आन्तरिक विकृतिको समीक्षाअगावै सकिँदैछ एनआरएनए !?

आन्तरिक विकृतिको समीक्षाअगावै सकिँदैछ एनआरएनए !?


बैरागिएका एनआरएनएका नेताहरू क्रमशः जोगी हुने लाइनमा !!

केही वर्षअघिसम्म एनआरएनए हो..होकि जस्तो देखिन्थ्यो । यो संस्था धेरै रहस्यको पत्रले जेलिएको थिएन, त्यो कुनै उखर्माउलो कृत्रिमताले जेलिएको पनि थिएन । सादा देखिने तर महत्वाकांक्षी र व्यापारको जालो बनाएर मजा लिने तप्काले नेतृत्व गर्थ्यो यो संस्थालाई । आफ्नो वर्ग माथिल्लो भएपनि तल हेरेर प्रेम र करुणाको कसम खान्थ्यो नेतृत्वले । संस्था अलिक उज्यालो, अलिक हरियो र आशालाग्दो थियो ‘जोगी-सत्ता’को आगमनपूर्व ।
✍ डिल्ली अम्माई

‘विश्वको कुना काप्चामा हेर, जहाँ एउटा एनआरएन हुन्छ, त्यहाँसम्म नेपाल पुगेको हुन्छ’… अब त यो गीतको भावले पनि हावा खायो कि जस्तो लाग्न थाल्यो ! एनआरएनए दिन-प्रतिदिन मात्रात्मक रूपले फैलिँदै गयो तर एकताबाट नभइ अनेकताबाट । यो संस्था साझा हुन सक्यो कि सकेन कसैलाई थाहा छैन, तर फुटेर तीनवटा भइसक्यो । प्रत्येक अधिवेशनले जन्माइरहेछ दुई कार्य समिति ! यसरी बढ्दै र फैलिँदै जाँदा यो संस्थाले फुटको प्रतिस्पर्धामा एकदिन नेकपालाई पनि उछिनेर गोल्ड मेडल नलेला भन्न सकिन्न !

कारण आर्थिक वा अन्य जे भए पनि नेपालीहरू नेपालबाट बाहिरिने क्रम तीव्र रूपले चलिरहेको छ । अब त नेपाली नपुगेको विश्वमा कुन देश पो होला र ! अफ्रिकामा जाउँ नेपाली साहित्यकारका भाँचिएका कलमका टुक्रादेखि फाटेका जुताका तना गल्ली र हिलाम्य पाखाहरूमा छरिएका हुन्छन् । त्यहाँ पनि नेपालीसँगै एनआरएनए पुगिसकेको छ ।

दक्षिण अमेरिकाका प्रायः सबै देशमा अर्जेन्टिनादेखि होण्डुरससम्म नेपालीहरूले झोला हल्लाउन थालेका खबर आइरहेका छन् । कतिपय नेपाली दलाली गर्न त्यहाँ पुगेका छन् भने कतिपय अमेरिका छिर्ने अभिप्रायले त्यतै अल्झिएका छन् । कतिपयले त्यतै एनआरएनए पनि बनाएको सुनिन्छ ।

अमेरिका छिर्ने क्रममा पानामा, कोष्टारिका, निकारागुवा र होण्डुरसका जंगलमा छरिएका कंकालमाथि नेपाली पासपोर्ट भेटिन थालेका समाचार आइरहेका छन् । ती नेपालीलाई त्यो अवस्थामा पुऱ्याएर प्राण त्याग्ने कारणका त्यान्द्राहरू कोलम्बिया, ब्राजिल, अफ्रिका र मध्येपूर्वका एनआरएनएसम्म फैलिएका खबरहरू आइरहँदा यो संस्था लमतन्न सिरानी हालेर सुतिरहेको छ । संसारभरको करुणाविहीन श्रम-व्यापारीको अभिभावक बन्दै गरेको यो संस्था कहिले जुरुक्क उठेर निर्धाहरूको सहारा बन्ला भन्दाभन्दै संस्था उल्कापिण्ड टुक्रिएझैँ वान पिसबाट थ्री पिस भइसक्यो !

यो कसैलाई हियाएर भनेको होइन नि ! एनआरएनए नेता तथा लाभान्वित वर्ग नरिसाउनु होला, हुन त रिसाए पनि केहि फरक पर्दैन । उत्तर अमेरिकाको नाममै सपनाका तरुल उसिनेर खाने र नेपालमा बिहे गर्न जाँदा अमेरिकी हुनुको धक्कुले केटीपक्षको सातो खाने पहिचानविहीन जँड्याहाहरूको हुल विज्ञापनको लागि उतैको झण्डा प्रयोग गर्न पछि पर्दैन  । उता अमेरिकामा छँदा बौद्धिकहरूको ‘जाँड–सम्मेलन’मा नेपालको हुँ भन्दै जोसिन्छ । प्रवासको बसाइले नेपाली रगत बर्णशंकर भएर यस्तो फुर्ति बढेको हो वा विदेशी दासताले स्वाभिमानको सिङ गिदीसम्म धसिएर प्रवासीहरूको मानसिक अवस्था खल्बलिएको हो, यसै भन्न सकिन्न ।

बौद्धिक सामर्थ्यले पनि, नैतिक शक्तिले पनि र दैनिक आचरणले पनि  प्रवासको दानामा भुलेको दीनहीन, ऊ पहिचानविहीन, मणिपुरको नेपाली वा अझ आफ्नो पहिचानको लागि लड्ने म्यानमारको नेपाली भन्दा एनआरएनएको सोडाले फुरेको तुच्छ जीव । तर अचम्मसँग नेपाल पुगेर गफ दिन्छ, ‘यार म अमेरिका, युरोप, अष्ट्रेलिया वा त्यतै-त्यतैको महान मान्छे । आइ एम ग्रेट अमेरिकन !’

नेपालमा कर्मबाट थाकेर लासझैँ आश मारिएको दो पहिया जीव, अझै कतिविधि हुन् त्यसका ध्वाँस ! तीन कप्टेरा परेर चिहानको म्युजियम चुलोमा झोसिन लागेको एनआरएनए ! हाछ्युँ !!

यिनै देशविहीन झुसिलकिराहरूको संख्या बढ्दो छ, त्यही संख्याको विशालतामा झुम्दै ह्वीस्कीको सुस्कता, निस्फिक्रीमा पहिरनको झाम्टो हल्लाउँदै छन् अझै हाम्रा सुकिढल स्वाभिमान भएका फुर्तिमा रम्ने जीवहरू ।

सुन्दैमा त्यसै-त्यसै भनन्न रिँगटा लाग्ने कथा बोकेको एनआरएनए, देख्दैमा त्यसै-त्यसै पश्चिममा राउटे किशोरले आगन्तुकसँग रक्सीको अपिल गरेको जस्तो थुतुनु  । अझै हाम्रो राम्रो एनआरएनए रे ! … कठै !!

अब त्यो थुतुनु देखेर माया गर्नु कि उनीहरूका बढिरहेका टुकडीहरू देखेर हर्षबढाइँको नगरा घन्काउनु ! उचित अनुचित के हो रोज्ने काम, उनीहरूले टक्र्याएको विलासी गद्दामा बस्ने राष्ट्रिय पहिचान मेटिएका अन्तर्राष्ट्रिय जातिहरूको । अब सबै चाटुकारहरूले आफ्नो टुकडी रोजौँ र उनीहरूले दिएको कलो स्वीकार्दै प्राप्त विलासी गद्दामा विराजमान होउ, कि कसो हो लाहुरे दाइहरू ?!

हुन त एनआरएनए नामक यो रङ, राग र रौसविहीन संस्था जे प्रयोजनका लागि खोलिएको थियो, त्यसको औचित्य उहिल्यै सकियो । बूढा गोरु जस्ता ग्लोबल बानियाहरूले आफ्ना पार्टनर उहिल्यै बटुलीसके । यो सँस्थाप्रतिको चासो पनि उनीहरूले छोडी सके ।

‘टालाटुली बटुली, कति राम्री पुतली’ यता जे गर्नुथ्यो बुढाहरूले गरिसके, उता ब्यावसायिक पुतलीलाई फुलबुट्टे जामा पनि भिराइसके । बुढा रकमीहरूको तेलघसुवामा जिन्दगीको एक हिस्सा बिताएकाहरूको अहिले एनआरएनए नामक चुहिने गोठमा हरिबिजोग छ बरा ! अझ यसलाई कन्तबिजोग भन्दा पनि हुने भो । सबै हाइपर झुण्डभित्र सुपर र सुपर झुण्डभित्र छापामारहरूको आक्रामक झुण्ड । अझ दश वर्ष कुर्नुपर्छ झुण्डैझुण्डका धेरै कुण्ड तथा मन्दिरहरू देख्न पाइन्छ ।

लगभग एनआरएनएले नेपाली समाजको वर्ग चरित्रको मात्र प्रतिनिधित्व गरेको छैन । यसले सामाजिक र राजनैतिक चरित्रको पनि प्रतिनिधित्व गरेको छ । वर्ग चरित्रको प्रतिनिधित्व यस मानेमा कि यिनीहरूको लर्कोभित्र दास झैँ आधुनिक प्रजाहरू पनि खिसिक्क छन् र तिनीहरूको लेवीले आफ्ना कर्मचारी पालेका धुन्धुकारी मालिकहरू पनि लुपुक्क छन् । चाकडीमा कीर्तन गर्ने कीर्तने टोलीभित्र जोगीदेखि पत्रकारहरूको रंगीबिरंगी लस्कर पनि छ ।

नेपाली सामाजिक चरित्रको अर्थमा पनि एनआरएनए कमजोर छैन । यसभित्र ठेकेदार, बिचौलिया, तान्त्रिक आमाहरूको लस्कर र रंगलीलाको लागि अप्सरा तथा किन्नरहरूको फरक-फरक डफ्फा समेत छ । ती डफ्फाहरू सदाबहार तीनैलोक चौध भुवनमा विचरण गर्दछन् । कामदारहरूले दुईवर्षे ट्याक्स तिर्छन् र यो महाझन्झटबाट बिदा लिन्छन् । त्यसैले यो संस्थाका तीनै डफ्फाहरू महाअभियानमा सदाबहार क्रियाशील छन् । त्यहाँ जे खोज्यो त्यही छ भन्नाले जोगीदेखि भोगीसम्म, रोगीदेखि बैरागीसम्म ।

अब अर्को राजनैतिक चरित्रको त एनआरएनएभित्र कुरै गर्नु परेन । नेपालमा जति राजनीतिक पार्टी छन् लगभग त्यति नै एनआरएनए बन्ने लाइनमा यो संस्था उभिएको छ । तीन भाइ भइसके । एमाले, कांग्रेस, माओवादी र जनजातिका प्रतिनिधिमुलक एनआरएनए बनिसके । अब कांग्रेस र माओवादीको पनि फरक-फरक लाइनको संघर्ष चर्कियो भने विश्वले गर्व गनलायक चार एनआरएनए हुन्छन् । त्यसले बिस्तारै नेपाली समाजको मात्र नभएर वैश्विक समाजको प्रवृत्तिलाई प्रतिबिम्बित गर्ने देखिन्छ  । अब वैश्विक जातिको प्रवृतिगत म्युजियम बन्ने पालो एनआरएनए अर्थात गैरआवासीय नेपाली संघको पालो ।

यो संस्थाभित्र के छैन ? संसारका मानवजातिको भएजति रंगरोगन सबै छ । अर्थात् त्यो बहुरंगी एनआरएनएका मोर्चाहरूमा मानवश्रम विज्ञ टीम, मालिकबत्सल कार्यकर्ता युनिट, चैते रनिङ चलखेल नेटवर्क, बिचौलिया तथा ठेकदार युनिट, घडेरी तथा जग्गाविद् तथा काँटछाट सिप समुह, श्रम ओसारपसार युनिट, आईएलओ लगायत एनजिओ प्राप्त सहयोग बाँडफाँड समुह, चेली सप्लायर्स, लम्पट तथा चाकर काफिर समुह सबै-सबै छ । नेपाली हुन आवश्यक तत्व सबै छ हाम्रो यो तीन तीर्थस्थल जस्ता एनआरएनएहरूमा । नेपाली राजनीतिभित्रका, नेपाली धार्मिक समूहभित्रका, आर्मी, कक्टेल समाज र सबैतिरका पवित्र तत्वमिश्रित यो समुहलाई बंशजको नागरिकता दिनुपर्ने कठोर माग दर्तापुस्तिकामा दर्ज छ । सबै तत्वले भरपुर हुँदाहुँदै पनि किन नागरिक हुन नालायक घोषणा गरियो हाम्रो प्रवाशको टुल्कु समाजलाई । पूर्ण नेपाली किन भनिएन यो जत्थालाई । एनआरएनएको लागि यो जीवन र अर्को जीवनको माग बन्ने पक्का भो यो नागरिकताको माग ।

केही वर्षअघिसम्म हाम्रो एनआरएनए हो-होकि जस्तो देखिन्थ्यो । यो संस्था धेरै रहस्यको पत्रले जेलिएको थिएन, त्यो कुनै उखर्माउलो कृत्रिमताले जेलिएको पनि थिएन । सादा देखिने तर महत्वाकांक्षी र व्यापारको जालो बनाएर मजा लिने तप्काले नेतृत्व गर्थ्यो यो संस्थालाई । आफ्नो वर्ग माथिल्लो भएपनि तल हेरेर प्रेम र करुणाको कसम खान्थ्यो नेतृत्वले । संस्था अलिक उज्यालो, अलिक हरियो र आशालाग्दो थियो ‘जोगी-सत्ता’को आगमनपूर्व ।

क्याबात ! जो जे हैन त्यही हुँ भन्न पाइन्छ एनआरएनए भन्ने बुटी भिरेपछि । यसभित्र अहोरात्र खट्ने दोपायाको कष्टकर जवानी बिसवर्षे कष्टप्रद विरोधाभाषमै बित्यो ! यसले एक लाख भन्दा बढी जन्तुहरूको हुलिया सापटी र नामसारी गरेर लियो ।

बाहिरिया भगौडा अस्थीहरूको गणना लाखबाट करोड नपुगिन्जेल यिनै विभिन्न रंगका तौलियाले मुख ढाकेका चौलियाले एनआरएनए त्रिगुट चलाइरहनलाई अदालतले ठप्पा लगाइदियो । यिनको एकताको मजाकले वैधानिक ठप्पा फेरिने भए एउटा कुरा । तर त्यो ठप्पा फेरिने गरेर लागेकै हैन । एनआरएनएभित्रको नैतिक स्खलनग्रस्त यथार्थलाई प्रमाणित गर्न अब त्यो एउटा अदालती ठप्पा नै काफी छ ।

बंशजको नागरिकता पाएर नेपालको भविष्यलाई कायापलट गर्ने अष्टाबक्र नेतृत्व नागरिकता त्याग्ने बाहिरियाहरूको भिडमा देखिएको छैन । यो संस्थाको नेतृत्वको भिडमा देश ध्वस्त पार्न तम्सिने तर स्वाभिमानी नेपालीको क्यासेट लगाएर नाच्ने आडम्बरी कलाकर्मीहरूको मात्र बिगबिगी छ  । देशद्रोही, लुटाहा र मानव तस्करहरूको अप्रत्यासित अभिनय यो भिडभित्र उल्लेख्य छ । भूकम्पमा बाकस थापेर आँशुको ब्यापार गर्ने र झरेको पैसाले आफ्नो सम्पति बढाउनेहरू यस्तै संस्थामा ओत लागेर भाषण गर्दै हिँड्छन् । समृद्ध नेपालको झुटबाट, बंशजको नागरिकताको नाराबाट, परोपकारको ढोङबाट र साझा संस्थाको रटानबाट निःसृत भाग्यवश प्राप्त दुःख यो संस्थालाई जीवनपर्यन्त गाँजिरहने आशीर्वादसरहको उपहार हो । लोकलज्जा र सदाबहार छिःछी हुनुको दुःख पनि यो संस्थालाई कोमामा समेत चैनले स्वास फेर्न नदिने दमसरहको दुःख हो ।

मलाइ लाग्छ– एनआरएनएको सकस तीन, चार, पाँचको अंकमा संस्थाको पारपाचुके बढ्दै जाँदा अझै बढ्दै जाने छ । माफिया र मानवतस्कर मुर्दावाद ! फलानोलाई सामाजिक बहिस्कार गरौँ ! खन्चुवा गद्दार अति भयो जस्ता नाराको उचाइले अब कानुनी सहारा खोज्ने दिन आउने पक्का जस्तै छ ।

ज्यान झिल्सिएर गुन्द्रुक हुने हपहपी गर्मी किन नहोस्, टाई कसेर सुट नलगाई यो माफियाबेष्ठित एनआरएन नेतृत्वलाई आफ्नो अस्तित्वबोध हुँदैन  । देशविहीन नेपालीबीच रेमिट्यान्सको नारा फ्याँक्दै हुण्डी कारोबारी नेतृत्वले हामीलाई बेचिरहेको छ । हाम्रो विवरण आईएलओलाई बेचेर भीरबाट मह झारिसक्यो । हाम्रा विवरण बेचेर नेपालका खोलानाला त किनिसक्यो । अब त ट्याक्स हेभेनतिर पनि हाम्रो नामबाट बिजनेश गर्दैछ रे ! तर हामी अझै होसमा छौँ जस्तो लाग्दैन ।

एनआरएनएले तल हेर्छ भनेर हामी यसको मुखिया आउँदा फूल बोकेर मञ्च पुग्छौँ तर उसले तल के छ र हेर्नु, विवरण र भोटको लागि हो तल हेर्ने । त्यो पनि श्रमिककै विवरण बेचेको पैसामा किनिदिन्छ । ती दुई कर्म गर्दा बाहेक उसले तल हेर्दैन, माथि मात्रै हेर्छ । तलका तन्नम कामदार किनबेच हुन लायक छन्  भन्ने मुखियालाई राम्रैसँग थाहा छ ।

दलाल, माफिया र बिचौलियाको घेरामा रम्ने इलिटहरूलाई पसिनाको गन्ध भन्दा मिठो पर्फ्युम हुन्छ । गरिव श्रमिकहरूका रगतको भन्दा महँगो उनीहरूले पिउने ह्विस्कीको मूल्य हुन्छ । पीडितको आँशु र करुणा, चुनावमा भोट किन्दा मात्र काम लाग्ने हुन्, अघि–पछि के मतलव ! यो संस्थाको नेतृत्वमाथि यसरी विश्लेषण गर्नुभएको छ कसैले ! नो ! मलाई त्यस्तो लाग्दैन !

यथार्थ सुन्नुहोस्, एनआरएनएको विगत र आगतमा केन्द्रिय डफ्फाभन्दामाथि बिचौलिया र ठेकेदारको लगाम हाबी हुँदै आएको छ  । साहित्यकार खगेन्द्र संग्रौलाले नेकपालाई फ्याँकेका ब्यङ्ग्य लाइनहरू सापटी लिएर भन्नुपर्दा एनआरएनएमाथि कर्मचण्डाल, दलाल र ठगहरूको लगाम छ  । समुहको माथि जग्गादलाल र चेली-व्यापारीहरूको शक्ति हाबी छ  । माथि चोर र चण्डालहरूको घेराबन्दी छ  । माथि कमिसनखोरको चक्रब्युह छ, माथि अश्लील भ्रष्टाचार छ, माथि घुस छ, माथि काम न काजको सलामी छ  । माथि धन छ, आवश्यक परे माथि गन पनि छ  । माथि धाक छ, माथि रवाफ छ  । माथि मोज छ, माथि मस्ती छ  । तसर्थ यो ‘माथि’ लगभग स्वर्गभन्दा पनि उचाइको वैकुण्ठ नजिक छ  । त्यसैले यो एनआरएनएको माथिल्लो नेतृत्वभन्दा तल श्रमिकहरू छन्, प्रवाशमा पनि निम्छरिलो जन र जीवन छ, प्रवासबाट राजधानी झरेका जहाज अरविबाट गर्भवती चेली र मजदुरका लासहरूले भरिएर आएका हुन्छन् भन्ने यथार्थ भुसुक्कै बिर्सिएर माथि-माथि नै मस्त छ  । माथिको निकम्मा देवबस्ती केमा मस्त छ अब कसैलाई भन्नै परेन ।

थुक्क ! अझै हामीले एनआरएनएउपर आशा र भरोसा गर्दै ‘माथि माथि बालुवाटारको अफिसतिर’ हेर्छौं, नमस्ते गर्छौं । कहिलेकाहीँ कार्यालयमा पाले बसेका युथफोर्सका अर्धगुरिल्लाबाट दाँत फुस्किनेगरी कुटाइ खान्छौँ र रक्ताम्मे हुन्छौँ । हामी अभागी फुश्रा !!