राष्ट्रगाथा

राष्ट्रगाथा


✍ मातृका लामिछाने

गौरवशाली इतिहास हाम्रो गाथा वीरताको ।

शान्तिप्रिय सेना हाम्रो प्रतीक एकताको ।।

गरि संहार आतंकको गर सम्भार देशको ।

बचाइ संस्कृति गर रक्षा भाषा, भुषा र भेषको ।।

          ■ ■

दुरद्रष्टा, युगद्रष्टा तीक्ष्ण बुद्धि अनि चतुर ।

शैन्यकौशल, रणकौशलमा निपूणता प्रचुर ।।

थिए एक कमाण्डर राजा पृथ्वीनारायण ।

राष्ट्रप्रति इमानदार अनि कर्तब्यपरायण ।।

          ■ ■

गोरखा हुँदै कान्तिपुर जुटाइ देश सारा ।

सगौरव एकताको लगाउछौँ हामी नारा ।।

स्वतन्त्र र सधैं अटल संसारमै छ राम्रो ।

राष्ट्रनिर्माण गरि बन्यो मजबुत देश हाम्रो।।

           ■ ■

तिलंगा भनि सुरु फौजी, नेपाली सेना बन्यो ।

विश्वभरका देशहरुले पनि उत्कृष्ट सेना भन्यो ।।

पुर्खाको वीरता बोकी हिँड्ने सधैं पाखुरामा ।

तराई, पहाड, हिमाल अनि अग्ला ती टाकुरामा ।।

           ■ ■

आँधिबेरी, बाढी पहिरो हिँडी सँगसँगै।

लड्दै कडा संकट बीच हाँसिरहने सधैं ।।

भीरपाखा पहरामा बाटो खन्दाखन्दै ।

भए कति सहादत जय मातृभूमि भन्दै ।।

           ■ ■

अटल यो देशलाई छ तिम्रै आशा भरोसा ।

शान्ति अनि सुरक्षामा छाउन नदेउ निराशा ।।

अन्धकारमा ज्योति छर्दै दुःखको बन सारथी ।

चढाउँछु स-सम्मान तिमीलाई सम्मान गारती ।।

           ■ ■

बनाइ मूल मन्त्र शान्ति, सुरक्षा अनि एकता ।

जोगाइ सार्वभौमिकता, बचाऊ राष्ट्रियता ।।

डमरु अनि त्रिशुल बोकी रच्यौ इतिहास पनि ।

देखाइ माटोको माया जितेर आयौ अनि ।।

          ■ ■

टिस्टा अनि काँगडा लड्यौ नालापानीमा ।

देखाउ साहस एकफेर अब कालापानीमा ।।

विकास निर्माण गर्न बनायौ पूल-पुलेसा र बाटो ।

मेची-काली जोगाऊ सधैं अनि यो देशको माटो ।

          ■ ■

कालु पाण्डे, भक्ति अनि अमरसिंह थापा ।

बहादुर शाहले बनाएको वीरताको गाथा ।।

चन्द्र-सूर्य अंकित झण्डा छ जंगी निशान ।

विजयको किल्लामा फहराइ गाऊ राष्ट्रगान ।।

          ■ ■

जपेर सधैं मूलमन्त्र सेवाभाव र देशभक्तिको ।

सलाम छ सधैं तिम्रो स्वाभिमान र अटुट शक्तिको ।।

राष्ट्रनिर्माता पृथ्वीनारायणको गरौं सधैं आरती ।

जननी जन्मभूमिश्च स्वार्गादपी गरियसी ।।