राजनीतिक तलाउमा फालहान्दा डुबेका यी उम्दा कलाकार !

राजनीतिक तलाउमा फालहान्दा डुबेका यी उम्दा कलाकार !


✍ राजन घिमिरे

सर्जकले आफ्नो कार्यक्षेत्र, रुचि, क्षमता/दक्षता वा प्रतिभा चिनेर उपयुक्त क्षेत्रमा कदम नबढाइ यताउता भड्कन थाल्यो भने त्योजस्तो घातक सर्जकको जीवनमा अरु केही हुँदोरहेनछ । दर्शकहरूबाट राम्रो साथ र हात पाइरहँदा कसैको उक्साहट वा लहलहैमा आफ्नो स्थापित परिचय र धरातल नै छाडेर अर्को क्षेत्रमा फालहान्दा यता न उताको भइन्छ भन्ने उदाहरण बनेका छन् हिमेश पन्त ।

हास्य प्रस्तोताको रूपमा हिमेशले हात आर्जन गरेको लोकप्रियता र वाहवाही त्यतिबेला गुम्यो जब उनी राजनीतिक क्षेत्रमा प्रवेश गर्दै संसदीय आमनिर्वाचनमा उम्मेदवारको रूपमा खडा भए । कलाकारिता फाँटमा दह्रो तरिकाले अडिन नपाउँदै राजनीतिकर्मी बन्ने भूत उनमा सवार भयो र, सोही महत्वकांक्षाले आज हिमेश यता न उताका हुन पुगेका छन् ।

चुनाव हारेपछि राजनीतिक क्षेत्रमा पनि उनको पहुँच दह्रो हुन सकेन भने यता हांस्य कलाकरितालाई तिलाञ्जली दिएर उता फालहान्दा यताको क्रेज पनि एकाएक बिलाउन पुग्यो । हिमेशले राजनीतिमा प्रवेश गर्न धेरै नै हतार गरेको पाइयो । कलाकारिता फाँटमा राम्रो, बलियो र वजनदार सम्भावना हुँदाहुँदै चुनामा होमिन पुगेका उनलाई कसले उचाल्यो र यो खाडलमा पु¥यायो– जिज्ञासाकै सन्दर्भ बनेको छ ।

अब कलाकारितामा फर्कौं भने राजनीतिमा टिक्न नसकेर फेरि कलाकारितामा आयो भन्ने आरोप लाग्न सक्ने देखियो भने डटेर राजनीति गर्न पनि त्यसअनुसारको माहौल उनका लागि रहेन, वर्तमान राजनीतिमा जम्न आवश्यक कुराहरूमा उनी कमजोर नै देखिएका छन् ।

हिमेशसँगै कमेडियन च्याम्मियनबाट बजारमा छाएका अरू हास्य कलाकारहरूले यतिबेला दाम र नाम मात्र आर्जन गरेका नभइ आफूलाई शानका साथ स्थापित गरेका छन्, तर सोही स्टेजबाट आएका हिमेश यतिबेला कहाँ छन् ? के गर्दै छन् ? खोज्नुपर्ने अवस्था आएको छ । क्षमता, दक्षता र प्रतिभा उनमा कम थिएन तर राजनीति गरेर चुनाव उठ्ने हतारो उद्देश्य नै हिमेशको लागि घातक सिद्ध भयो । त्यसकारण समयभन्दा अगाडि, क्षमता भन्दा धेरै र आफ्नो पहिचान गुम्ने गरेर कुनै पनि विधा वा क्षेत्रमा फालहाल्नु हुँदैन भन्ने पाठ हिमेशबाट पनि सिक्न सकिन्छ ।

थोरै समयमा कलाकारिताबाट कमाएको क्रेज वा साखलाई हिमेशले यति चाँडो राजनीतिमा प्रवेश गर्ने माध्यम बनाउनु हुन्नथ्यो । आफूले धेरै हतार गरेको भान हिमेश आफूलाई पनि महसूस हुन थालेको छ यतिबेला । राजनीतिमा लाग्न त उनीसँग समय थियो, उमेर थियो । सबैभन्दा ठूलो कुरा त उनी कलाकारितामार्फत झ्याङ्गिदै थिए । तर, हतार गरेर उनले आफ्नो क्षमता र प्रतिभालाई राम्रोसँग फैलिनै दिएनन् ।