नेपाली समाज, राजनीति र स्टण्टबाजी !

नेपाली समाज, राजनीति र स्टण्टबाजी !


कुनै समय अनुशासन, नैतिकता, प्रतिबद्धता, दूरदर्शिता, समर्पण, देशभक्ति, निष्ठा, त्याग, त्यागको भावना, सोच, आदर्श, पृष्ठभूमि, विचार, कार्यशैली र व्यवहार हेरेर कुन राजनीतिकर्मी कस्ता भन्ने अवधारणा बनाइन्थ्यो । अचेल कसले कसलाई ज्यादा गाली दिन र होच्याउन सक्छ भन्ने आधारमा ब्यक्तिको हाइट नापिन्छ । कुन देश चहारेर फर्किएको हो भन्ने आधारमा स्तर निर्धारण गर्ने गरिन्छ ।
✍ देवप्रकाश त्रिपाठी

जब बजारमा सस्ता सामाग्रीको बाढी आउन थाल्छ, त्यसपछि मौलिक, गुणस्तरीय र ब्राण्डेड सामाग्रीका ब्यापारीहरूको पलायन निश्चित हुन्छ । कुनै समय ब्यापारिक सामाग्रीमा मात्र लाग्ने यो नियम अहिले मानिसमा समेत लागू हुन थालेको छ । सस्ता मानिसको बाढी आउन थालेपछि नेपालमा यतिबेला गह्रुङ्गा मानिस ओझेल परेका छन्, मुख छोपेर हिँड्नुपर्ने स्थितिमा पुगेका छन् ।

हुन त सृष्टिको नियमभन्दा बाहिर जगतमा केही पनि छैन र, हुन सक्दैन । एउटा आकाशमा सूर्य एउटै रहन्छ, अन्य ग्रहहरू सूर्यको चक्कर लगाउँछन् । ग्रहका अगाडि छुद्र ग्रह केही होइनन्, तर तहल्का तिनै छुद्र ग्रहहरूले नै मच्चाइरहेका हुन्छन् । त्यस्तै, यता समाजतिर हेर्दा शास्त्रीय सङ्गीत सम्पूर्ण सङ्गीतको श्रोत हो, उद्गम हो, यो सबैलाई थाहा छ, तर कतै पप सङ्गीत र शास्त्रीय सङ्गीतको प्रस्तुति राखियो भने नब्बे प्रतिशत भन्दा बढी मानिसहरू ‘पप शो’मै तानिएका हुन्छन् ! काँटाचम्चा बज्दा पनि नाच्न तयार हुने धेरैजसो मानिस शास्त्रीय सङ्गीत भन्नेवित्तिकै निधार खुम्च्याउन थाल्छन् ! पपगीत ‘पात’ हुन् भने शास्त्रीय सङ्गीत ‘जरा’ भएको उनीहरू किन्चित पनि हेक्का राख्दैनन् । संसारभरिका टेलिफोन प्रयोगकर्ताहरूमध्ये एक प्रतिशत मानिसले पनि ग्राहम बेलको नाम सुनेका नहोलान् र, सुन्ने/सम्झने चासो पनि उनीहरू राख्दैनन् । हरेक विषयलाई गहिराईमा पुग्न अल्छी मान्छन् मानिस, पातपातै दौडन्छन् र त्यसैमा रमाउँछन् ।

हाम्रो समाज नितान्त सतही बन्दै गएको छ, सतही समाजमा नकारात्मक कुराको ब्यापार शीघ्र र व्यापक स्तरमा हुनेगर्छ । यो लेखकले कुनै स्टोरबाट सामान चोरी गरेको भनेर कुनै कुनाबाट कसैले छिसिक्क भनिदियो भने त्यो आँधिबेहरीको गतिमा फैलिएर जतिसुकै सफाइ पेस गरेपनि नपत्याइने स्थिति बनिसक्छ । तर, यही लेखकले आफ्नो सम्पूर्ण सम्पत्ति राज्यलाई सुम्पने घोषणा गरेछ भने त्यो सन्देश सर्दैसर्दैन, सरेछ भनेपनि नकारात्मक टिप्पणीसहित कछुवाको गतिमा सर्छ । राम्रा अर्थात् सकारात्मक सन्देश नसर्ने, नचल्ने, नबिक्ने भएपछि राजनीतिमा यसको व्यापक असर परिरहेको छ । महान् नेपाली दार्शनिक रुपचन्द्र सत्य र सकारात्मक सन्देश नचल्ने, झुठ र नकारात्मकता मात्र मनपराइने स्थिति निरन्तर देखापरेपछि निराश भएर आत्महत्या गर्ने निश्कर्षमा पुग्नुभएको थियो । नेपाली समाजको यस्तै चरित्र कायम रहने हो भने अझै कैयन सत्यवादी नेपालीले आत्महत्या गर्नुपर्ने अवस्था देशले झेलिरहनुपर्ने हुन्छ ।

२०४६ सालको परिवर्तनपछि स्टण्ट गरिराख्ने पात्रका रूपमा कुनै पद्मरत्न नाम गरेका ब्यक्तिलाई लिइन्थ्यो, उनी जहाँ जतिबेला पनि आँसु झारेर देखाउन सक्थे, सीमा नाघेर बोल्ने र बोलेकै भरमा तरङ्ग पैदा गर्ने रोग बिस्तारमा यिनकै योगदान मानिन्छ । पहिले काङ्ग्रेस पार्टीमा स्टण्ट चल्ने गर्दैनथ्यो, गगन थापालगायतका केही ब्यक्ति केवल स्टण्ट गरेकै भरमा माथिल्लो तहको जिम्मेवारी हात पार्न सफल भएपछि काङ्ग्रेस पनि अब स्टण्टबाजीबाट मूक्त छैन ।

कुनै समय अनुशासन, नैतिकता, प्रतिबद्धता, दूरदर्शिता, समर्पण, देशभक्ति, निष्ठा, त्याग, त्यागको भावना, सोच, आदर्श, पृष्ठभूमि, विचार, कार्यशैली र व्यवहार हेरेर कुन राजनीतिकर्मी कस्ता भन्ने अवधारणा बनाइन्थ्यो । अचेल कसले कसलाई ज्यादा गाली दिन र होच्याउन सक्छ भन्ने आधारमा ब्यक्तिको हाइट नापिन्छ । कुन देश चहारेर फर्किएको हो भन्ने आधारमा स्तर निर्धारण गर्ने गरिन्छ । त्यसैले राजनीतिमा स्टण्टबाजी यो समयको मुख्य विशेषता भनौँ या मुख्य रोग भनौँ या समस्या बनेर भित्रिएको छ । हो, अब यही रोगका कारण राजनीतिमात्र बर्बाद हुँदैछैन, यसले सिङ्गो मुलुकको अस्तित्व नै विस्थापित गर्ने अवस्थातर्फ मुलुकलाई लैजाँदै छ ।

कुनै ब्यक्ति राम्रो हास्यकलाकार भएर देखापरेको पर्सिपल्टैदेखि उसलाई नेता बनाउने सपना नेपालीले देख्न थाल्छन् । कसैमा राम्रो कवित्व देखापर्दा, कोही धेरै उच्च स्तरको चित्रकार भएको पुष्टि हुँदा, कुनै दक्ष चिकित्सकको नाम बजारमा चल्दा, कोही आर्किटेक्टको डिजाइन राम्रो देखिँदा, कसैको व्यापार फस्टाउँदा, कसैले सञ्चारकर्मीको रूपमा टेलिभिजनमा राम्रो प्रस्तुति दिँदा, कोही फेसन डिजाइनरको रूपमा चर्चामा आउँदा या राम्रो सेफ भएको प्रचार हुँदा अर्थात् कुनै पनि क्षेत्रमा कोही सफल ब्यक्ति देखापऱ्यो भने हामी तिनलाई तुरुन्तै नेता बनाउन हतार गरिहाल्छौँ । राज्य चलाउनु र कुनै खास विषयमा विशेष क्षमता हुनु अलगअलग पाटा हुन्, एउटा फिल्डमा उचाइ लिने हरेक ब्यक्ति राजनीति र राज्य सञ्चालनमा पनि सफल हुन्छन् भन्ने होइन । ब्यक्ति जुन क्षेत्रमा छ त्यही क्षेत्रको राजा या हिरा बन्न सक्छन्, तर हामी शिखर नचढ्दै तिनलाई राजनीतिमा ओराल्न खोजिहाल्छौँ ।

भारतीय सिनेमामा कलाकार भएर अमिताभ बच्चन विश्वप्रशिद्ध भए, तिनलाई राजनीतिमा तानियो, असफल भए । शत्रुघन सिन्हा, जयाप्रदा, परेश रावललगायत कैयन सिनेकलाकार राजनीतिमा पसे, तर त्यहाँ चम्कन सकेनन् । बरु जीवनभर कलाकारितामा रहेर अवकाशपश्चात् राजनीतिमा लागेका रोनाल्ड रेगनलाई चाहिँ सफल राजनीतिकर्मी मानिन्थ्यो । फिलिपिन्सका सिनेकर्मी एस्ट्राडा राष्ट्रपति बन्न त सफल भए, तर कार्य ब्यवहारले तिनलाई पत्रु प्रमाणित गरिदियो । एउटा राम्रो मानिएको कलाकार केटोलाई युक्रेनीले हतार-हतार राजनीतिमा ताने, केटोले युक्रेन कहिल्यै विजयी नबन्ने युद्धमा देशलाई होमिदियो । अपरिपक्व केटाकेटीहरूलाई एकैपटक उच्च राजनीतिक जिम्मेवारी दिँदा केसम्म हुनसक्छ भन्ने कुराको प्रमाण युक्रेनका जिलेन्स्कीले सारा विश्वलाई दिइरहेका छन् ।

विश्वमा देशलाई समृद्धिको दिशा र गति दिने नेताको नाम लिनुपऱ्यो भने दुबईका राजा शेख रशीद, मलेशियाका मोहम्मद महाथीर, सिङ्गापुरका ली क्वान यु, दक्षिण कोरियाका पार्क चुङ ही, चीनका देङ सियाओ पिङ र बेलायतकी मार्गरेट थ्याचर तथा अहिले भारतका नरेन्द्र मोदी तथा रसियाका भ्लादिमिर पुटिन लगायतलाई लिइन्छ । तर यी कुनै पनि राजनीतिकर्मी स्टण्टबाजीबाट उदय भएका ब्यक्तिमा पर्दैनन् ।

आधुनिक विश्वमा देशलाई समृद्धिको दिशा र गति दिने नेताको नाम लिनुपऱ्यो भने दुबईका राजा शेख रशीद, मलेशियाका मोहम्मद महाथीर, सिङ्गापुरका ली क्वान यु, दक्षिण कोरियाका पार्क चुङ ही, चीनका देङ सियाओ पिङ र बेलायतकी मार्गरेट थ्याचर तथा अहिले भारतका नरेन्द्र मोदी तथा रसियाका भ्लादिमिर पुटिन लगायतलाई लिइन्छ । तर यी कुनै पनि राजनीतिकर्मी स्टण्टबाजीबाट उदय भएका ब्यक्तिमा पर्दैनन् । देशलाई गहिराइमा बुझेर एउटा कठोर प्रतिबद्धतासहित राजनीतिमा आएर सफलता हाशील गर्नेमा यिनको नाम लिइन्छ । हिजो एउटा निश्चित आदर्श र लक्ष्यसहित राजनीतिमा आएका मानिसले इमानदारी, दूरदर्शिता र कार्यक्षमता दर्शाउन नसक्नुको परिणाम अहिले हामीले भोग्नुको मतलब अनेक उट्पट्याङपूर्ण र झिल्केगिरी गर्नेहरूबाट उत्पन्न राष्ट्रिय समस्याको समाधान हुनसक्छ भन्ने कदापि होइन, यस्ताहरूले निम्त्याउने भनेको थप बर्बादी मात्र हो ।

स्टण्टबाजी यदाकदा पञ्चायतकालमा पनि देखिन्थ्यो । त्यसबेला दीपक बोहोरा, निरन्जन थापा, कमल थापा र हेमबहादुर मल्ल आदिको राजनीति स्टण्टमै आधारित थियो, तथापि अचेलको जस्तो सस्तो स्टण्टचाहिँ थिएन । २०४६ सालको परिवर्तनपछि स्टण्ट गरिराख्ने पात्रका रूपमा कुनै पद्मरत्न नाम गरेका ब्यक्तिलाई लिइन्थ्यो, उनी जहाँ जतिबेला पनि आँसु झारेर देखाउन सक्थे, सीमा नाघेर बोल्ने र बोलेकै भरमा तरङ्ग पैदा गर्ने रोग बिस्तारमा यिनकै योगदान मानिन्छ । पहिले काङ्ग्रेस पार्टीमा स्टण्ट चल्ने गर्दैनथ्यो, गगन थापालगायतका केही ब्यक्ति केवल स्टण्ट गरेकै भरमा माथिल्लो तहको जिम्मेवारी हात पार्न सफल भएपछि काङ्ग्रेस पनि अब स्टण्टबाजीबाट मूक्त छैन । एमालेभित्र कतिपय ब्यक्ति स्टण्टमा पारङ्गत देखिएपनि उक्त पार्टी एउटा सङ्घर्ष, निष्ठा र अनुशासनको जगमा खडा भएकोले त्यहाँ स्टण्टबाट सतहमा स्थापित हुन सहज छैन । पूर्वपञ्चहरूको क्लब समेत भनिने राप्रपाले केही स्टण्टबाजहरूलाई राजनीतिमा भित्र्याएको छ, त्यसले पञ्चहरूलाई राम्रै मनोरञ्जन दिइरहेको आभास गराउँदै छ ।

तराई मधेशतिर पनि एकताका स्टण्ट खुब चल्थ्यो, अहिले त्यहाँको राजनीतिले अलिक गम्भीर दिशा लिन खोज्दैछ । कुनै सीके राउत नामक ब्यक्ति नेपाली राष्ट्रियता, एकता र अखण्डतालाई चुनौती दिँदै दक्षिण भारतीय सिनेशैलीमा लामो जुल्फीसहित राजनीतिमा प्रकट हुँदा एकताका त्यतातिर राम्रै तरङ्ग पैदा भएको थियो । अब तिनको झिल्केगिरी पनि रास्वपा र राप्रपाका नेताहरूको झैँ ‘मालदार मन्त्रालय’को खोजिमा पुगेर अड्किएको देखिन्छ । यसरी स्टण्ट गर्दै राजनीतिमा आएकाहरूको आयु भने लामो हुने गर्दैन । प्रजातन्त्रकालमा अनेक स्टण्टबाजी गरिरहने एक नेता थिए गोविन्दनाथ उप्रेती, उनी निकै रमाइला, दमदार र फुर्तिला थिए, तर अहिले उनको नामोनिसान भेट्न मुस्किल छ । तथापि, त्यसबेलाको स्टण्ट अचेलकाले गरेजस्तो ज्यादै सस्तो र केवल देखावटीका लागिमात्र भन्ने हुँदैनथ्यो । त्यसताका पर्सनल मिडिया अस्तित्वमा थिएन, तैपनि उप्रेतीका अनेक किस्सा चर्चामा आउने गर्दथे । त्यस्तैमध्येको एक मजेदार घटना यहाँ उल्लेख गर्नु उपयुक्त ठान्दछु ।

राज्य चलाउनु र कुनै खास विषयमा विशेष क्षमता हुनु अलग-अलग पाटा हुन्, एउटा फिल्डमा उचाइ लिने हरेक ब्यक्ति राजनीति र राज्य सञ्चालनमा पनि सफल हुन्छन् भन्ने होइन । ब्यक्ति जुन क्षेत्रमा छ त्यही क्षेत्रको राजा या हिरा बन्न सक्छन्, तर हामी शिखर नचढ्दै तिनलाई राजनीतिमा ओराल्न खोजिहाल्छौँ ।

त्यसताका स्काभेटर प्रयोग गर्न पाउनु ठूलो सौभाग्य ठानिन्थ्यो । सरकारसँग मात्र, त्यो पनि सीमित सङ्ख्यामा स्काभेटर थियो र, ज्यादै ठूलो पहुँच हुनेले मात्र जिल्लामा स्काभेटर लगेर केही दिन सडक निर्माण गर्ने मौका पाउँथे । निर्माण तथा यातायातमन्त्री थिए खुमबहादुर खड्का । काभ्रे काङ्ग्रेसका दुई युवा नेताहरू मधु र शिवले कम्तिमा ६ महिनासम्म खुमबहादुरकोमा निरन्तर धाएर करिव एक साताको निम्ति स्काभेटर लिएर जाने अनुमति पाए । निकै मेहनत गरेकोले उनीहरूलाई काभ्रेमा स्काभेटर आइपुग्ने मिति उपलब्ध गराएर पठाइएको थियो । दुबै युवा नेताहरू आफ्नो जिल्ला फर्किएर ‘हामीले स्काभेटर ल्याउने भयौँ, फलानो दिन दोलालघाट हुँदै कोशी किनारमा आइपुग्छ’ भन्ने प्रचारमा जुटे र, गाउँलेहरूले मधु र शिवको कामबाट प्रभावित भएर डोजर नआउँदै तिनको प्रशंसामा समय खर्चन थालिसकेका थिए । स्काभेटर आइपुग्ने दिन गाउँलेहरू हातमा फूलका माला लिएर निर्धारित ठाउँमा भेला भएका थिए, गलामा भारी मालासहित काङ्ग्रेसका दुई युवा भिडको अघिल्तिर प्रफुल्ल मुद्रामा उभिएका थिए । केही समयको प्रतीक्षापछि स्काभेटर तोकिएको स्थानमा आइपुग्यो, स्काभेटरमा ड्राइभरसँगै गोविन्द उप्रेती आएका रहेछन्, उनी छाती पिट्दै ‘मैले डोजर ल्याएँ नि, हेर कसले ल्यायो स्काभेटर !’ भन्दै भुइँमा ओर्लिए । यता डोजर आउने दिन थाहा पाएपछि गोविन्द डोजर चढेरै आउने योजनाका साथ काठमाडौं पुगिसकेका रहेछन् । डोजरबाट ओर्लनेबित्तिकै जनताले फूलमालाबाट गोविन्दको भब्य स्वागत गरे, मधु र शिव त्यसपछि भिडमा कतै हराए । स्टण्ट पनि यो स्तरको हुन्थ्यो त्यसताका ! तर अहिले काम गर्ने र परिणाम हाशील गर्ने भन्दापनि केवल देखाउनका निम्ति मात्रै स्टण्ट हुनेगर्छ र त्यो स्टण्ट अर्काको खिल्ली उडाउने या गाली वर्षाउने कर्ममा सीमित हुने गर्छ ।

समाज र राजनीतिमा स्टण्टबाजीलाई अहिले ‘देखाउने र देख्ने’ दुवैथरीले सफलता ठानेका छन् । जब राजनीतिको मूलप्रवाह नै स्टण्टमा आधारित हुन्छ भने हामी स्पष्ट हुनुपर्छ- ‘यसरी यो देश कहिल्यै बन्नेछैन, बरु बर्बाद हुनेछ !’ आवेग र आक्रोशले कुनै देश बनेको छैन, बन्दैन । मनोविज्ञानले सम्वेदनाहरू असामान्य रहेको अवस्थामा लिइने निर्णयहरू सही हुन नसक्ने निष्कर्ष दिएको छ । त्यसैले बुद्धिमान र ज्ञानी मानिसहरू धेरै खुशी भएका बेला, दुःखी हुँदा, रिस उठेका बेला, प्रशन्न हुँदा या आक्रोश पैदा भएका बेला कहिल्यै कुनै निर्णय लिँदैनन् । तर यहाँ त आक्रोशमा आधारित मनोरन्जन दिएर आफ्नो साध्य सोझ्याउने प्रयास हुँदै आएको छ, युवापुस्ता त्यस्तै उटपट्याङ्पूर्ण क्रियाकलापलाई राजनीति ठान्दैछ । यस्तै स्थिति रहने हो भने बुझ्नुपर्छ- ‘यो देश कहिल्यै बन्दैन र बन्दैबन्दैन’ । जय सीताराम ! जय मातृभूमि !!