‘देश दुखेको कथा’

‘देश दुखेको कथा’


✍ पुरुषोत्तम ढकाल

मलाई थाहा छ
स्वतन्त्रताको लडाइँमा
मैले मेरो जिन्दगी गुमाउनुको कथा
र, मलाई हेक्का छ
मैले लडेको लडाइँपछि
पराइको प्रिय गणतन्त्रमा
मेरो सन्तान र सखाले देश छोड्नुको मज्जा !
इतिहास क्रुर हुँदोरहेछ
मेरो त वर्तमान र भविष्य पनि
नेपाल देश नहुँदै फकल्याण्डमा मर्नेहरुको गाथा
सम्झेर ल्याउदा मुटु भक्कानिन्छ
त्यहि इतिहास दोहोरिन्छ
युक्रेनको सिमाछेउ
र, मेरो जाति जिउँदै मरिरहेको छ
भोकलाई भोजन खोज्नुको नियति
पराइ जित्ने युद्धमा फगत बेवारिसे लास
र, यो शृंखला फैलँदो छ विघटनको संघारमा सर्वत्र
मलाई जिन्दगीभरी जल्लाद राजाको एकता, र
कसाइ राणाहरुको दरबार हेर्ने आशीर्वाद नदेउ
हो, यो गणतन्त्रमा जिउँदै मरेको मेरो म
जन्मकैद भन्दा कठोर भएर होला
भागिरहेको छ मेरो सखा र सन्तान परदेश
सक्छौ मलाई मेरो देश देउ
भो… फेरि मलाई गणतन्त्र र राजतन्त्र नदेउ
पूरा हुँदैनहुने सपना बेच्ने भोका र दरिद्र नेता
र, रुप बेच्ने षेडषीको शरीर पनि नदेउ
रुप फेरिरहने सत्ताको फगत सौन्दर्य पनि नदेउ
हो, साँच्चै दिने हो भने
मलाई मेरो स्वतन्त्र भूगोलको नेपाल देउ
मेरो भाग्य म आफैले रोज्ने अविछिन्न नेपाल देउ !

  • लस-एन्जलस, अमेरिका