जापानमा सवारी नियम उल्लंघन गरेर जरिवाना तिर्ने नेपालीको संख्या बढ्दो

जापानमा सवारी नियम उल्लंघन गरेर जरिवाना तिर्ने नेपालीको संख्या बढ्दो


  • विशेष प्रतिनिधि, निगाता (जापान)

जापानको निगाता प्रान्तमा सवारीचालक अनुमतिपत्रबिना मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउने एक नेपाली पुरुष पक्राउ परेका छन् ।

जापानी समाचार संस्थाहरुमा प्रकाशित समाचार अनुसार नाम नखुलाइएका २६ वर्षीय नेपाली डिसेम्बर १८ तारिखका दिन पक्राउ परेका हुन् ।

प्रहरी अधिकारीहरुले सोधपुछका क्रममा लाइसेन्स देखाउन भनेपनि अस्विकार गर्दै नबुझाएका उनको स्वासमा रक्सीको गन्ध पाइएपछि समातिएका थिए ।

नियन्त्रणमा लिएर प्रहरीले परीक्षण गर्दा पक्राउ परेका व्यक्तिले अत्यधिक मापसे गरेको पाइएको समाचारमा उल्लेख छ ।

छानविनका क्रममा सवारीचालक अनुमतिपत्र नै नलिइकन उनले गाडी चलाउँदै आएको पाइएको प्रहरी अधिकारीहरुले बताएको समाचारमा उल्लेख छ ।

अभियुक्त नेपाली युवाले घटना तथा जरिवाना शुल्क स्वीकार गरेको समेत बताइएको छ ।

स्मरणीय छ, केही दिनअघि मात्र जापानको शिजुओखा प्रान्तमा गाडीले स्कुले विद्यार्थीलाई साइकलमा ठक्कर दिएर भागेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छन् ।

जापानमा रहर, लहड र काम विशेषले बाध्यतामा गाडी किन्ने र चलाउने नेपालीहरुको संख्या दैनिक बढ्दो छ । तर सबै नियमबारे जानकारी नलिने तथा नेपालमा नियम उल्लंघन गर्दा हुने कम कारवाही तथा न्यून जरिवानाको खेलाँचीका कारण दुर्घटनासँगै मोटो रकम जरिवाना तिर्न बाध्य नेपालीहरुको संख्या बढ्दो छ ।