जापानमा सम्भावित थप भूकम्प र सुनामीको लागि सतर्क रहन आग्रह

जापानमा सम्भावित थप भूकम्प र सुनामीको लागि सतर्क रहन आग्रह


  • विशेष प्रतिनिधि, जापान

जापानको सागरमा रहेको इशिकावा प्रान्तमा सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परेर कम्तिमा ६ जनाको मृत्यु भएको जनाइएको छ ।

जापानको मौसम विज्ञान एजेन्सीले जापानको सागरमा सुनामीको चेतावनीलाई एडभाइजरीमा डाउनग्रेड गरेको छ, तर एजेन्सीले नागरिकहरुलाई थप सम्भावित भूकम्प र सुनामीको लागि सतर्क रहन आग्रह गरिरहेको छ।

इशिकावामा भत्किएको घरबाट उद्धार गरिएपछि एक वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुले अरु पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् । दमकल विभागले ५० भन्दा बढी घर भत्किएको रिपोर्ट प्राप्त गरेको जनाएको छ ।

अधिकारी र अस्पतालहरूले एनएचकेलाई निगाता र तोयामा लगायत अन्य चार प्रान्तहरूमा दर्जनौं व्यक्ति घाइते भएको बताए । वाजिमा शहरका अधिकारीहरूका अनुसार शहरको मध्यभागमा आगलागी हुँदा ५० भन्दा बढी पसल र घरमा क्षति पुगेको छ।

७.६ म्याग्निच्युडको भूकम्पपछि उक्त क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि देखिएको छ । एक सय भन्दा बढी झटका महसूस भएको मौसमविदले जनाएको छ । टोयामा प्रिफेक्चरको हिमी शहरका प्रहरीले धेरै ठाउँमा सडकमा दरार भएको रिपोर्ट प्राप्त भएको एनएचकेले उल्लेख गरेको छ ।

होकुरिकु इलेक्ट्रिक पावर कम्पनीले इशिकावा प्रिफेक्चरको नानाओ शहरमा रहेको नानाओ ओटा थर्मल पावर प्लान्टमा दुईवटा जेनेरेटर बन्द गरेको बताएको छ । इशिकावा, निगाता र तोयामा प्रान्तका हजारौं घरधुरी विद्युतविहीन रहेको अधिकारीहरूले बताएका छन् ।

शिन्कानसेन बुलेट ट्रेन सेवा पनि प्रभावित भएको छ । अकिता, होकुरिकु र जोएत्सु शिन्कानसेन लाइन सोमबार आंशिक रूपमा निलम्बित गरिएको थियो। आणविक नियमन प्राधिकरणले इशिकावा प्रिफेक्चरको शिका आणविक उर्जा केन्द्रमा विस्फोट र केही जलेको गन्ध आएको बताएको छ।

जापानका प्रमुख मोबाइल फोनवाहकहरूले भूकम्पबाट प्रभावित प्रान्तहरूमा सेवा अवरुद्ध भएको बताएका छन् ।

देशको सार्वजनिक प्रशारणकर्ताले तटीय क्षेत्रका मानिसहरूलाई उच्च जमिनमा जान आग्रह गरिरहेको छ।

सुनामीको खतराको कारण यसैबीच रुस र उत्तर कोरियाका अधिकारीहरूले पनि त्यहाँका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरिरहेका छन्।