नमागिएको तीन सुझाव पूर्व श्री ५ लाई !

नमागिएको तीन सुझाव पूर्व श्री ५ लाई !


दुई दशकअघि गणतन्त्र घोषणा हुने परिस्थिति निर्माण गरिदिएकोले अभिनन्दन गरिएको भनौँ भने यस्ता कार्यक्रम सोह्र वर्षअघि (२०६५ साल तिर) नै आयोजना गरिनुपर्ने थियो । अर्कोतिर मौसुफले गणतन्त्रलाई औपचारिक रूपमा स्वागत र स्वीकार गरिएको अवस्था पनि छैन । त्यसैले यो समयमा उहाँलाई समारोहहरूको आयोजना गरेर पटक–पटक अभिनन्दन गरिनुको कारण कुनै कोणबाट हेर्दा पनि उचित रहेको पुष्टि हुन सक्दैन ।
✍ देवप्रकाश त्रिपाठी

नमागिएको सुझाव प्रस्तुत गरेर कुनैपनि बुद्धिमान ब्यक्ति आफूलाई होच्याउन चाहँदैनन् । जसलाई जसको सुझावको आवश्यकता नै महसूस भएको छैन, तिनलाई सल्लाह दिनु भनेको आफैलाई हास्यपात्र बनाउनु हो भन्ने आम जानकारीको विषय हो । तथापि यहाँ पूर्व राष्ट्रप्रमुख तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई सम्भवतः अन्तिम पटक सुझाव दिने धृष्टता गरिएको छ । एउटा अकल्पनीय पीडादायी घटनाले देशको इतिहास बदलिदिएपछि विक्रम सम्वत २०५८ सालमा राजाको भूमिका निर्वाह गर्न बाध्य पूर्व श्री ५ ज्ञानेन्द्रसँग पटक-पटक भएका दर्शनभेटहरूमा तथ्य, कारण र तर्कसहित भन्ने गरिन्थ्यो- ‘सरकार, टेकओभर गर्ने इच्छा परित्याग गरिबक्सियोस्, यदि मौसुफले राज्यसत्ता ग्रहण गरिबक्सने हो भने देश सोझै गणतन्त्रमा जानेछ । नेपाली समाज पूर्णरूपले पार्टीकरण भइसकेको छ, यहाँ जनता धेरै नै कमजोर र पार्टी कार्यकर्ताहरू बलवान बनेका छन्, त्यसैले सबैका कार्यकर्ता सडकमा आउँदा जनताकै भिड प्रकट भएको सन्देश प्रवाह हुन्छ र, यिनका पछाडि विदेशी शक्ति जो नेपालको स्वाभिमान र एकताप्रति वैरभाव राख्छन् ती उभिनेछन् । उनीहरूको सम्पूर्ण प्रयास गणतन्त्रसम्म पुऱ्याउने हुनेछ । त्यसैले परचक्रीलाई खेल्ने ठाउँ नदिउँ, शासनसत्ता हातमा लिने सोच नराखौँ । ‘हाम्रा सुझावलाई सुन्ने र सम्भवतः उडाउने काम त्यसबेला भयो । गणतन्त्र घोषणा भएको ६ महिनापछि मौसुफले दर्शनभेटका निम्ति आमन्त्रण दिनुभएको थियो र, त्यसबेला उहाँको पहिलो वाक्य थियो- ‘देव, तपाईंले भनेको सही रहेछ ।’

त्यसअघि २०५८ सालमा दर्शन मिल्दा एउटा सन्दर्भमा उहाँले माओवादीलाई जनस्तरमा रहेको राष्ट्रवादी शक्ति भन्नुभएको थियो, मैले तल्लो तहका कार्यकर्तामा देशभक्ति भएपनि नेतृत्वमा बाह्यशक्तिबाट परिचालित अतिमहत्वाकाङ्क्षीहरू छन्, त्यसैले यिनलाई राष्ट्रवादी या देशभक्त मान्न सकिँदैन भन्ने राय प्रस्तुत गरेको थिएँ । मेरो यो भनाईलाई पनि उहाँले गम्भीरतापूर्वक लिनुभएको छैन भन्ने मलाई थाहा थियो । अब म यहाँ जे-जस्तो सुझाव प्रस्तुत गर्दैछु, यसलाई पनि उहाँले गम्भीरतापूर्वक लिनुहुने विश्वास मैले गरेको छैन । तथापि, तथ्य र सत्यसँग प्रेम गर्ने मानिस मौन बस्नु गलत हुने ठानेर मात्र यहाँ केही हरफहरू मौसुफका नाममा प्रस्तुत गर्न खोजिएको छ । मौसुफसँग दर्शनभेटको अवसर मिलेको भए ‘यी’ सुझाव उहाँकै मात्र जानकारीमा रहन सक्थे, त्यस्तो मौका पर्खंदा समय गुज्रने भएकोले लेखमार्फत सार्वजनिक रूपमै सुझाव प्रस्तुत गर्न बाध्य भएको छु । (मेरा यी हरफलाई दर्शनभेट मिल्न छोडेको गुनासोका रूपमा नबुझिदिनुहुन हार्दिक अनुरोध गर्दछु)

(क) २०५८ सालमा श्री ५ महाराजाधिराज घोषित भएर गद्दीनशीन होइबक्सेको केही कालपछि राजालाई देशब्यापी अभिनन्दनको लहर चल्यो, चलाइयो । मौसुफबाट कुनै महान् कार्य भएको अवस्थामा उहाँप्रति उच्च सम्मान दर्शाउनका निम्ति हुनुपर्ने अभिनन्दन समारोहको आयोजना देशब्यापी हुन थालेको थियो । राजाका रूपमा मौसुफको भूमिका देख्न बाँकी नै भएपनि त्यसबेलाको अभिनन्दनलाई राजनीतिक रूपले अर्थपूर्ण मानियो । प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीप्रति असहमति जनाउँदै नेपालविरूद्धको हिंसात्मक सङ्घर्षमा जुटेका माओवादीको त्रास ब्याप्त भएर कुनैपनि राजनीतिक दलका नेता-कार्यकर्ता गाउँ जान नसकेका बेला राजाले गाउँ-गाउँ चाहारेर आफ्नो साहसी छवि र लोकप्रियताको प्रमाण प्रस्तुत गर्नुभएको अर्थ लगाइयो त्यसबेला । अभिनन्दन त समारोहको शीर्षक मात्र ठानिएको हो । एकाथरीले चाहिँ अधिराजकुमारको हैसियतमा रहेका ब्यक्ति महाराजाधिराज बनेपछि उहाँलाई उच्च सम्मान दिँदै अभिनन्दन गरिएको अर्थ पनि लगाएका थिए । त्यसबेलाको अभिनन्दनलाई जुन अर्थमा बुझेपनि यो बेलाको अभिनन्दन केका निम्ति भन्ने प्रश्न र जिज्ञासा उत्पन्न भएको छ । दुई दशकअघि गणतन्त्र घोषणा हुने परिस्थिति निर्माण गरिदिएकोले अभिनन्दन गरिएको भनौँ भने यस्ता कार्यक्रम सोह्र वर्षअघि (२०६५ साल तिर) नै आयोजना गरिनुपर्ने थियो । अर्कोतिर मौसुफले गणतन्त्रलाई औपचारिक रूपमा स्वागत र स्वीकार गरिएको अवस्था पनि छैन । त्यसैले यो समयमा उहाँलाई समारोहहरूको आयोजना गरेर पटक-पटक अभिनन्दन गरिनुको कारण कुनै कोणबाट हेर्दा पनि उचित रहेको पुष्टि हुन सक्दैन । यदि जनतामा पुग्ने एउटा कुनै शीर्षक आवश्यक भएर यस्तो गरिएको हो भने पनि यो शीर्षक उचित हुँदै होइन । ‘जनतासँग पूर्व श्री ५’ या ‘घरघरमा पूर्व श्री ५’ जस्ता शीर्षक चयन गरेर पनि कार्यक्रमहरूको आयोजना गर्न सकिन्थ्यो । राजतन्त्रीय नेपाली परम्परा विघटन भएको पन्ध्र वर्ष बितिसक्दा पनि राजसंस्था पुनर्बहालीको राष्ट्रिय परिस्थिति निर्माण गर्न नसकेको र, संसद्मा रहेका प्रमुख भनिने कुनैपनि दलको विश्वास आर्जन गर्न सफल नरहेको यथार्थलाई सम्मानजनक कार्य भएको ठानेर अभिनन्दन रचिएको हो भने यो भन्दा हास्यास्पद कार्यक्रम मुन्द्रेको कमेडी क्लबले नै गरिरहेको छ भनेर मान्नुपर्ने हुन्छ । परास्त संस्था या ब्यक्तिलाई पराजयकै अवस्थामा अभिनन्दन गरिन्छ भने यस्ता घटनालाई विश्वमै दुर्लभ मान्नुपर्ने हुन्छ, त्यसैले समारोहको शीर्षकमा पुनर्विचार गरियोस् ।

पूर्व श्री ५ र आफूलाई राजसंस्था पक्षधर दाबी गर्ने अधिकाङ्श ब्यक्तिहरूको क्रियाकलाप दलहरूको सशक्त विकल्प बन्ने अभिप्रायबाट प्रेरित छ । जनतालाई राजसंस्थाको पक्षधर र विरोधी भनेर कित्ता छुट्ट्याउने कार्यले सबैभन्दा ठूलो क्षति पुऱ्याउने भनेकै पूर्व श्री ५ अर्थात् राजालाई हो ।

(ख) विश्वमा एकपटक विस्थापित भएका राजसंस्थाहरू कहिल्यै पुनस्र्थापित नभएका अनेकौँ उदाहरण छन् भने पुनस्र्थापित भएका आधी दर्जन भएपनि दृष्टान्त छन् । विश्वकै समृद्ध र शक्तिशाली मानिएको इङ्ल्याण्डमा राजाको मनपरि बढेको निष्कर्ष निकाल्दै सन् १६४९ मा राजतन्त्रलाई विस्थापित गरि गणतन्त्र स्थापना गरिएको थियो । सेनापति ओलिवर क्रमबेलको नेतृत्वमा गणतन्त्र कार्यान्वयनमा ल्याइएको १२ वर्ष नपुग्दै बेलायतबासीहरूलाई गणतन्त्र घाँटिसम्म आइसकेको थियो । राजतन्त्र खराब भन्दै गणतन्त्र स्थापना गर्न हौसिएका बेलायती जनता एक दशकमै गणतन्त्र झन् खराब भएको निष्कर्षमा पुगे र, क्रमबेलको मृत्युपश्चात् उनीहरूले राजसंस्था पुनर्बहाली गर्ने निर्णय लिए । प्रवासमा रहेका चार्ल्स प्रथमका छोरा चार्ल्स द्वितीयलाई संसद्को अधीनमा रहने शर्तनामा गराइ राजा घोषणा गरिएको थियो, त्यसपछि बेलायतले राजतन्त्रात्मक प्रणालीको विकल्प अहिलेसम्म खोजेको छैन । स्पेनमा पनि तीन-तीन पटक गणतन्त्रको अभ्यास भएको हो । तेस्रोपटक गरिएको गणतान्त्रिक अभ्यास पनि असफल भएपछि सन् १९७५ मा हुआँ कार्लोसलाई राजा बनाएर स्पेनको गणतन्त्रात्मक प्रणालीलाई बिदा गरिएको थियो । कम्बोडियामा पनि गणतन्त्रात्मक प्रणाली उपयुक्त नरहेको ठहर भएपछि सन् १९९३ मा नरोद्दम सिंहानुकलाई राजा बनाएर राजसंस्था पुनर्बहाली गरिएको थियो । त्यसैले एकपटक राजतन्त्र विस्थापित हुँदैमा त्यो पुनर्बहाली नहुने, पुनर्बहाली गर्न नमिल्ने या नसकिने भन्ने होइन । तर त्यसनिम्ति परिस्थिति र मनस्थिति तदनुरुप अनुकुल बन्नुपर्छ ।

राजा आफै अघि सरेर, राजाले अभिनन्दन ग्रहण गर्दै हिँडेर या राजाले कुनै समूह खडा गरेर या आन्दोलन रचेर विश्वमा कहिँ–कतै पनि राजसंस्था पुनर्बहाली भएका छैनन् । राजाको शक्ति मौनतामा हुन्छ, बोलेकै भरमा कोही राजा हुने भएको भए यतिबेला कुनै रामप्रसाद, कुनै पुण्य या मुकुन्दे आदिलाई नेपालीले राजा मानिसकेका हुन्थे । राजाको शक्ति देशको एकता र सर्वस्वीकार्यतामा निहित हुन्छ, विभाजन र अनेकतामा होइन । हो, राजतन्त्रकालमा भन्दा गणतन्त्रकालमा जनताले आहत महसूस गरेका छन् ! जनताको दैनिक जीवन थप कष्टकर बन्दै गएको छ । राष्ट्रियता र राष्ट्रिय एकता दुर्बल बनेको छ । असन्तुष्टि निराशामा बदलिएको छ र, देशबाट जनता पलायन हुने क्रममा तीव्रता आएको छ । बाह्य हस्तक्षेपलाई राजनीतिक र प्रशासनिक नेतृत्वले नै स्वागत सत्कार गरिरहेकोले नेपालीत्वमा भारी गिरावट आएको छ । राजनीतिक दल र प्रशासनप्रति आम मानिसमा घृणाभाव बढ्दो छ । यस्तो स्थितिमा मानिसमा विकल्प खोजीको भाव पैदा हुनु स्वभाविक हो । गणतन्त्र घोषणा भएयताको स्थिति राजतन्त्रकालीन भन्दा राम्रो बनेको भए विकल्पको खोजी नहुनसक्थ्यो र, दलको विकल्पमा कुनै दल पैदा भएर सकारात्मक सन्देश र विश्वास दिलाउन सकेको भएपनि मानिसहरू राजसंस्थाको स्मरण गर्ने अवस्थामा हुने थिएनन् । राजनीतिकर्मी र प्रशासनजीबीप्रतिको घृणा, अविश्वास र अनास्थाले मानिसमा राजाकालीन समयलाई स्मरण गराएको हो । त्यसैले वर्तमान परिस्थिति राजतन्त्रप्रतिको आकर्षणको परिणाम नभएर राजनीतिकर्मी, दल र प्रशासनजीवीप्रतिको असन्तुष्टि र अविश्वासको प्रतिक्रिया मात्र भएको बुझ्नु पर्दछ । परिस्थितिलाई जस्ताको त्यस्तै नबुझ्दा आफैलाई धोखा हुनसक्ने भएकोले यसमा मौसुफको ध्यान पुग्न आवश्यक देखिन्छ ।

(ग) पूर्व श्री ५ र आफूलाई राजसंस्था पक्षधर दाबी गर्ने अधिकाङ्श ब्यक्तिहरूको क्रियाकलाप दलहरूको सशक्त विकल्प बन्ने अभिप्रायबाट प्रेरित छ । जनतालाई राजसंस्थाको पक्षधर र विरोधी भनेर कित्ता छुट्ट्याउने कार्यले सबैभन्दा ठूलो क्षति पुऱ्याउने भनेकै पूर्व श्री ५ अर्थात् राजालाई हो । राजा भनेको एउटा निष्पक्ष, विचार-समूहभन्दा माथिको अभिभावकीय संस्था हो र हुनुपर्छ । राजा कुनै विचार-समूहको प्रतिबिम्ब होइन, त्यसैले मार्क्सवाद, लेनिनवाद, माओवाद, गान्धिवाद, मेकियाभेल्लीवाद, हिगलवाद , काण्टवाद भने जस्तै राजावाद भन्ने हुँदैन । हिजो देशमा प्रजातन्त्र स्थापना भएपछि (२०४६-२०५९ सम्मको काल) राजाको निरङ्कुशताको वकालत गर्ने पञ्चहरू, गणतन्त्र र साम्यवाद समेतको गफ दिने कम्युनिष्टहरू र, राजाको शासन विरूद्ध हिंसात्मक सङ्घर्ष गर्ने काङ्ग्रेस लगायतले राजालाई स्वीकार गरेका थिए । दाम चढाएर राजाको दर्शन गर्न सबैथरी नेता जहिले पनि तम्तयार थिए । यसरी सबैले मानेका कारण राजा र राजसंस्था एउटा शक्तिका रूपमा थियो । एकथरीको मात्र भएर कोही राजा बन्न सक्दैनन् र, त्यसरी राजा बन्न खोज्नु पनि हुँदैन । राजावादी र अन्यवादीबीच कित्ता छुट्ट्याउने क्रियाकलाप गरेर नेपालमा राजसंस्था कहिल्यै पुनर्स्थापित हुन नसक्ने या कदाचित भैहालेछ भनेपनि अल्पकालका निमित्त मात्र हुनसक्ने र, त्यसपछि हुने सङ्घर्षले राजपरिवारलाई रसियाली राजा निकोलसको नियति भोग्न बाध्य तुल्याउने सम्भावनालाई नकार्न सकिँदैन ।

मौसुफले आफूलाई दलहरूको विकल्पका रूपमा प्रस्तुत गरेर एउटा समूहको नेता बन्न खोज्नुभएको हो भने यतिबेला निर्वाह भैरहेको भूमिका राम्रो छ, अब निर्वाचन आयोगमा आफै अध्यक्ष बनेर दल खोल्न हिच्किचाउनु पर्दैन । बरू कुनै कालखण्डमा राजसंस्था पुनर्स्थापना हुने परिस्थिति र मनस्थिति बनिहाल्यो भने त्यसनिम्ति नाति हृदयेन्द्रलाई आफ्ना राजनीतिक गतिविधिबाट टाढा राखिदिनुपर्छ, उनलाई राजकीय चरित्र र ब्यवहारमै केन्द्रीत गरी आफूमात्र दल खडा गरेर राजनीतिमा आउनु उत्तम हुने देखिन्छ ।

त्यसैले देशमा राजावादी र गैरराजावादी कित्ता छुट्टीने या छुट्ट्याउने क्रियाकलापमा तत्काल पूर्णबिराम लगाउन पूर्व श्री ५ ले विलम्ब गर्नु हुँदैन । तर मौसुफले आफूलाई दलहरूको विकल्पका रूपमा प्रस्तुत गरेर एउटा समूहको नेता बन्न खोज्नुभएको हो भने यतिबेला निर्वाह भैरहेको भूमिका राम्रो छ, अब निर्वाचन आयोगमा आफै अध्यक्ष बनेर दल खोल्न हिच्किचाउनु पर्दैन । बरू कुनै कालखण्डमा राजसंस्था पुनर्स्थापना हुने परिस्थिति र मनस्थिति बनिहाल्यो भने त्यसनिम्ति नाति हृदयेन्द्रलाई आफ्ना राजनीतिक गतिविधिबाट टाढा राखिदिनुपर्छ, उनलाई राजकीय चरीत्र र ब्यवहारमै केन्द्रीत गरी आफूमात्र दल खडा गरेर राजनीतिमा आउनु उत्तम हुने देखिन्छ । स्वयम् राजा आफू नेता बन्न अग्रसर भएपछि राजाका नाममा राजनीतिक दुकानदारी चलाउनेहरूको धन्दा समाप्त हुनेछ र, जनता तिनको भ्रमबाट मूक्त हुनेछन् । आन्दोलन या सङ्घर्षले कसैलाई नेता बनाउन सक्छ, राजा होइन । त्यसैले पूर्व श्री ५ ले सङ्घर्षको होइन समन्वयको लागि बिहङ्गम तयारीको समय आएको छ । देशको अस्तित्व सङ्कटमा आएको र त्यसको रक्षाको एजेण्डासहित हरेक नेताको घर-घरमा राजा पुग्नुपऱ्यो । देशको अस्तित्वको अगाडि इगो निस्तेज गर्नसक्ने मानिस मात्र राजा हुने हो, पृथ्वीनारायण शाहले बिसे नगर्चिहरूको घर जानुको अर्थ खोजियो भने गहिरो रहस्य उद्घाटित हुन सक्छ । इगो राखेर बसिरहेका भए देशको एकीकरण गर्न उनी कहिल्यै सफल हुन सक्ने थिएनन् ।

यतिबेला राष्ट्रिय अस्तित्व सङ्टमा परेको छ, अमूर्त जनतातिर जाँदा हिजो राजसत्ता जोगिएन, नेताहरूलाई विश्वासमा लिइएको भए राजसत्ता र देश दुवै सूरक्षित रहने प्रवल सम्भावना थियो भन्न सकिन्छ । अहिले पनि अमूर्त जनताको गुहार लगाएर देश जोगाउने आशा गर्नु भन्दा जनताको मन र नेताको विश्वास जितेर अभिष्ट पूरा हुने स्थिति छ । यो राजनीतिक सत्यलाई आत्मसात गरिबक्सियोस् । हिजो अन्तर्राष्ट्रिय समर्थन, सेना, प्रहरी, प्रशासन र जनता समेतको समर्थन रहेका बेला ‘भएको राजा जोगाउन नसक्नेहरूले गएको राजा ल्याइदिने’ सामथ्र्य राख्छन् भन्ने भ्रमबाट मूक्त होइबक्सियोस्, यसैमा सबैको कल्याण छ, जय मातृभूमि !