म पचास पुगेँ नि !

म पचास पुगेँ नि !


जब वृद्धअवस्था अनिवार्य छ भने नियमितरूपमा शारीरिक र मानसिक व्यायाम आरम्भ गर्नैपर्छ । सबै कुरामा अल्छी माने पनि आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका सवालमा अल्छी गर्नु हुँदैन ।
✍ डा. गोविन्दशरण उपाध्याय

उमेरले ५० काटेपछि मेरो मनमा अलिअलि मृत्यु र रोगको डर पसेको छ । पुराना कुराहरू याद आउन थालेका छन् । कहिले राम्रो गरेजस्तो त कहिले असफल भएजस्तो लाग्छ । एसो गाउँतिर फर्केर हेर्छु- आमा-बा बूढो हुनुभएको छ । उहाँहरूले घरको जिम्मेदारी छोड्नुभएको छ । उहाँहरू १५ वर्षअगाडिको जस्तो फुर्तिलो हुनुहुन्न । उहाँहरू हरेक पटक ‘तिमेरको पालो’ भन्न थाल्नुभएको छ । उहाँबाट क्रमशः सक्रियता सकिँदै छ ।

मैले अनुभव गरेको अचम्मको तत्थ्य- मैले आफुलाई पचास काट्न लागेको छु भन्ने तत्थ्यबाट टाढा राख्न चाहन्छु । किनकिन मलाई उमेरले पचास काटेको स्वीकार्य हुने छैन । मन बूढो भएको छैन तर शरीरले पचास काटेको सूचना दिएकै छ- चाँडो थाकेर र अलि बढी आराम खोजेर !

अर्कोतिर सँगैका साथीहरू पनि ‘अब बूढो भइयो’ भन्न थालेका छन् । उनीहरूको अनुहारमा चाउरी देखिन थालेको छ । साथै, उनीहरू त्यो गाउँका ती पदहरूमा छन्, जुन पदमा तिनका र मेरा आमावुवा हुने गर्थे । मैले मेरो वुवालाई ती पदहरूमा रहँदा धेरै जिम्मेदारीहरू उठाएको देखेको थिएँ । आज ती साथीहरू तिनै पदमा छन् । कुनै बखत हाम्रा आमाबुवा ती पदमा रहेर सबैको सहयोग गर्थे । आज तिनका सन्तानहरूले त्यही गरिरहेका छन् ।

मैले देखेँ, मेरा समकालीन ‘केटाकेटी’हरू गाउँका मुख्य र खास मान्छेमा रुपान्तरित भएका छन् । मेरोझैँ उनीहरूका कपाल पनि फुल्न थालेका छन् । उनीहरू क्रमशः गाउँका मूल मान्छे बन्दै छन् । त्यतिमात्र होइन, नाता-सम्बन्धहरू पनि फेरिएका छन् । अब हामी सबै ‘बा, अङ्कल, आन्टी, काकाकाकी’मा रुपान्तरित भइसकेका छौँ ।

आमा-बा सक्रिय भएको बेलामा म घर जाँदा अहिलेका सबै साथीहरू ‘पण्डितको घरमा पण्डितको छोरासँग’ भेट्न आउँथे । अहिले उनीहरू डा. गोविन्दसँग भेट्न आउँछन् र, बाआमाको हालखबर सोध्छन् । उनीहरूले ‘मसँग सीधै’ व्यवहार गर्छन् । हिजो मेरो पहिचान बा-आमासँग जोडिएको थियो । आज मेरो पहिचानसँग बा-आमा जोडिनुहुन्छ । यी सबैले म बूढो हुँदै गरेको सूचना दिन्छन् ।

विश्वास गर्नुस्, मैले मेरो शरीरलाई धेरै माया गर्छु । यो उमेरमा शरीरले अलिकति ‘आराम’ खोजेको अनुभव गर्न थालेको छु । शारीरिक काम गर्ने क्षमतामा कमी भएको अनुभव गर्दैछु । अर्कोतिर, मानसिक रूपमा अलि बढी नै थकान अनुभव गर्न थालेको छु । तीन महिना अगाडि +१.५ को चस्मा लगाएपछि शरीरको परिवर्तनलाई मान्न बाध्य भएको छु ।

म सकारात्मक चिन्तन भएको मान्छे हुँ । तर छोराछोरीको भविष्यको चिन्ता लाग्छ । घरव्यवहारको पीडाबोध हुन्छ । सरकार अस्थिर हुँदा होस् वा रूसले युक्रेनमा आक्रमण गर्दा होस् वा दिनहुँ मिडियामा सुनिने नकारात्मक समाचार सबैले मेरो भित्रि मनमा असुरक्षाको भाव प्रकट गर्छन् । तर केटाकेटी, पत्नी, साथीहरूका अगाडि ‘झुकेर’ कुरा गर्न मन लाग्दैन । सुशासन र कुसाशनको समाचारले मेरो बेडरूमसम्म सुरक्षित छैन । सबैले मेरो मनमा असुरक्षा उत्पन्न गर्छन् र मेरो वृद्धावस्था खराव हुने हो कि भन्ने चिन्ता लाग्छ ।

म चिन्ता गर्ने मान्छे होइन । विश्वास गर्नुस्, मैले पचासमा टेकेपछि चिन्तन होइन चिन्ता गर्न थालेको छु । तर धेरैचाहिँ होइन । छोराछोरीको उच्चशिक्षाको चिन्ता, आमाबुबाको स्वास्थ्यको चिन्ता, सामाजिक प्रतिष्ठा र मानको चिन्ता र सबैभन्दा बढी चिन्ताचाहिँ ६३ वर्षपछि के गर्ने होला भन्ने आउँदै छ । तर त्यति बलियो छैन । सायद, गीता पढेकोले होला ‘जे होला ठीकै होला’ भन्दै अगाडी बढिरहेको छु ।

मलाई थाहा छ चिन्ता र चितामध्ये चिताले एकै पटक खरानी पार्छ, चिन्ताले अलिअलि गरेर शरीर र मनलाई कमजोर बनाउँछ । पचास मैले गुनासो पोख्ने ठाउँ गुमाएको छु । मसँग सबै गुनासो गर्नेमात्र आउँछन् । मैले आस गर्ने, भरोस गर्ने, गुहार माग्ने ठाउँ वा व्यक्ति छैनन् । मसँग आस गर्ने, गुहार माग्ने र भरोसा माग्नेहरूहरूको लाइन छ । सायद, यो उमेर गुनासो सुन्ने रहेछ । सहयोग गर्ने रहेछ । दिने रहेछ र एकान्तमा रून मन लागेर पनि रून नसक्ने रहेछ । शरीर दुख्नु र पेट बिग्रनु सायद यस उमेरमा सामान्य कुरा रहेछन् । तर नियमित स्वास्थ्य जाँच गराउनु पर्छ । यो कुरा मलाई थाहा छ । तर मैले स्वास्थ्य जाँच गराएको छैन । कुनै ठूलो रोग लागेको रिपोर्ट आउँछ कि भन्ने डर लाग्छ ।

मैले १७ वर्षको उमेरदेखि निरन्तर आसनहरू गर्छु । गुरूले दिएको गायत्री मन्त्र एकान्तमा बसेर जप्दा ‘मेडीटेसन’ हुन्छ । प्राणायाम गर्छु । केही बेर भागवत र गीता तथा वेद पाठ गर्छु । बडो आत्मविश्वास मिल्छ । कामको लोड कम गर्ने प्रयत्न गर्छु । जिउ र मन चाँडो थाक्छ । सकेसम्म १० बजेभित्र नै विस्तरामा निदाउँछु । घरमै उफ्रेर भए पनि २००० पाइला पुऱ्याउँछु । पहिले भन्दा चिया-कफी कम गरेको छु ।

घरमा सुगा पालेकी छ छोरीले । ती सुगाहरूसँग खेल्दा मन खुसी हुन्छ । बूढीले पनि साथ दिन्छिन् । मनमा धेरै कमाउने विचार छैन । बरू, समयले साथ दिए तीर्थयात्रामा जाने, देश–विदेश घुम्ने गरेको छु । कम बोल्ने र आदेश नदिने व्यवहारको अभ्यास गर्दै छु । एउटा शिक्षकले धेरै पढ्नु पर्दो रहेछ । तर मेरो पढ्ने/लेख्ने इनर्जी पनि कम भएको छ । मभित्र काम ‘पर सार्ने’ व्यवहारको विकास भएको छु । सायद शरीर र मनले आराम गर्न खोजेर होला ।

यो मेरो कुरामात्र होइन । ५० वर्षको उमेर पार गरेर ७० वर्ष नपुगेकाहरूको शारीरिक तथा मानसिक परिवर्तन हुन्छ नै । हर्मोनहरू बीच भयानक छिनाझपटी हुन्छ । यसले गर्दा मन देख्ने, रीस उठ्ने, इर्ष्या लाग्ने तथा भावनाहरू आहत सजिलै हुन्छन् । विचारा विवेकलाई यी सबै कुरालाई तह लगाउन निकै श्रम गर्नुपर्छ । विवेकको प्रयोग गर्नेहरू अलिअलि फरासिला हुन्छन् । केवल भावनाको प्रयोग गर्नेहरू बढी दुःखी हुन्छन् ।

जब वृद्धअवस्था अनिवार्य छ भने नियमितरूपमा शारीरिक र मानसिक व्यायाम आरम्भ गर्नैपर्छ । सबै कुरामा अल्छी माने पनि आफ्नो शारीरिक र मानसिक स्वास्थ्यका सवालमा अल्छी गर्नु हुँदैन । मैले जीवनको मन्त्रका रूपमा बेलुका चाँडो सुत्ने र बिहान चाँडो उठ्ने सवालमा कत्ति पनि अल्छी गर्दिनँ ।

मैले आफ्नो कुरा लेखेको हो । यी कुरामा केही विज्ञान र केही अनुभवको सँगालो छ । तपाईं पनि यदि पचासे बाटोमा हिँड्न थाल्नुभएको छ भने विचार साटासाट गर्नु राम्रै हुनेछ । तपाईं र म भाग्यमानी छौं कि प्रकृतिसँग सहकार्य र युद्ध गर्दै यो शरीरलाई पचास वर्षसम्म सुरक्षित राख्न समर्थ भयौँ । हामी सबैले वेदका वाक्य ‘जीवेम शरद शतम् अर्थात् हामीले १०० वटा शरद ऋतु भोग्नैपर्छ’ भन्ने सङ्कल्पसँग अगाडी बढौँ । आउने हरेक अवरोधहरूले मन र शरीरलाई अझै सहनशील र सङ्घर्षशील बनाउने छन् । मेरो सङ्कल्प कमजोर छैन ।