सिर्दनेहरू

सिर्दनेहरू


✍ श्यामकृष्ण लम्साल

उहिले-उहिले
हाम्रा गाउँघरमा
सिर्दनेहरू थिए
र, न मादल बन्थे
अनि बज्थे
मादललाई मादल बनाउने
अनि बजाउने पनि
उनीहरूमा थियो- सिप
सिप र सिर्जनाको प्रतिविम्व मादल
भञ्ज्याङ, देउराली पाखा-पखेरा
गुञ्जनेगरी बज्थ्यो
लेक, वेसी, चौतारी ब्युँझनेगरी बज्थ्यो
आवाजविहीनहरूका आवाज भएर बज्थ्यो
सदमी, रामनवमी र डबली मेलाहरूमा
मेलै भएर बज्थ्यो
हामीलाई, हामीजस्ता बनाएका थिए
ती ध्वनीहरूले
त्यो हाम्रो अस्तित्व थियो
तर आजकल
हाम्रा गाउँघरमा बज्दैनन् मादल
त्यसैले बन्दैनन्
सिर्दनेहरू छैनन्
अचेल हाम्रा गाउँघरमा
त्यसैले छैन अस्तित्व हाम्रो पनि !

  • भोजपुर