटन एवम् प्राणप्रतिष्ठाको बहुचर्चित घटनालाई थाहै नपाएझैँ गरी उपेक्षाको नाटक गरे, जो तिनका कुण्ठा र ढोँगबाहेक केही होइन ।

उत्तर प्रदेश (भारत)को अयोध्यास्थित श्रीराम जन्मभूमि मन्दिरमा गत सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मर्यादापुरुष श्रीरामको बालस्वरुप मूर्ति अनावरण तथा प्राणप्रतिष्ठा गरिएको सन्दर्भ यतिबेला ब्यापक चर्चामा छ । मानव इतिहासकै एक अत्यन्त महत्वपूर्ण घटना रहेको अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा हुँदा नेपालमा पनि यसबारे चासो र प्रतिक्रियाहरू प्रकट गरिए । भगवान् रामको मन्दिर अयोध्यामा पाँच सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राणप्रतिष्ठा पाउनु सबै सनातनी हिन्दु धर्मावलम्बीका लागि गौरवको कुरा भएकैले विश्वभरका सनातनी हिन्दुबीच यसप्रति चासो प्रकट हुनु र खुशी व्यक्त गरिनु स्वभाविक छ ।

रामको जन्मस्थल अयोध्याको उक्त स्थलमा आजभन्दा ४ सय ९२ वर्षअघि सन् १५२८ मा मुगल साम्राज्यका संस्थापक जहीरुद्दीन मुहम्मद उर्फ बाबरले मस्जिद बनाउन लगाएका थिए । एउटा अत्यन्त महत्वपूर्ण हिन्दु मन्दिरलाई खण्डित गरेर मस्जिदको निर्माण गरिएको थियो । मुसलमान शासकको दबदबा चलेको बेला हिन्दु समुदायमाथि व्यापक दमन भएको, हिन्दु सनातनीका मठ-मन्दिरहरू ध्वस्त तुल्याइएको सन्दर्भले इतिहासका पुस्तकहरू भरिएका छन् । इतिहास नियाल्दा १६औँ शताब्दीदेखि नै अयोध्यामा रामको मन्दिर बनाउन चाहने व्यक्तिहरू सक्रिय रहेका थिए । सन् १८५० को दशकमा यो विवादले हिंसात्मक रूप लिएको थियो भने यसैका लागि भएको सङ्घर्षमा ज्याने गुमाउनेहरू प्रशस्तै छन् । पछिसम्म लगातार राममन्दिरको हकका लागि अदालत धाउनेहरू पनि देखिए । अझ महत्वपूर्ण र रोचक कुरा त यो छ कि भारतको सबैभन्दा विवादास्पद धार्मिकस्थलमध्ये एक तुल्याइएको अयोध्यामा राममन्दिर निर्माणकै लागि उठेको आन्दोलन या अभियानबाट भारतमा यतिबेला शासन गरिरहेको ‘भारतीय जनता पार्टी’ (भाजपा)को जन्म भएको हो । प्रकारान्तरले भन्नुपर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदय नै राममन्दिर निर्माणको आन्दोलनसँग जोडिएको छ ।

सन् १९८० को दशकमा स्थापना भएको भाजपाले राममन्दिर निर्माणको विषयलाई मुख्य मुद्दा नै बनाएपछि यो राष्ट्रिय विषय बन्न पुगेको थियो । भाजपाका तत्कालिक शीर्षनेता लालकृष्ण आडवाणीले १९८९-९० मा मन्दिर निर्माणको मुद्दा बोकेर देशभर रथ यात्रा गरेका थिए भने त्यसको दुई वर्षपछि हिन्दु समुदायद्वारा कथितरूपले अवैधानिक तवरमा निर्माण गरिएको मस्जिद भत्काएका थिए । र, सोही स्थानमा राममन्दिरको निर्माण र श्रीरामको बालस्वरुप मुर्तिको प्राणप्रतिष्ठा सम्पन्न भएको हो । यसबाट सहज अनुमान लगाउन सकिन्छ कि भारतीय जनताका लागि अयोध्यामा राममन्दिर बन्नु अनि श्री रामको मुर्तिमा प्राणप्रतिष्ठा गरिनु यतिबेला कति महत्वको विषय हो ! जुन अभियानले जन्माएको एक पात्र आज भारतलाई विश्वमञ्चमा अग्रभूमिकामा उभ्याउनमात्र सफल नभइ विश्वका अर्बौं हिन्दु सनातनीको एक आशाको केन्द्र बन्न सफल भएको छ । अयोध्यामा राममन्दिरको उद्घाटन एवम् श्रीरामको बालस्वरुप मुर्तिको प्राणप्रतिष्ठासँग हिन्दु सनातानीको अत्यधिक बाहुल्यता रहेको मुलुक नेपालले सरोकार राख्नु, उल्लास र खुशी प्रकट गर्नुको तात्पर्य यहीँनेर खुल्दछ ।

वास्तवमै अयोध्यामा राममन्दिर निर्माण भइ आस्था र सरोकार राख्ने सबैका लागि खुल्ला गरिएको सन्दर्भ सामान्य विषय होइन । अयोध्यामा श्री रामको मन्दिर ठड्याउने हिन्दु राष्ट्रवादीहरूको पाँच सय वर्ष वा त्योभन्दाअघिको संकल्प पूरा भएको अर्थमा मात्र यसलाई लिइनु हुँदैन । वर्तमान परिवेशमा हिन्दु या हिन्दुत्वलाई ‘नामेट’ नै तुल्याउने किसिमका प्रवृत्ति चौतर्फी बढिरहेको परिवेशमा भारतका प्रधानमन्त्री मोदीको अठोर र अगुवाइमा अयोध्यामा राममन्दिरको भव्य निर्माण एवम् प्राणप्रतिष्ठाले युगीन र ऐतिहासिक महत्व राख्दछ । तथापि, यस्तो महत्वको विषयलाई समेत उपेक्षाभाव दर्शाउने, महत्वहीन तुल्याउन खोज्ने र विवादमा पार्न खोज्ने प्रवृत्ति पनि देखिए । भारतमा सन् २०२४ मै हुन लागेको चुनावअगाडि मन्दिर निर्माण सम्पन्न गरेर भारतको सत्तारूढ दल (भाजपा)ले जश लिन खोजेको, निर्वाचनलाई प्रभावित पारेर भाजपाको र खासगरी मोदीको वर्चश्व कायम राख्न खोजेको आरोप लगाइएको छ भने यस प्रकरणले धर्मिक तथा सामाजिक विभेद बढाएको छ भन्नेसम्मका धारणा नेपालमा पनि केहीले प्रकट गरेका छन् । भगवान विष्णुको एक अवतार मानिने रामलाई व्यापकरूपमा हिन्दु धर्मावलम्बीद्वारा पूजा गर्ने गरिने तथ्य बोध हुँदाहुँदै यसप्रकारका दुराशयी भावना प्रकट गरिनुको तुक रहन्न । नेपालको सत्ताधारी दलका नेताहरू, आफूलाई ‘कम्युनिष्ट क्रान्तिकारी’ ठान्नेहरूले पनि राममन्दिर उद्घाटन एवम् प्राणप्रतिष्ठाको बहुचर्चित घटनालाई थाहै नपाएझैँ गरी उपेक्षाको नाटक गरे, जो तिनका कुण्ठा र ढोँगबाहेक केही होइन ।

त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको मान्यता घनिभूत रहेको सन्दर्भमा सो सम्बन्धका कारण अयोध्यामा उत्सव छाएका बेला नेपाल पनि उल्लासमय बनेको तथ्यलाई इन्कार गर्न सकिन्न । नरेन्द्र मोदीको प्रभाव विस्तारमा यस सन्दर्भले के-कति योगदान पुऱ्यायो/पुऱ्याएन भन्ने भन्दा पनि समस्त हिन्दु मतावलम्बीका लागि यो गौरवको विषय हो भन्न हिच्किचाइरहनु पर्दैन ।