विदेशमा नेपाल कसरी चिनाउने ?

विदेशमा नेपाल कसरी चिनाउने ?


नेपाल ‘अविकसित’ भन्नेलाई नेपाल अविकसित देश होइन ‘अब्यवस्थित’ हो भनेर कुरा गर्छु । भएका श्रोतलाई व्यवस्थित गर्न नसक्ने अनि ठूला-ठूला विश्व सम्मेलनको मञ्चमा उभिएर अविकसित देश भनेर भीख माग्ने सरकारको कुरा गर्छु । हो, म प्रत्येक देशमा भेटिएका मान्छेहरूसँग यसरी नै कुरा गर्छु ।
✍ राजेन्द्र खनाल ‘क्षितिज’

त्रिपन्न वर्षअघि बेलायतमा बरालिएपछि तारानाथ शर्माले ‘बेलायततिर बरालिँदा’ पुस्तक नै निकालेका थिए, हो अहिले पङ्क्तिकार पनि केही सातादेखि बेलायतमा त्यसरी नै बरालिइरहेको छ । कहिले लण्डन, कहिले रेडिङ, कहिले बाथ, कहिले ब्रिस्टोल, अनि कहिले वेल्स, बर्नह्यामको समुन्द्री किनार, टोनटोन, क्याम्ब्रीज, ग्लास्टनबेरी, स्वीनडन, स्कटल्याण्ड आदि–आदि । अझै यो बरालिने क्रम अरु चार महिना जति छुट्याएको छु ।

यात्राको क्रममा बेलायतीमात्रै नभएर विभिन्न देशका मान्छेहरूसँग ट्रेनमा, बसमा, विभिन्न रमणीय ठाउँमा भेट हुन्थ्यो । प्रायःजसोसँग म मुसुक्क हाँसेर पहिला बोलिहाल्छु, त्यो मेरो बानी नै हो । किनकि, मैले प्रायः अरु विदेशी मानिसहरू हामी र भारतीयजस्तो बोलिहाल्ने देखेको छुइन । अहिलेसम्म ४८ देशको भ्रमण गरिसक्दाको अनुभव हो यो मेरो । अमेरिका, युरोपका प्रायः देशहरू, अफ्रिकाका केही देश- युगाण्डा, घाना, तान्जिनिया, किलिमान्जारो, केन्या, पेरु, दुबही, कतार, अनि कोरिया, चाइना, जापान, अस्ट्रेलिया, फिलिपिन्स, भियतनाम, लावोस, क्याम्बोडिया अनि सार्कअन्तर्गतका देश, माल्दिभ्स बाहेक । मेरो भ्रमण अन्तर्राष्ट्रिय संघ-संस्थामा काम गर्दाको सिलसिलामा र, नितान्त पारिवारिक नै हुन्थ्यो ।

म जस्तै तपाईंहरू पनि विभिन्न देशको भ्रमण गर्नुभएको होला ? कसैको केही कम होला, अनि कसैको अझै बढी । अहिले विद्यार्थी भिसामा जाने र विभिन्न देशमा रोजगारीको लागि जानेको पनि हजारौँको लर्को दिनहुँ काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलमा देख्न सकिन्छ । त्यस्तै छोराछोरीले तेल भिसा र टोपी भिसामा बाबुआमालाई बोलाउने पनि त्यतिकै ठूलो जमात छ विभिन्न देशमा । तपाईं कुनैपनि अपरिचित व्यक्तिसँग परिचय गर्नुपऱ्यो भने, साधारणतया नामबाट शुरु गर्नुहुन्छ । तर जब तपाईं यसरी घुम्ने क्रममा हुनुहुन्छ भने, सिधै नाम सोधिँदैन । तपाईं कहाँबाट हो भनेर उसको देश पहिला सोधिन्छ । अनि कुराकानी लम्बियो भने मात्र नाम सोधिन्छ । तपाईंले सोधेपछि कुरा गर्ने त्यो विदेशी मान्छेले पनि ‘ह्व्यर आर यू फ्रम’ भनेर सोध्छ । उसले सोधिनसक्दै, तपाईंलाई ‘आई एम फ्रम नेपाल’ भनेर मुसक्क हाँस्दै भन्न हतार हुन्छ, होइन भन्नुस त ? त्यसपछि भर्खर परिचयको औपचारिकता निभाएको मान्छेसँग अरु खासै सोधिने प्रश्न हुँदैन । त्यसैले विदेशीले तपाईं कहाँबाट भनेर सोध्दा, हतारिएर म नेपालबाट हो नभन्नुस् । कस्तो मान्छेले सोधेको हो त्यो हेर्नुस्, अनि यो मान्छेलाई नेपाल देश थाहा छ कि छैन भनेर बुझ्न फरक तरिका अपनाउन सक्नुहुन्छ ।

मलाई पनि प्रायः विभिन्न देशको भ्रमण गर्ने क्रममा, भेटघाटमा, विभिन्न कार्यक्रममा, बसमा, ट्रेनमा, प्लेनमा, विभिन्न भ्रमण गरिएका रमणीय स्थलहरूमा सोधिने प्रश्न हो, ‘ह्व्यर आर यु फ्रम ?’

मैले कहिल्यै पनि हतार गरेर ‘आई एम फ्रम नेपाल’ भनिन् । म पहिला मान्छेको अध्ययन गर्थें, कस्तो मान्छे (वृद्ध, प्रौढ, केटा, केटी) हो त्यो हेर्थें, उसको व्यक्तित्व, बोल्ने तरिका आदि । अनि मुस्कानसहित म भन्थेँ- ‘क्यान यू गेस ह्वीच कन्ट्री आई एम फ्रम ?’ (के तिमी अड्कल गर्न सक्छौ, म कुन देशको हुँ भनेर ?) ।

प्रायःले ‘अहँ.. म त्यति राम्रो अड्कल गर्न सक्दिनँ’ नै भन्थे । कसै-कसैले चैँ मलाई इण्डियन, कसैले पाकिस्तानी र कसैले अरु देशको नाम लिए । तर, नेपाल भनेनन् । मलाई इण्डियन भन्दा चैँ मनमनै खुबै रिस उठ्थ्यो ।

अनि म फेरि सोध्ने मान्छेलाई ‘अर्को सुराक दिन्छु भन..’ भन्थेँ- आई एम फ्रम दि टप आफ दि वर्ल्ड !’

कतिले मिलाउँथे, अनि नमिलाउनेलाई फेरि अर्को सुराक दिन्थेँ- ‘आई एम फ्रम दि कन्ट्री आफ माउण्ट एभरेष्ट’ !

धेरैले मिलाउँथे, अनि खुसी लाग्दथ्यो, उनीहरूको मुखबाट नेपाल भनेको सुन्दा । यिनीहरूलाई माउण्ट एभरेष्ट नेपालमा छ भनेर कमसे कम थाहा रहेछ, त्यो सुनेर गौरवान्वित हुन्थेँ ।

कसैकसैलाई म ‘आई एम फ्रम दि ल्याण्ड अफ ब्रेभ गोर्खाज’ भन्थेँ । प्रायः बेलायत, अमेरिका, स्वेडन, डेनमार्क, स्वीजरल्याण्ड लगायत युरोपियन देश र अफ्रिकन देशका मान्छेहरूले ‘माउण्ट एभरेष्ट’ र ‘गोर्खाज’ भन्दा सजिलै चिन्दारहेछन् ।

कसैलाई म ‘आई एम फ्रम दि कन्ट्री ह्वीच नेभर कोलोनाइज्ड’ भन्थेँ । म त्यस्तो देशबाट हुँ, जुन देश कहिले पनि कसैको गुलाम हुन सकेन, र आज पनि छैनौँ, एउटा स्वतन्त्र राष्ट्रको रूपमा विश्वमा पहिचान बनाउन सफल भएका छौँ । संसारका १५० भन्दा बढी देशले स्वतन्त्रता दिवस मनाउँदा, हामी कसैको पनि अधीनमा आएनौँ । मैले यसो भन्दा धेरै देशका मान्छे अचम्मित नै हुन्थे । अनि भन्थे, प्रायः सबैजसो देश पहिला शक्तिशाली देशकै चङ्गुलमा थिए, तर तिमी त त्यस्तो देशबाट रहेछौ, जुन देश कसैको पनि कब्जामा नरही स्वतन्त्र रहेछ । अनि प्रतिप्रश्न गर्थे, तिमी त्यस्तो कुन देशबाट हो भन मलाई ? अनि म गर्वका साथ भन्थेँ- ‘आई एम फ्रम नेपाल’, ‘टप आफ दि वर्ल्ड’, ‘दि कन्ट्री अफ माउन्ट एभरेष्ट’ एण्ड ‘दि ल्याण्ड आफ ब्रेभ गोर्खाज ’ !

यसरी नेपालको बारेमा चिनाउन, तपाईंलाई पनि कसैले ‘तपाईं कुन देशबाट ?’ भनी सोध्दा यसरी नै प्रस्तुत हुनुभयो भने अवश्य पनि नेपालबारे धेरैले थाहा पाउन सक्छन् । सबैलाई माथि भनिएका सबै कुरा भन्नु पर्दैन, कुन मान्छेलाई के भन्दा ठीक हुन्छ, त्यहीबाट शुरु गर्नुस् । अझ कसै-कसैलाई त म ‘अद्वित्तीय झण्डा’को कुरा गर्छु । संसारका देशहरूका झण्डाहरूमा मेरो देशको झण्डामात्र त्रिकोणात्मक छ, बाँकी सबै देशको आयताकार छ भन्थेँ । अनि मेरो कोट, ज्याकेटमा लगाएको झण्डा देखाएर म यो देशबाट भन्थेँ । धेरैले नेपाल भनेर चिन्थे । यो अद्वित्तीय झण्डा धेरैलाई थाहा भएको पाएँ । अनि भन्थेँ यो झण्डा संसारका झण्डाहरूमा लामो समयदेखि प्रयोग भएको नेपाल तेस्रो मुलुक हो जुन २८० वर्ष भइसकेको छ । सबैभन्दा लामो समयसम्म प्रयोग भएको विश्वको झण्डामा डेनमार्क एक नम्बरमा अनि नेदरल्याण्ड दोस्रोमा पर्दछ पनि भन्थेँ । भारत, पाकिस्तान, बंगलादेशहरू जस्तै अरु देशका झण्डा त धेरै पछि जन्मेका भन्दा, छक्क परेर सुन्थे ।

छक्क त म तब परेँ जब मैले धेरै देशका मान्छेलाई ‘आई एम फ्रम दि कन्ट्रीअफ लर्ड बुद्ध बर्थ प्लेस’ (म बुद्ध जन्मेको देशबाट हुँ) भन्दा धेरैले भारत भनेर अड्कल गरे। यत्रो वर्षदेखि हामी बुद्ध नेपालमा जन्मेका हुन् भनेर भनिरहेका छौँ, अनि जहाँ-जहाँ गएर म बुद्ध जन्मेको देशबाट हुँ भन्दा, धेरै देशले भारत भने । अनि मनमनै पहिला आफैलाई धिक्कारेँ, अनि सरकारलाई धिक्कारेँ । श्रीलंका, चाइना, जापान, कम्बोडिया, थाइल्याण्ड लगायतले मात्र ‘नेपाल’ भने । अहिले पनि धेरै देशका मान्छेलाई बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम रहेछ । मैले बुद्ध नेपालमा जन्मेका हुन, कसरी तिमीहरू भारत भन्छौ भनेर प्रतिप्रश्न गरेँ ? उनीहरूले भने हामीले स्कुल पढ्दा किताबमै लेखिएको थियो ।

जो-जो नेपाल आएर लुम्बिनी पुगेका छन्, उनीहरूले चैँ थाहा पाए बुद्ध भारत होइन नेपालमा जन्मेका रहेछन् भनेर । बाँकीले भारत नै भन्ने गरेका रहेछन् । त्यसैले बुद्ध नेपालमा जन्मेका हुन् भनेर संसारलाई थाहा दिन म नेपाल सरकारलाई केही सुझाव दिन चाहन्छु, जुन ढिलो नगरी अभ्यासमा ल्याउनु जरुरी देख्दछु ।

✍ नेपाल सरकारको दूत भएर विभिन्न देशमा जाने राजदूतहरूले बृहत रूपमा त्यो देशमा विभिन्न माध्यमबाट, र प्रत्येक विशिष्ट भेटघाटमा यसको चर्चा गर्ने । आफ्नो भनाइ राख्दा, बुद्ध जन्मेको देशको प्रतिनिधित्व गर्दै म यहाँहरू समक्षबाट शुरु गर्ने ।
✍ राष्ट्रिय बैंकबाट अब छापिने कुनै पनि नोटमा बुद्धअंकित तेलिय चित्र राख्ने ।
✍ गृह मन्त्रालयले सबै प्रकारका नेपाली राहदानीमा, सबैभन्दा पछाडि बुद्धको तस्बिर राख्ने र, सबै भित्री पानाहरूमा बुद्धको आकृति देखिने गरि छपाइ गर्ने ।
✍ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल बायुसेवा निगमले जहाज उडनु (टेक अफ) गर्नुअघि ‘अब हामी केही छिनमा बुद्ध जन्मेको देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दैछौँ’ भन्ने ।
✍ त्यस्तै, नेपाल बायुसेवाका सबै जहाज अवतरण गर्ने बेलामा, अब हामी बुद्ध जन्मेको देश नेपालको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्दैछौँ भन्ने ।
✍ प्रत्येक सरकारी कार्यालयको देश-विदेशमा रहेको बैठककोठामा बुद्धको मुर्ति अनिवार्य रूपमा राख्ने, र
✍ विभिन्न देशका प्रमुख र प्रतिनिधि मण्डललाई उपहार दिँदा बुद्धको चित्र वा मुर्ति दिने ।

यसरी हामी अन्तर्राष्ट्रियस्तरमा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिनुका साथै पर्यटकहरू मार्पmत संसारभरि पैmलाउन सक्छौँ ।

हो, म प्रत्येक देशमा भेटिएका मान्छेहरूसँग यसरी नै कुरा गर्छु । नेपाललाई चिनाउने प्रयास गर्छु । अनि समय भयो, सुन्ने मान्छेको चाख बढ्दै गयो भने म थप नेपालका अरु अद्वित्तिय कुराहरू गर्छु । म यहाँको जंगल, नदीनालाको कुरा गर्छु । म यहाँको जैविक विविधताको कुरा गर्छु, पारिस्थितिय प्रणालीको कुरा गर्छु । एशियामा मात्र पाइने बाघको कुरा गर्छु, नेपाल, भारत र भुटानमा मात्रै पाइने एकसिँगे गैंडाको कुरा गर्छु । हिमालको कुरा गर्छु, ६ वटा ऋतु, केचनादेखि सगरमाथाको कुरा गर्छु । राष्ट्रिय निकुन्जको कुरा गर्छु, यहाँका रामसारमा आवद्ध सिमसार अनि तिलिचोको कुरा गर्छु । विश्व सम्पदाको कुरा गर्छु, प्राकृतिक श्रोत आदि-आदिको कुरा गर्छु । यस्ता धेरै छन् नेपालबारे विदेशीसँग कुरा गर्ने हामीसँग खजना ।

नेपाल ‘अविकसित’ भन्नेलाई नेपाल अविकसित देश होइन ‘अब्यवस्थित’ हो भनेर कुरा गर्छु । भएका श्रोतलाई व्यवस्थित गर्न नसक्ने अनि ठूला-ठूला विश्व सम्मेलनको मञ्चमा उभिएर अविकसित देश भनेर भीख माग्ने सरकारको कुरा गर्छु । बयासी प्रतिशत अनन्त धर्मालम्बीहरू भएको विश्वको एकमात्र ‘हिन्दू देश’ अनि ‘धर्मनिरपेक्ष राज्य’ भएको कुरा गर्छु । अन्त्यमा, राजनैतिक अवधारणा र सरकारको कुरा गर्छु । राजनैतिक सिद्धान्त, ज्ञान र नेताहरूमा जस्तो सोच हुन्छ, त्यस्तै सरकार हुन्छ भनेर कुरा गर्छु । अनि त्यसैको प्रतिफलस्वरुप विकाश वा विनास जे हुने हो सोहीअनुसार हुन्छ भन्छु । विकासमुखी अवधारणाको सकारात्मक सोचको अनि स्पष्ट दूरदृष्टिको नेताहरूमा खडेरी लागुन्जेल समृद्धिको बाटो नेपालले समाउन नसक्ने भन्दै छोटो कुराकानीको बिट मार्दछु ।

  • मालीगाउँ (काठमाडौं), हाल : बेलायत