बालकुमारी प्रकरणमा लुकेको पाटो

बालकुमारी प्रकरणमा लुकेको पाटो


रोजगारीका लागि विदेश जान पाउनुपर्ने माग लिएर प्रदर्शन गर्ने युवाहरूको भीडलाई ‘दुरुपयोग’ गरी कुनै व्यक्ति/समूह वा शक्तिले बेग्लै अभीष्ट सिद्ध गर्ने दुष्प्रयास त गरेन ? यो प्रश्न यतिबेला स्वभावतः पैदा भएको छ । किनकि, जो/जस कारणले दुःखद् घटना घटेको छ, त्यस पाटोलाई उपेक्षा गर्दै केही व्यक्ति, दलका नेता तथा सांसद्हरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तारो बनाउने चेष्टा गरेका छन् ।

रोजगारीका लागि दक्षिण कोरिया प्रस्थानको पर्खाइमा रहेका तर सो अवसर गुम्ने त्रासले छट्पटिएका बेरोजगार युवाहरूको विरोध प्रदर्शन र सो क्रममा प्रहरीसँग भएको झडपका कारण दुई युवाको दुःखद् निधन भएको, मन्त्रीको गाडी जलाइएको प्रकरणले यतिबेला मुलुककै राजनीतिक माहोल तताइरहेको छ । इपिएस कार्यालयका दुई/चार जना कर्मचारीहरूको अकर्मण्यताका कारण असन्तुष्ट रहेका युवाहरूमध्येका केही सयको सङ्ख्या ललितपुरको बालकुमारी (चक्रपथ)स्थित उक्त कार्यालय घेराउ गर्न पुग्दा त्यसलाई सामान्य विरोध प्रदर्शनको रूपमा लिइएको थियो सायद । त्यसरी गोली नै चल्ने र मानिसको मृत्युसम्म हुने कल्पना कसैले गरेका थिएनन् । अत्यन्त अराजक र ठुल्ठूला प्रदर्शन हुँदा पनि प्रदर्शनकारी या सुरक्षाकर्मीतर्फ गम्भीर घाइते हुने अवस्था हम्मेसी निम्तिएको पाइँदैन, मानिस मर्ने/मारिने त परको कुरा ! तर सोच्नै नसकिने या कल्पना नै नगरिएको दुःखद् घटना गत शुक्रबार बालकुमारी सडकमा घट्न पुग्यो । गोली नै चलाउने हदमा प्रहरी किन पुग्यो, प्रदर्शनकारीले मन्त्रीको गाडी जलाउने अवस्था किन आइपऱ्यो भन्ने चासो अब सामान्य सन्दर्भमा सीमित नरही रहश्यपूर्ण घटनाको विषय बन्न पुगेको छ ।

उक्त दिनको घटनामाथि सर्सर्ती दृष्टि दिँदा प्रदर्शनकारीहरूले बाटो छेक्दाछेक्दै मन्त्री प्रकाश ज्वालाले जवर्जस्ती आफ्नो ‘सवारी’ भीड चिर्दै अघि बढाउन खोजेका र त्यसबाट रिसाएका युवाहरूले मन्त्रीसवार गाडी नै जलाइदिएको देखिन्छ । सरकारी गाडी जलाउने मानसिकतामा प्रदर्शनकारी किन पुगे ? के प्रदर्शनकारीमाथि त्यसअघि नै गोली चलाइएको थियो र उनीहरू उग्ररूपले रिसाएका हुन् ? या, मन्त्रीको गाडी जलाइएको कारण प्रदर्शनकारीमाथि गोली चलाउन सुरक्षाकर्मी बाध्य बनेका हुन् ? अझै यसबारे स्पष्ट भइनसकेपनि मन्त्री ज्वालाले उत्तेजित अवस्थामा रहेका प्रदर्शनकारीको माझबाट जबर्जस्ती गाडी अघि बढाउन खोज्दा उक्त अप्रिय एवम् दुःखद् घटना निम्तिन पुगेको अनुमान लगाउन सकिन्छ । प्रहरी महानिरीक्षकले संसदीय समितिमा दिएको बयानमा पनि यो कुरा किटेरै बोलेका छन् । यस कोणबाट भन्नुपर्दा मन्त्री ज्वाला बालकुमारी घटनाको निम्ति सर्वाधिक जिम्मेवार ठहरिन सक्छन् ।

तर, यस प्रकरणमा मनन गर्नुपर्ने अर्को महत्वपूर्ण पक्ष यो छ कि गृह प्रशासनका कुनै तहबाट पनि गोली चलाउने आदेश दिइएको छैन र पनि एकाएक गोली चलाइएको छ ! गृहमन्त्रीलाई समेत घटना घटेपछि मात्र जानकारी दिइएको छ, सिडिओ, जिल्लाका प्रहरी प्रमुख कसैलाई गोली नै चलाउनुपर्ने अवस्थाबारे जानकारी दिइएको छैन, उनीहरूसँग आदेश मागिएको छैन । यस्तोमा गोली चलाएर निहत्था नागरिकको ज्यान लिइएको छ, जसले घटनालाई रहश्यपूर्ण बनाएको छ । रोजगारीका लागि विदेश जान पाउनुपर्ने माग लिएर प्रदर्शन गर्ने युवाहरूको भीडलाई ‘दुरुपयोग’ गरी कुनै व्यक्ति/समूह वा शक्तिले बेग्लै अभीष्ट सिद्ध गर्ने दुष्प्रयास त गरेन ? यो प्रश्न यतिबेला स्वभावतः पैदा भएको छ । किनकि, जो/जस कारणले दुःखद् घटना घटेको छ, त्यस पाटोलाई उपेक्षा गर्दै केही व्यक्ति, दलका नेता तथा सांसद्हरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तारो बनाउने चेष्टा गरेका छन् । जानेर या अनजानमा किन नहोस्, घटना सिर्जना गर्न पहिलो नम्बरमा भूमिका मन्त्री प्रकाश ज्वालाको देखिन्छ, जसले आफ्नै पिएसओ एवम् सेक्युरिटीको आग्रह नसुनेर जबर्जस्तीपन दर्शाए, उनको यस रवैयाप्रति दुराग्रही पात्रहरूले उपेक्षाभाव दर्शाएका छन् भने कसको आदेशबाट गोली चलाइयो भनी सुक्ष्म तवरले बुझ्नेतर्फ ध्यान तिनले दिएका छैनन् । दायाँबायाँ नहेरि गृहन्त्रीमाथि पूर्वाग्रही बनेर खनिनुमा राजनीतिक दुर्उद्देश्यकै नियत झल्किन्छ ।

जे होस्, सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिलाई यदि स्वतन्त्र र निष्पक्ष तवरले काम गर्न दिइएमा सत्य-तथ्य आउला नै । कुनै पनि घटनामा छानविन समिति बनाउने अनि त्यसलाई पङ्गु तुल्याएर अन्ततः समसुम दबाउने प्रवृत्ति यहाँ देखिँदै आएको छ । बालकुमारी प्रकरणमा यस्तो नहोस्, ता कि स्वदेशमा रोजगारी नपाएर विदेशिन लाग्दा ज्यान नै गुमाउन परेका युवाहरूको आत्माले न्याय नपाएर भड्किन नपरोस् । यसै प्रकरणको रोटी सेकेर कसैले आफ्ना गल्ती लुकाउने अनि सत्ताको सिँढी उक्लने दुष्प्रयास पनि नगरोस् । किनकि, यतिबेला सहकारीको करोडौँ रकम कुम्ल्याएर आफूलाई चोखै देखाउने छद्म पात्रहरूको आवाज अलिक चर्कै सुनिन थालिएको छ । चिलले चल्ला लग्यो भन्दै ध्यान अन्यत्रै खिचेर हातको सफाइ देखाउने धुर्तहरूले यस्तैबेला दुनियाँलाई छक्याउन सक्छन् ।