सुदूरपश्चिम प्रदेशको प्रमुख प्रसिद्ध धार्मिक तीर्थस्थल परशुरामधाममा भोलि माघीमेला

सुदूरपश्चिम प्रदेशको प्रमुख प्रसिद्ध धार्मिक तीर्थस्थल परशुरामधाममा भोलि माघीमेला


  • डम्बर निदाल, डडेल्धुरा

सुदूरपश्चिम प्रदेशकै प्रमुख धार्मिक क्षेत्र परशुराम धाममा भोलि माघ १ गते सोमबार ठूलो मेला लाग्ने भएको छ । डडेल्धुरा जिल्लाको भित्रिमधेश क्षेत्र परशुराम नगरपालिका-५ परिगाउँस्थित महाकाली नदी किनारमा अवस्थित प्रसिद्ध धार्मिक स्थल भगवान बिष्णुको छैटौं अवतार परशुरामले हजारौं वर्ष यज्ञतप गरेको पवित्र तीर्थस्नान परशुरामधाममा भोलि माघि मेला लाग्ने भएको हो ।

यसैगरी माघे संक्रान्तिको अवसरमा डडेल्धुराको परशुरामधाममा आयोजना हुने माघी पर्वमा सहभागी हुन सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई परशुराम नगरपालिकाको तर्फबाट निम्तो दिइएको छ । डडेल्धुराको परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीले माघ १ गते परशुरामधाममा हुने माघी पर्वमा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशका सांसद र देशभरका पालिका प्रमुखलाई निमन्त्रणा गरेको परशुराम नगरपालिकाले जनाएको छ ।

डडेल्धुरा सदरमुकामबाट करिव एक सय किलोमिटर दुरीमा रहेको हिन्दुहरूको प्रसिद्ध तीर्थ परशुरामधाममा शनिवारबाटै चहलपहल बढेको छ भने सोमवार अथवा माघेसंक्रान्तिका दिन बिहान स्नान गरेर दिनभरि मेला हुने गर्दछ । परशुरामधाम लाई नेपालका चार धाममध्येको एक धाम रुपमा मानिने गरेको छ ।

हैयेयवंशी क्षेत्रियहरूले पिता जगदग्नीको हत्या गरी कामधेनु गाई अपहरण गरेको र आततायी क्षेत्रियहरूको अत्याचार कम गर्न क्षेत्रिय विनास गरेको एक्काई पटक पृथ्वीको परिक्रमा गरि पृथ्वीलाई क्षेत्रि विहिन गरेपछि भगवान बिष्णुको छैटौं अवतार मानिने पर्शुरामले सरयू अथवा श्यामा महाकाली नदीमा स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएको संस्कृतिविदको भनाइ छ ।

महांकालको जटावाट निस्केको मन्दाकिनि महाकाली नदीमा स्नान गर्नाले गङ्गा स्नान को भन्दा दश गुणा वढी पुण्य प्राप्त हुन जाने, परशुराम तीर्थमा स्नान,तर्पण गर्नाले सय कुल विष्णु लोक जाने तीन लोकमा अति नै पवित्र तीर्थको रुपमा मानिने भएकाले यहाँ सुदूरपश्चिमका नौ जिल्ला लगायत भारतको उत्तराखंडका बिभिन्न स्थानबाट स्नान गर्ने भक्तजनहरू आउने गर्दछन् ।

परशुरामका पिता जमदग्नीले तपस्या गरेको र परशुरामलाई चिरञ्जीविको वरदान दिईएको भगवान परशुरामले शिवजीको कठोर तपस्या पछि फर्सा (परशु) प्राप्त गरेको, भगवान परशुरामले आफ्नो फर्साले कुण्ड निर्माण गरेको फर्सा वरदान पाएको तीर्थ भएकाले तथा फर्सा बोकेका राम भगवान भएकाले फर्सा राम बाट फर्सनान हुँदै अप्रभंश भई पर्शुराम हुन गएको स्थानीय श्रुति पाइन्छ ।

धार्मिक साँस्कृतिक सामरिक सामाजिक र पर्यटकिय दृष्टिकोणबाट अत्यन्त महत्वपूर्ण रंगुन उपत्यकाको महत्वपूर्ण तीर्थस्थल परशुरामधाम स्वदेशीहरूका लागी मात्र नभएर छिमेकी मुलुक भारतका तीर्थयात्रीहरूको लागी पनि प्रशिद्ध तीर्थस्थल हो ।

महाकाली गंगास्नानमा तीर्थयात्री भक्तजन मात्र नभइ विभिन्न देवस्थल र मन्दिर भण्डारबाट देवी देवताका प्रतिक मानिने देउरो स्नान गराई ग्रहण दोषबाट शुद्ध गराउने प्रचलन रही आएको छ । पछिल्लो समय परशुराम नगरपालिकाको तर्फ बाट यस क्षेत्रको प्रचार प्रसारका लागी तीर्थ परिसरमा परशुराम भगवानको विशालमुर्ति निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटन बृद्धि भएको छ ।

सुदूरपहाडमा ‘नरहरी’ पर्वको रौनक

डडेल्धुरासहित सुदूरपहाडमा नरहरी पर्वको रौनक छाएको छ । मकर सक्रान्तिलाई सुदूरपश्चिमका पहाडी क्षेत्रमा नरहरी सक्रान्तिको रुपमा मनाउने चलन रहीआएकोले अहिले रौनक छाएको हो ।

नरहरी पर्वमा पौष मसान्तको राती मिठोमसिनो खाने चलन रही आएको छ भने माघे सक्रान्तिको बिहानै नुवाईधुवाई गरेर कागलाई खानेकुरा दिने चलन रही आएको छ । माघे सक्रान्तिमा कागलाई मिठा खानेकुराहरू खुवाउँदा पाप नष्ट हुने धार्मीक मान्यता रहीआएको स्थानीय संस्कृतिका जानकार जयप्रसाद जोशीले बताए । माघ महिनालाई धार्मीक महिना मान्ने प्रचलन रहेको पनि उनले बताए ।

डडेल्धुरा सहित सुदूरपहाडमा नरहरी पर्वको समयमा चामलको रोटी (माडा), झुनमुने तरुल लगायतका परिकार बनाएर खाने चलन छ । ती परिकारहरू माघे सक्रान्तिको बिहानै कागलाई समेत दिने चलन रही आएको छ । मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिएको स्थानीय प्रविन धामीले बताए ।

माघे सक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का, मेरो रोटी खा’ भनेर बालबालिकाहरूले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ । कागलाई खबर आदानप्रदान गर्ने पंक्षिको रुपमा चिनिन्छ । यसलाई यमराजको सन्देश वाहकका रुपमा पनि पूजा गरिन्छ ।

नरहरीका लागि वन तरुल खन्ने कार्यमा स्थानीयहरू व्यस्त रहेका छन् । पौष मसान्तमा तरुल खन्न जाने र राति पकाएर पकार सबै एकै ठाउँमा बसेर खाने चलन रहिआएको छ । आज राती र भोली दिउँसो तरुल सहित मिठो मसिनो खाने चलन रही आएको स्थानीय तर्क राज भट्टले बताए । भोलीदेखि नै माघस्नान गर्ने चलन समेत रहीआएको छ ।

माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन रहेको स्थानी राजमती भट्टको भनाई छ । सुदूरपहाडमा माघे सक्रान्ति नरहरीलाई हर्षाेल्सा तरिकाले मनाइने गरिएको उनले बताए । यो पर्वमा कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरू घर फर्किने गरेका र विवाहित महिलाहरू माइती घर आउने भएकाले रमाइलो हुने गरेको स्थानीय पवन भट्टले बताए ।