राजु परियार : भाइरल मिडियाबाट टाढा

राजु परियार : भाइरल मिडियाबाट टाढा


✍ राजन घिमिरे

राजु परियार…, नाम जति सरल र सहज छ, यिनको ब्यवहार र रहनसहन त अझ आँखामा राख्दा पनि नबिझाउने छ । लोकगायन विधामा पुऱ्याएको योगदानबाट चर्चा र प्रशंसाको चुलीमा पुग्दा पनि राजुले न शान देखाए न त मान नै खोजे ।

सस्तो चर्चा र ‘भाइरल’ बन्ने लोभको पछाडि कहिल्यै दौडिएनन् राजु । तीन दशकभन्दा लामो समयदेखि लोक गायन विधामा तन मनदेखि लागिपर्दै आइरहेका स्रष्टा हुन् यिनी । यिनलाई विभिन्न प्रलोभनमा पारेर या छक्याएर धेरैले यिनको सिर्जनामा आफ्नो नाम हाले अनि दाम र चर्चा बटुले, तर राजुले कहिल्यै प्रतिवाद गरेनन् । बरु उनी भन्छन्- ‘जसको जस्तो बुद्धि-विवेक हुन्छ त्यसले त्यस्तै र त्यति नै गर्ने हो । त्यतिबेला मेरो सोझोपन र कमजोरीको नाजायज फाइदा उठाउनेहरू आज गुमनाम छन्, तर म मेरा शुभचिन्तकहरूमाझ ताजै छु ! यति भए मलाई के चाहियो र ?’ राजुको महानता यस्तो छ ।

कुनै दिम राजुले एक दिनमा २७ वटासम्म गीत रेकर्ड गरेका थिए भने आजसम्म लगभग १७ हजार लोक गीत गाइसकेको आधिकारिकताका बारेमा जिज्ञासा राख्दा उनले इन्कार गरेनन् । सम्भवतः नेपालको इतिहासमा यति धेरै गीत गाउने राजु नै पहिलो गायक हुन् । तथापि, यसबारे कहिल्यै कतै खास चर्चा भएन । राजुको यो ऐतिहासिक छलाङ गुमनामतुल्य नै रहेको छ ।

आर्थिक दृष्टिले अति नै निम्न परिवारका राजुले नेपाली लोकगीत क्षेत्रमा हासिल गरेको यो उचाई र ख्यातिको जति प्रशंसा गरे पनि कमै हुन्छ- ‘म अझै पनि गाइरहेको छु र जीवनभर गाइ नै रहनेछु । मलाई लाग्छ म गीत गाउनकै लागि यो धर्तीमा आएको हुँ’, उनले भने ।

एक-दुईवटा गीत गाउँदैमा आफूलाई सेलिब्रेटी सम्झँदै भाइरल भएको भ्रममा नाक फुलाएर हिँड्ने आजका केही गायक-गायिकाहरूले सरलता र मिजासिलो ब्यवहार के हो भन्ने राजु परियारसँग सिक्न सक्छन् । उनको शालिनता तथा विनम्रपनले जो-कसैलाई पनि मुग्ध तुल्याउँछ । बडप्पन प्रस्तुत नगरेपछि सामान्य मानिस त महान् जस्तै लाग्छ भने राजुका लागि त उनको शालिनता सुनमाथि सुगन्ध भनेझैँ भएको छ भन्दा अत्युक्ति हुँदैन ।

सङ्घर्षका दिनहरू सम्झँदै राजु विगततिर यसरी फर्किए- ‘गीत चलेको समयमा क्यासेट धेरै बिक्री भएको सुनिन्थ्यो तर गोजीमा पैसा हुँदैनथ्यो । क्यासेट कम्पनीको ढोकामा कुरेर आएको केही रकमबाट जीवन चलाउनुपर्दथ्यो, तर आजका सर्जकले यसरी दुख पुाउनु नै पर्दैन । आज एउटा गीत हिट भयो भने रातारात नाम र दाम हात पर्छ ।’

जातिय छुवाछुतका गीतदेखि माया-प्रेमसम्मका गीत गाउन सिपालु राजु हरेक वर्ग, तह र तप्काका मन-मष्तिष्कमा पुगेका गायक हुन् । आजका पुस्तामा चाँडो चर्चा र नाम कमाउन भड्किलो, अपाच्य र असभ्य कथित वा कोठे लोकगीतको सृजनातिर लागिपरेकोमा उनी चिन्ता ब्यक्त गर्छन् । ‘भड्किला शब्द राखेर लोकगीत सिर्जना नगरौँ । लोक भनेको के भन्ने बुझौँ र, यसको गहिराइसम्म पुगौँ । परिवार एकसाथ बसेर सुन्न नसकिने गीतको सृजना नगरौँ’- उनले आग्रह गरे ।

नेपाली लोक गायन विधामा राजुको योगदान र निरन्तरता जति धेरै छ, त्यसको अनुपातमा उनी मिडिया या सामाजिक सन्जालबाट टाढा देखिन्छन् । किन यस्तो त ? जवाफमा उनले भने- ‘म भाइरल हुने र भड्किलो अन्तरवार्ता दिन्नँ । दुई दिन चर्चामा आउने लोभमा भाइरल गीत गाउन सक्दिनँ र, अरूलाई गाली गर्न सक्दिनँ । आजका भाइरल मिडियाको लागि म फिट छैन । त्यसकारणले पनि मैले मिडिया र सामाजिक सन्जालमा स्थान नपाएको होला ।’

राजु आजसम्म आफूले गरेको कर्म, लगनशीलता र निरन्तरताप्रति सन्तुष्ट र खुशी छन् । अघिल्लो पुस्ताले सम्हालेर ल्याएको नेपाली लोकगीत/संगीत आज धेरै बिस्तार र इज्जतिलो भएको उनी बताउँछन् । ‘रोधीघर र मेलापातबाट हुर्किएको लोकगीत देश-विदेश हुँदै साततारे होटलसम्म पुगेको छ । यसलाई अब बचाएर अगाडि बढाउने जिम्मा नयाँ पुस्तामा आएको छ’- उनले सुझाव दिए ।