प्रचण्ड सरकारको एक वर्ष

प्रचण्ड सरकारको एक वर्ष


जनताका अपेक्षा के थिए र, सरकारबाट जनता उपेक्षित किन भए ? सरकारप्रति चरम असन्तुष्टि र आक्रोश प्रकट गर्नुपर्ने अवस्थामा तमाम नेपाली किन पुगे ? नेताहरू जुत्ता र खोयाको झटारो झेल्नुपर्ने परिस्थितिमा कसरी आइपुगे ? सामान्य लाग्ने तर अति गम्भीर यस्ता सवालमा घोत्लिन प्रचण्डसँग सम्भवतः समय छैन ।

खासै उल्लेख गरिरहनु नपर्ला, तेस्रो पटक मुलुकको कार्यकारी प्रमुखको ओहदा सम्हाल्दै गर्दा प्रधानमन्त्री प्रचण्डले यसपटकको आफ्नो कार्यकाल उल्लेख्य र ऐतिहासिक महत्वको तुल्याउने बताएका थिए । ०६३ को राजनीतिक परिवर्तनयता पटक-पटक यस्ता अनेकौँ बाचा गरेका, आशा र सपना देखाएका तर कुनैपनि पूरा गर्न नसकेका प्रचण्डलाई फेरि पनि देश र जनताले पत्याइदिए- यसपटक त साँच्चै मुलुकप्रति इमानदार र संवेदनशील भएरै काम गरिहाल्छन् कि !? तर, प्रचण्डले प्रधानमन्त्रीको रूपमा एक वर्ष पूरा गरिसक्दा उनीप्रतिको आशा, भरोसा र विश्वास समाप्तप्रायः भएको छ । अब पनि प्रचण्डबाट नेपालको समृद्धिको यात्रा अघि बढ्नसक्छ भनी पत्याउनु भनेको आफैलाई जानाजान छल्नुमात्र हो ।

हो, प्रचण्ड सरकारको एक वर्ष पूरा भएको छ । चुनावमा प्रकारान्तरले लज्जास्पद पराजय ब्यहोर्दै तेस्रो पार्टीका रूपमा खुम्चिएपछि प्रधानमन्त्री पदमा बस्ने नैतिक र राजनीतिक हक गुमाएका थिए प्रचण्डले । तर, अनेक तिगडमबाजी गरी प्रमुख दलका शीर्ष नेताहरूलाई झुक्याएर, धोकाको खेल खेलेर उनले प्रधानमन्त्रीको कुर्ची हत्याए । अन्तिम पटक केही गरेरै देखाउने भनी देशको लगाम समातेका उनलाई स्वीकार गर्नुको विकल्प पनि कसैसँग थिएन त्यतिबेला । फलतः एकपछि अर्को गर्दै दलहरूप्रति गद्दारी गर्दै सत्ताको खेल उनले चालु राखे । गठबन्धनधारी दल तथा नेताहरूलाई ‘धराप’मा पार्दै सत्ता टिकाउने चाल उनले चालिरहे/चालिरहेका छन् । निर्वाचनबाट ठूलो दल बनेका काङ्ग्रेसका सभापतिलाई नाकमा नत्थी लगाएर प्रचण्डले सिङ्गै नेपाली काङ्ग्रेसलाई नै आफ्नै बाटोमा जसरी घिस्याइरहेका छन्, यसले त मुलुकको दुर्गतिको भावी पाटोसमेत छर्लङ्ग्याइरहेको छ । पहिलो दल काङ्ग्रेसलाई ‘माओवादी केन्द्र’मा रुपान्तरण गर्ने, बलियो प्रतिपक्षी ठानिएको एमालेलाई जिल्ल्याउने/चिप्ल्याउने र अन्य छोटाबडा दलहरूलाई पनि अनेक तिगडम गरेर रिङ्ग्याइरहने चालबाजीमा सफलता पाएर एकछत्र राज गरेका प्रचण्डले आखिर भ्रष्टाचार र परिवारवादलाई स्थापित गर्नेबाहेक देशको पक्षमा केही गर्न सकेनन् । प्रचण्डका अनुयायी एवम् उनको भक्तिगान गाएर, चाकडी-चाप्लुसी गरेर, आर्थिक एवम् अन्यप्रकारका प्रलोभवनमा पारेर अनुचित लाभ लिनेहरूलाई जति नै नमिठो लागेपनि यथार्थ यही नै हो !

कार्यकालको एक वर्ष बित्न लाग्दा प्रधानमन्त्री प्रचण्डले फेरि पनि ‘अबचाहिँ केही गरेरै छोड्ने’ रट् लगातार लगाए । अब केही गर्छु भन्ने वाक्य वास्तवमा प्रचण्डको थोगोझैँ बन्न पुगेको छ । उनबाट माखोपनि नमर्ने आँकलन नेपाली जन-जनमा भइसकेको प्रतीत हुन्छ । यस्तोमा उनले अझै पनि ‘म कम्युनिष्ट हुँ, असल आचरण गर्छु, देश र जनताकै लागि मर्छु’ भनी बेला-बेला भाषण किन गर्छन् ? आफ्नो यस्तो अभिव्यक्तिप्रति एक्लै बसेर घोत्लिँदा उनी स्वयम् लज्जित हुन्छन् कि हुन्नन् होला !?- जिज्ञासा जागृत हुन्छ । ‘कोही रिसाउन् वा खुसाउन् अब कसैको मुख नहेर्ने, फगत् देशको लागि गर्ने’ भन्दै तेस्रो पटक प्रधानमन्त्रीको कुर्चीमा आसिन हुँदादेखि अहिले नातिनीको ‘कीर्तिमानी’ विवाहसम्म आइपुग्दा प्रचण्डले ध्यानमुद्रामा रही आफ्ना बोली र कर्मतर्फ फर्किएर आत्म-मन्थन गरे कमसेकम उनी स्वयम्को स्वास्थ्यका लागि फलदायी हुन्थ्यो होला ! अब पनि देशको समृद्धि र नेपालीको उन्नतिको लागि योगदान दिन्छु भन्ने अभिव्यक्तिचाहिँ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नदिनु सर्वोचित हुनेछ ।

प्रचण्डको एकवर्षे कार्यकाललाई स्मरण गराउने भन्दापनि झस्काउने प्रकरणहरू बग्रेल्ती छन् । जन-जनको मुखमै झुण्डिएका यस्ता बेथिति, परिवारवाद र भ्रष्टाचारका काण्डहरूको नाम वा विशेषण किटेर यहाँ उल्लेख गरिरहनु आवश्यक छैन । सचेत जनता वाक्क-दिक्क भइसकेका छन् । यो यथार्थप्रति निर्लिप्त भावमा आँखा चिम्लिएर प्रधानमन्त्री प्रचण्डले बितेको एक वर्षमा सुशासन र समृद्धिको पक्षमा आफूले ऐतिहासिक कार्य गरेको दाबीसहित अनेक कार्यको फेहरिस्त लगाएका छन्, देशलाई सम्बोधन गर्ने नाममा ! जनताका अपेक्षा के थिए, तर सरकारबाट जनता उपेक्षित किन भए ? आज सरकारप्रति चरम असन्तुष्टि र आक्रोश प्रकट गर्नुपर्ने अवस्थामा तमाम नेपाली किन पुगे ? नेताहरू जुत्ता र खोयाको झटारो झेल्नुपर्ने परिस्थितिमा कसरी आइपुगे ? यस्ता सामान्य लाग्ने तर अति गम्भीर सवालमा घोत्लिन सम्भवतः प्रचण्डसँग समय छैन । एक हातको औंलामा गन्न सकिने नेता तथा नेताका परिवारको चङ्गुलमा मुलुकलाई फसाउन प्रचण्डनेतृत्वको सरकारले उल्लेख्य भूमिका निर्वाह गरेको छ र, यसैका लागि उनको पछिल्लो कार्यकाल स्मरणमा रहनेछ भन्दा अतिशयोक्ति ठहरिने छैन ।

photo: rss