‘खेल’ खेल्दै सुरक्षा पन्त

‘खेल’ खेल्दै सुरक्षा पन्त


विश्वका ठुला चलचित्र उद्योगहरूसँग प्रतिस्पर्धामा आउने दाबी गरिएको महत्त्वाकाङ्क्षी नेपाली सिरिज ‘खेल’को शुभमुर्हत गरिएको छ । सोमबार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सिरिजका निर्देशक, कलाकार तथा प्राविधिकहरूको उपस्थितिमा क्यामेरा र स्क्रिप्ट पूजा गरिएको हो ।

बलिउडका दर्जन बढी चलचित्रमा सह-निर्देशन गरेका अनुराग प्रधानले निर्देशन गर्ने यस सिरिजमा प्रतिभावान, बौद्धिक एवम् सुन्दरी अभिनेतृ सुरक्षा पन्तले प्रमुख भूमिकामा अभिनय गर्दैछिन् । पन्तसँगै भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यमप्रसाद ओली लगायतको अभिनय रहनेछ । सिरिज काठमाडौंभित्र करिब एक महिना छायाङ्कन हुने बताइएको छ । निर्देशक प्रधानले एक सय वर्षअघिको काठमाडौंको सेटअपमा पूरै सिरिज छायाङ्कन हुने बताए ।

विश्वभर लोकप्रिय रहेको ओटीटी प्लेटफर्म ‘नेटफ्लिक्स’को प्राविधिक मूल्याङ्कनमा आधारित रही बन्ने यो सिरिजको पहिलो सिजन पाँच श्रृङ्खलाको हुने प्रधानले बताए । उनले आफूलाई नेटफ्लिक्सले आफ्नो गुणस्तरमा सिरिज बनाइ पेस गरेपछि मूल्याङ्कन गरी रिलिज गर्ने जानकारी पनि दिए । नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेका केही बलिउड चलचित्रमा काम गरेका उनले नेपाली कन्टेन्टको लागि नेटफ्लिक्सले अग्रिम लगानी नगरी पछि मूल्याङ्कन गरी रिलिजबारे निर्णय लिने बताएपछि आफूले सोहीअनुरूप सिरिजमा काम गरिरहेको बताए । यसको लागि क्यामेरा लेन्स सहित केही छायाङ्कन सामग्रीहरू भारतबाट ल्याइएको उनको भनाइ छ ।

पौराणिक र अध्यात्ममा आधारित यो सिरिजमा चार जना साथीहरूको कथा रहनेछ । संसारभर बोलीचालीमा जुनसुकै भाषा प्रयोग हुने भएता पनि चलचित्रको कुनै भाषा नहुने भएकोले ‘खेल’लाई विश्वका सबैले हेर्न सक्ने प्रधानले बताए । एक दशकअगाडि बलिउडको चर्चित चलचित्र ‘बर्फी’मा इन्टर्न गरी चलचित्र यात्रा सुरु गरेका दार्जिलिङनिवासी निर्देशक प्रधानले बलिउडका चर्चित चलचित्रहरू ‘जग्गा जासुस’, ‘बादशाहो’, ‘हिट : द फस्र्ट केस’, ‘धक धक’ लगायत चलचित्र तथा सिरिजमा सह–निर्देशन गरेका छन् ।

सिरिज अभिनेत्री सुरक्षाले आफू पहिलेदेखि नै ओटीटीको वकालत गर्दै आएको बताइन् । उनले अब बन्ने चलचित्र तथा सिरिजहरू हलमा मात्र सीमित हुन नहुने बताउँदै नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाउँदा खुसी रहेको जनाइन् । सिरिजमा आफ्नो भूमिकाबारे बताउँदै उनले भनिन्, ‘अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेलको कथा हो । चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दैछु । कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्शाउन खोजिएको छ ।’

सिरुपाते कट्स प्रालिले निर्माण गर्ने यस सिरिजका निर्माताहरू आशिषराज महर्जन र लेविसराज महर्जन हुन् भने सह-निर्माता कुनाल गुरुङ हुन् । निर्माता आशीषको कथामा निर्देशक प्रधानले पटकथा लेखेका छन् । यसका सिनेमाटोग्राफर रोशन राई हुन् । राईले पनि बलिउडका केही चलचित्रमा सिनेमाटोग्राफी टिममा रहेर काम गरेका छन् । सिरिजमा एलेक्स बसुकलाको कस्ट्युम डिजाइन, किशोर नेपालको कला निर्देशन, आस्था श्रेष्ठको सह निर्देशन रहनेछ भने यमप्रसाद ओली प्रोडक्सन विभाग प्रमुख हुन् ।