क्यानडामा रोजगारको नाममा ठगीको सम्भावना

क्यानडामा रोजगारको नाममा ठगीको सम्भावना


कसरी लिने वर्क परमिट ?

नेपालमै कम्तिमा स्नातकसम्मका पढाइ पूरा गरेपछि मात्रै स्नाकोत्तर तहको पढाई पूरा गर्ने र त्यसपछि मात्रै रोजगार हुने उद्देश्य राखेर क्यानडा आउनु बढी लाभदायक हुन सक्छ । १२ कक्षा मात्रै उत्तीर्ण विद्यार्थीमा व्यवहारिक ज्ञान र सीपको कमी हुँदा क्यानडामा हत्तपत्ति रोजगारीको अवसर प्राप्त नहुने र रोजगारी मिलेपनि समय अभावमा गर्न नसकिने अवस्था सिर्जना हुन सक्छ ।
✍ वसन्त पाण्डे

क्यानडा, पछिल्ला केही वर्षयता नेपाली युवालाई विदेशिनु बाध्यता मात्रै नभएर अनिवार्य जस्तै बनेको छ । धेरैलाई देशमा अवसरको कमीले विदेशिन बाध्य बनाएको छ भने कतिपय स्वदेशको आम्दानीमा सन्तुष्ट हुन नसकेपछि विदेशिनु रहर भएको छ । रोजगार र शिक्षाका लागि विदेशिनु बाध्यता भएपनि कतिपय घुमघामकै लागि विदेश प्रवेश गर्ने र उतै रोजगार वा व्यवसायमा जम्ने गरेका छन् । कतिपयको उद्देश्य उतै रोजगारी गर्ने तर यहाँबाट भिजिट भिसाको बहानामा विदेशिनेहरूको संख्या पनि ठूलो छ । जे होस्, घुमघाम, रोजगार वा शिक्षा जे बाहनामा भएपनि हामी नेपालीलाई पछिल्लो समय विदेशिनुपर्ने बाध्यता छ । देशमा राम्रो रोजगारको अवसर नपाउने र जसोतसो रोजगारी पाएपनि आम्दानीले घरखर्च धान्न र परिवार पाल्नै कठिन भएपनि दैनिक सयौँको सङ्ख्यामा नेपाली युवाहरू विश्वका अधिकांश देशमा पुगिरेहको आजको वास्तविकता हो ।

नेपाली युवाहरूको यही बाध्यताको फाइदा भने कतिपय ठगी धन्दा गरेर अकुत आर्जन गर्ने व्यक्ति वा समूहले लिएको देखिन्छ । केही अघिसम्म मलेसिया, कतार, दुबई, साउदी, बहराइन लगायतमा मध्यपूर्वी देशहरूमा आकर्षक रोजगारी र आम्दानीको लोभ देखाएर ठगी गर्नेहरूले पछिल्लो समय यूरोप, अमेरिका, क्यानडा, अष्ट्रेलियालगायतका आकर्षक मूलुकमा रोजगारीको अवसर देखाएर ठगी गर्न उद्धत छन् । कतिपयले आफू ठगिएको एउटा देशमा रोजगारका लागि लगेकोमा अर्को गरिब देशमा पु¥याएपछि मात्रै पत्तो पाउने गरका घटनाहरू एकपछि अर्को गरी आउने गरेका छन् । फेसबुक, टिकटक, एक्स, लाइकी जस्ता चर्चित सामाजिक सञ्जालमा दिइने आकर्षक विज्ञापनको विश्वासमा पर्दा युवाहरू ठगी गर्ने गिरोहको सम्पर्कमा पुग्ने र आकर्षक रोजगारीको प्रलोभनमा परेर ठगिने गरेका छन् ।

वैदेशिक रोजगारीको मृगतृष्णामा रहेका युवाहरूलाई राम्रो रोजगारीको अवसर रहेको भन्दै हुबहु कागजात देखाएर प्रलोभनमा पारेर गिरोहले ठगी गर्दै आएका छन् । सक्कल जस्तै नक्कली कागजात देखाएर ठगी धन्दा चलाइरहेकाहरूको स्क्याममा सोझासाधा युवाहरू पर्ने जोखिम बढी हुने गरेको छ । बिना सीप वा औपचारिक शिक्षाविना नै रोजगारी दिलाउने तर त्यसका लागि मोटो रकम खर्च लाग्ने भन्दै युवाहरूलाई फसाउने गरिएको गुनासो व्यापक मात्रामा सुनिन्छ । क्यानडा, युरोप, अमेरिका जस्ता उच्च आम्दानी हुने देशहरूमा पुगेर रातारात लाखौँ आम्दानी गर्ने सपना बुनेका युवाहरू पत्तै नपाइ गिरोहको जालमा पर्दा घर न घाटको भएका धेरै घटनाहरू बाहिर आएका छन् । नक्कली भिसा, अफर लेटरलगायतका कागजात सक्कली जस्तै देखाएर युवाहरूलाई झुक्काउने गरिएको छ । ठगीबाट बच्नका लागि पर्याप्त जानकारी हुन आवश्यक छ । आज यहाँहरूलाई क्यानडा कसरी आउने ? अध्ययनका लागि कुन तह उत्तीर्ण गरेपनि क्यानडा आउने र रोजगारीका लागि के-कस्तो अवसर छ भनेर विस्तृतमा जानकारी दिने प्रयास गरेको छु । सर्वप्रथम त क्यानडामा रोजगारीको नाममा हुने सम्भावित ठगीबाट कसरी जोगिने ? यहाँ यसबारे चर्चा गरिँदै छ ।

क्यानडाको भिसा र रोजगारीको नाममा हुने ठगीबाट कसरी बच्ने ?

तपाईं क्यानडा आउन चाहनुहुन्छ भने पछिले आवश्यक प्रक्रियाका विषयमा क्यानडाको दुतावासको आधिकारिक निकाय वा वेवसाइटमा गएर विस्तृत विवरण अध्ययन गर्नुपर्ने हुन्छ । साथै क्यानडाको भिसा प्राप्तिको प्रक्रियापछि आवश्यक कागजात जुटाउने र नियमपूर्वक भिसाका लागि आवदेन दिनुपर्ने हुन्छ । पैसा खर्च गरेकै भरमा कसैले सहजै क्यानडा पठाइदिजन्छु भन्यो भने विश्वास गरिहाल्नु हुँदैन । आर्कषक विज्ञापनको भरमा कसैले क्यानडा पठाउने प्रलोभन देखाएको छ भने त्यस्ता व्यक्ति वा गिरोहको विश्वास कदापि गर्नु हुँदैन । विना सीप र उच्च शिक्षाविना क्यानडामा रोजगारीको अवसर नमिल्ने हुँदा पहिले नै स्पष्ट हुन आवश्यक छ । आफूसँग सीप र दक्षता छ भने मात्रै क्यानडामा भिसाको लागि आवेदन दिनु सबै भन्दा बढी उपयुक्त हुन्छ ।

विद्यार्थीहरू प्लस टु पछि आउने कि स्नातक उत्तीर्ण गरेपछि क्यानडा आउने ?

पछिल्लो समय नेपालमा १२ कक्षा उत्तीर्ण गरेपछि क्यानडा आउन चाहनेको ठूलो जमात छ । तर मोटो रकम खर्च गरेर अध्ययनको बहनामा रोजगार गर्ने र छिट्टै कमाउने भित्री मनसाय विद्यार्थीहरूमा देखिन्छ । बिना सीप, बिना उच्चशिक्षा क्यानडामा रोजगारका लागि विद्यार्थी भिसामा आउनु उचित होइन । १२ कक्षा उत्तीर्ण विद्यार्थीले क्यानडा आएपछि पहिलो प्राथमितामा उच्च शिक्षा पूरा गर्नुपर्ने हुन्छ । उच्च शिक्षा पूरा गर्दा क्यानडामा ठूलो धनराशि खर्च हुने र जुन धनराशि पढ्दै काम गर्दै पूरा गर्न कठिन हुन्छ । बरु नेपालमै कम्तिमा स्नातकसम्मका पढाइ पूरा गरेपछि मात्रै स्नाकोत्तर तहको पढाई पूरा गर्ने र त्यसपछि मात्रै रोजगार हुने उद्देश्य राखेर क्यानडा आउनु बढी लाभदायक हुन सक्छ । १२ कक्षा मात्रै उत्तीर्ण विद्यार्थीमा व्यवहारिक ज्ञान र सीपको कमी हुँदा क्यानडामा हत्तपत्ति रोजगारीको अवसर प्राप्त नहुने र रोजगारी मिलेपनि समय अभावमा गर्न नसकिने अवस्था सिर्जना हुन सक्छ । रोजगारदाताले पनि सकेसम्म पार्टटाइम काम गर्नेहरूलाई भन्दा फूल टाइम काम गर्नेहरूलाई प्राथमिकता दिने गरेका कारण पनि स्नातक उत्तीर्णपछि मात्रै क्यानडाको भिसाका लागि आवेदन दिनु उचित हुन्छ ।

क्यानडामा वर्क परमिट कसरी प्राप्त गर्ने ?

आप्रवासीका लागि क्यानडामा काम गर्नका लागि सबैभन्दा पहिले वर्क परमिट आवश्यक पर्दछ । वर्क परमिटका लागि दुई प्रकारको तरिका अपनाउन सकिन्छ । पहिलो एक रोजगारदाता-विशेष क्यानेडियन कार्य अनुमति र अर्को भनेको एक क्यानडा खुला कार्य अनुमति । पहिले चर्चा गरौँ एक रोजगारदाता विशेष क्यानेडियन कार्य अनुमितको विषयमा । नियोक्ता विशेष कार्य अनुमतिले कार्य गर्न अनुमति दिने नियोक्ताको नाम, कामदारले काम गर्न सक्ने अवधि र कामको स्थान उल्लेख गरिएको हुनुपर्छ । रोजगारदाता विशेष कार्य अनुमतिका लागि रोजगारदाताले श्रमिकलाई निम्न प्रकारका विषयहरू उपलब्ध गराउन अनिवार्य छ । १) श्रमिकको रोजगार सम्झौताको प्रतिलिपि, २) श्रम बजार प्रभाव मूल्याङ्कन (एलएमआईए)को प्रतिलिपि वा एलएमआईए मुक्त कामदारहरूका लागि रोजगार नम्बरको प्रस्ताव ।

के हो त श्रम बजार प्रभाव मूल्याङ्कन (एलएमआईए) ?

अन्तर्राष्ट्रिय श्रमिकलाई काममा राख्नुअघि क्यानडाका रोजगारदाताहरूले एउटा विशेष कागजात प्राप्त गर्नु पर्दछ, जसलाई छोटकरीमा एलएमआईए भनिन्छ । कुनै पनि विदेशी कामदारलाई काममा लगाउनुअघि यहाँका रोजगारदाताले क्यानडाकै नागरिक वा स्थायी बासिन्दा कामका लागि उपलब्ध छैनन्, उक्त कामका लागि विदेशी श्रमिकको आवश्यता छ भन्ने पुष्टि गर्नु नै एलएमआईए हो । यदि एक रोजगारदातालाई एलआईएमए आवश्यक छ भने एउटाका लागि आवेदन दिन सक्छन् ।

यसबाहेक क्यानडामा रोजगारीका लागि अस्थायी विदेशी कामदार कार्यक्रम (टीएफडब्लूपी) मार्फत पनि विदेशी कामदार लिन सक्छन् । यसका लागि पनि क्यानेडेली कामदार उपलब्ध नभएको अवस्थामा अस्थायी रुपमा विदेशी कामदार राख्नका लागि अनुमति लिनुपर्छ ।

(एक दशकदेखि क्यानडा रहँदै आएका पाण्डे वैदेशिक रोजगारी एवम् आप्रवासनसम्बन्धी विषयका अध्यता हुन् ।)