जापान भूकम्प : व्यापक संरचनात्मक क्षति, सयौँ घरमा आगलागी, हजारौँ घर बिजुलीविहीन

जापान भूकम्प : व्यापक संरचनात्मक क्षति, सयौँ घरमा आगलागी, हजारौँ घर बिजुलीविहीन


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

नयाँ वर्षको दिनमा मध्य जापानको नोतो प्रायद्वीप र वरपरका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा यो समाचार तयार पार्दासम्म कम्तीमा १५ जनाको मृत्यु भएको एनएचकेले जनाएको छ । थप क्षतिको रिपोर्टहरू प्राप्त भइरहेको र उद्धारकर्ताहरू बाँचेका मानिस खोज्न र भत्किएका भवनहरुभित्र उद्दारको प्रयासमा हतारिएका छन् ।

सोमबार दिउँसो ४ बजेर १० मिनेटमा ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावा प्रिफेक्चरको वाजिमा शहरमा व्यापक संरचनात्मक क्षति र सयौं घरहरुमा आगलागी निम्त्याएको थियो । केही क्षेत्रमा निरन्तर परकम्प र सडकमा भग्नावशेषले उद्धार कार्यमा बाधा पुऱ्याएको हुनाले केही क्षेत्रमा आगो अझै फैलिरहेको थियो । यस क्षेत्रमा यो समाचार तयार पार्दासम्म ३ म्याग्निच्युड माथिका कम्तिमा १ सय ५० वटा परकम्प गएको छ ।

सोमबार साँझ ४ः१० बजेपछि करिब १.२ मिटरको अग्लो छाल वाजिमा बन्दरगाहमा पुगेपछि जापानको सागरकिनारमा रहेको बृहत् क्षेत्रलाई समेट्ने सुनामीको चेतावनी मंगलबार बिहान १० बजे हटाइएको छ ।

मंगलबार बिहान सार्वजनिक प्रसारक एनएचकेले लिएको भिडियो फुटेजले बिहानको बजारको लागि परिचित वाजिमाको केन्द्रीय क्षेत्रमा साततले भवन ढलेको र आगो अझै बलिरहेको देखाएको छ ।

आगोले १०० भन्दा बढी संरचनाहरूलाई ढाकेको छ, तर ती अब फैलिने सम्भावना कम रहेको इशिकावा प्रीफेक्चरल अधिकारीहरूले बताएका छन् ।

नोतो प्रायद्वीपको उत्तरी क्षेत्रहरूमा सवारी साधनहरू प्रवेश गर्न अत्यन्तै गाह्रो रहेको प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । केन्द्र सरकारले जहाजहरू प्रयोग गरेर राहत सामग्रीको ढुवानीमा समन्वय गरिरहेको छ ।

करिव १,००० सेल्फ डिफेन्स फोर्सका जवानहरू उद्धार र राहत कार्यमा संलग्न रहेको प्रधानमन्त्री किशिदाको भनाइ छ ।

भूकम्पको केन्द्रविन्दु वाजिमाको ३० किलोमिटर पूर्व उत्तरपूर्वमा रहेको थियो जसको अस्थायी गहिराइ १६ किलोमिटर रहेको छ, जसको देशको भूकम्पीय तीव्रता मापनमा अधिकतम ७ रेक्टर रहेको जापान मौसम विज्ञान एजेन्सीले बताएको छ ।

७ लेभलको भूकम्पले मानिसलाई उभिएर बस्न असम्भव बनाएको बताइएको छ । यस्तो भूकम्प अन्तिम पटक २०१८ मा होक्काइदोमा रेकर्ड गरिएको मौसम एजेन्सीको भनाइ छ ।

इशिकावा र अन्य प्रिफेक्चरमा भूकम्पका कारण करिब ३० जना गम्भिर घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । घाइतेहरुको संख्या १०० भन्दा माथि छ । तोयामा प्रिफेक्चरको पाचिन्को पार्लरमा छत भत्किँदा आठ जना घाइते भएका छन्, जसमध्ये दुई जना गम्भीर छन् ।

इशिकावामा करिव ३२ हजार पाँच सय घर बिजुलीविहीन छन् ।

भूकम्पको धक्का उत्तरी जापानको होक्काइदोदेखि देशको दक्षिणपश्चिममा रहेको क्युसुसम्मको फराकिलो क्षेत्रमा महसुस गरिएको थियो । सुनामी चेतावनी र सल्लाहहरू जापानको समुद्र किनारमा प्रिफेक्चरहरूका लागि जारी गरिएको थियो ।

भूकम्प र परकम्पहरूले प्रभावित क्षेत्रहरूमा जाने र छुट्ने सार्वजनिक यातायातमा बाधा पुर्‍याएको छ । जेआर पूर्वले अस्थायी रूपमा तोहोकु, जोएत्सु र होकुरिकु लाइनहरूमा सबै बुलेट ट्रेनहरूको सञ्चालनलाई स्थगित गरेको थियो । अल निप्पोन एयरवेज र जापान एयरलाइन्सले २६ उडानहरू रद्द गरेका छन् ।

मौसम विज्ञान निकायले आगामी हप्ता विशेष गरी आगामी केही दिनमा सोमबारको अति प्रभावित क्षेत्रमा ७ रेक्टर स्केल बराबरको भूकम्प आउन सक्ने चेतावनी दिएको छ ।

आगलागी तथा प्रकोप व्यवस्थापन एजेन्सीका अनुसार नौ प्रिफेक्चरका कुल ९७ हजार भन्दा बढी मानिसहरूलाई सुनामीको चेतावनी पश्चात बासस्थान खाली गर्न निर्देशन दिइएको थियो ।

करिब एक हजार मानिसहरूलाई वाजिमामा रहेको एयर सेल्फ डिफेन्स फोर्स बेसमा सारिएको छ र सेल्फ डिफेन्स फोर्सले कम्बल, पानी र खाना वितरण गरिरहेको रक्षा मन्त्रालयले बताएको छ ।

स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूका अनुसार उत्तर र दक्षिण कोरिया दुवैले आफ्ना पूर्वी तटीय क्षेत्रका लागि समान अलर्ट जारी गरेका छन् ।

जापानी भूकम्पपछि रुसी सरकारले सुदूर पूर्वको सखालिनको पश्चिमी तटीय क्षेत्रका लागि सुनामीको चेतावनी जारी गरेको इन्टरफ्याक्स समाचार एजेन्सीले जनाएको छ ।

जापानी प्रधानमन्त्री किशिदा फुमियोले यसअघि सोमबारको बिनाशकारी भूकम्पमा परि मंगलबार बिहान ९ बजेसम्ममा कम्तिमा ८ जनाले ज्यान गुमाएको बताएका थिए ।

इशिकावा प्रान्तमा बिहान १० बजेर १७ मिनेटमा पुनः ५.६ म्याग्निच्युडको भूकम्पको कडा धक्का महशुस गरिएको थियो । २ मिनेट भन्दा लामो समयसम्म भूकम्पले जमिन हल्लाउँदा थप क्षति र त्रास उत्पन्न गराएको बताइन्छ ।