‘अष्ट-ज को विकास गर्न सकेमा मुलुक समृद्ध हुने’

‘अष्ट-ज को विकास गर्न सकेमा मुलुक समृद्ध हुने’


पौडेलको कृति ‘अष्ट-ज’ बजारमा

प्राध्यापक दुर्गादत्त पौडेलद्वारा लिखित ‘अष्ट-ज’ नाम पुस्तक सार्वजनिक गरिएको छ । सोमबार राजधानी काठमाडौंमा आयोजित एक समारोहमा उक्त पुस्तकको प्राध्यापक लोकनाथ पौडेलले सार्वजनिक गरेका हुन् ।

सो अवसरमा पुस्तकबारे चर्चा गर्दै पूर्वमन्त्री डा. प्रकाशचन्द्र लोहनीले पुस्तक मुलुकको विकासका लागि राम्रो चिन्तन गरेर लेखिएको तर राजनीतिक दलहरुले भने मुलुकको समृद्धिमा कुनै ध्यान नदिएको बताए । उनले मुलुकको विकासका लागि स्थायी सरकार र राजनीतिक दलको ध्यान विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले मुलुकको विकासका लागि लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । सो पुस्तक विकास निर्माणका लागि मार्गदर्शन रहेको उनको धारणा थियो ।

यस्तै, प्रतिनिधिसभा सदस्य तथा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा जोखिम मोलेर लगानी गर्ने आँट गर्नुपर्ने भन्दै अस्थिर राजनीतिक अवस्था र महँगो निर्वाचन प्रणाली अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले नेपाली हिन्दू संस्कारमा अष्ट-जको महत्व निकै रहेको र लेखकले मुलुकको विकासका लागि अष्ट-ज अनुसार विकास गर्न सुझाव लिएको धारणा राखे ।

लेखक पौडेलले पुस्तकले देशको मुहार फेर्नका लागि केही सहयोग पुग्नेमा विश्वास व्यक्त गर्दै पुस्तक बिक्रीबाट आएको रकम काठमाडौं वन विज्ञान क्याम्पसमा सहयोग गर्ने जानकारी दिए ।

ज्ञातव्य छ, अष्ट-जको अर्थ जल, जमिन, जङ्गल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी र जलवायु रहेको छ । यी अष्ट-ज को विकास गर्न सकेमा मुलुक समृद्ध हुने लेखकको भनाइ छ ।

photo: rss