जागौँ जगाऔँ उठौँ

जागौँ जगाऔँ उठौँ


✍ घमा भट्टराई (खनाल)

नेपाली मन फूट, झूठ हुनगो, स्वार्थी हुँदा शासन
कस्ले हेर्दछ दुःख-पीर घटना, झूठो छ आश्वासन
पार्टी आज सबै भए दमनका, पाशा बने घातक
छाडातन्त्र भयो रहेन समता, संघीयता बाधक !

घाती शासकका अनेक छलले, नेपाल सारा रुँदा
बोल्दैनौ किन देशका सजन हो,यस्तो ब्यवस्था हुँदा
हाम्रो निर्भरता रहेन लुटियो, आधार बाँच्ने गयो
बुझ्दैनौ किन देशका सत्जन हो, नेपाल ध्वस्तै भयो !

लड्दैछौँ सब भाइ-भाइ अहिले, मुद्धा बनाइ थर
नेपाली थर हो बुझे यति कुरा, नेपाल साझा घर
हामी मानिस हौं परन्तु पशु झैं, बन्दै गएछौं हरे
हामी देश बिहीन भै समरमा, रोइ रहन्छौँ भरे !

पापी, भ्रष्ट र दुष्ट, निर्मम बने, नेतृत्व गर्ने यहाँ..
निष्ठा, नैतिकता, चरित्र नहुने, छन् राज नेता यहाँ
खप्तै बस्नु कसोगरी हरघडी,नेपालको दुर्दषा..
पाल्तु शासकका बिरुद्ध किन हो ? जूट्दैन खै एकता !

उस्तै दुःख र सुख्ख बीच जिउने, संस्कार हाम्रो गयो
बन्छन् मालिक दुष्ट-पामरहरू, नेतृत्व कस्तो भयो
लौ आऊ सब देश भक्तहरू हो ! एकै थलामा जूटौँ
धर्ती रक्षण निम्ति साहस गरौँ, जागौं जगाऊँ उठौँ !