समलिङ्गी विवाह : संस्कृति, प्रकृति या विकृति !

समलिङ्गी विवाह : संस्कृति, प्रकृति या विकृति !


यौनलाई जीवनको एउटा अङ्ग मान्न सकिए पनि त्यसैलाई सम्पूर्ण मान्नु कदापि उचित हुनसक्दैन । कोही ब्यक्तिविशेषमा समलिङ्गी अवस्था पैदा भयो भन्दैमा राज्य या समाजले आफ्ना पूर्ववत् मान्यता, मूल्य, कानून र ब्यवस्थामा अस्वाभाविक तरङ्ग उत्पन्न हुने कदम चाल्नुपर्छ भन्ने होइन । मानिसको हैसियतले समलिङ्गीहरूको न्याय, अवसर र अधिकारमा समान पहुँच स्थापित हुनुपर्छ, तर त्यसो भन्नुको अर्थ प्राकृतिक रूपमा उत्पन्न विकृतिलाई पनि राज्य र समाजले सहजै अङ्गीकार गर्नुपर्छ भन्ने होइन ।
✍ देवप्रकाश त्रिपाठी

समलिङ्गी विवाहलाई कानूनी दर्जा उपलब्ध गराउने दक्षिण एशियाकै पहिलो मुलुक नेपाल बनेको छ र, एशिया महादेशमा दोस्रो ! एशियाको पहिलो ‘मुलुक’ ताइवान हो, जुन चिनियाँ भूभागमा अमेरिकी आड लिएर भिन्न प्रकृतिको शासनसत्ता कायम गरिएको छ । एशियाको सबैभन्दा गरीब मुलुकको नयाँ पहिचान विश्वकै विपन्न देशको परिचय बनाउने दिशामा द्रुत गतिमा अग्रसर नेपाल समलिङ्गी विवाहलाई मान्यता दिने विश्वको पैंतिसौँ मुलुक हो । युरोपेली र अमेरिकी मुलुकहरू जसलाई हामीले समृद्ध, सभ्य र शिक्षित/दीक्षित मानिदिएका छौँ, ती मुलुकमा समेत समलिङ्गी विवाहलाई वैधानिकता दिने विषयमा गम्भीर विवाद र मतभिन्नता छ । तर नेपालमा बिना कुनै विवाद समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने चट्याङी कार्य भएको छ ।

वि.सं. २०६४ सालमा सर्वोच्च अदालतका न्यायाधीशद्वय बलराम केसी र पवनकुमार ओझाको संयुक्त इजलाशले समलिङ्गीहरूको अधिकार सुनिश्चित गर्न/गराउन आदेश दिएका थिए । त्यसबेला नेपालमा अमेरिकी राजदूत थिइन् न्यान्सी पल, जो आफै पनि समलिङ्गी थिइन् । नेपालको अन्तरिम संविधान र अदालती आदेशमा समलिङ्गीमैत्री प्रावधानले प्रवेश पाउँदा न्यान्सीका बारेमा थाहा नपाउनेहरू उनको ‘योगदान’का रूपमा बुझ्ने गर्दथे ।

प्राणीका रूपमा सबै समान हुन्- समान रहन्छन्, त्यसैले समलिङ्गीहरूप्रति दुर्भाव या उपेक्षाभाव रहनुपर्ने कुनै मौलिक कारण रहँदैन । उनीहरू पनि केवल मानिस हुन्, त्यसैले एउटा मानवका रूपमा उनीहरूप्रतिको प्रेम, सम्मान र अधिकारमा भिन्नता रहनु हुन्न । समलिङ्गी भएकै कारण कसैलाई संवैधानिक, कानूनी, राजनीतिक र अन्य अधिकारबाट वञ्चित गरिनु मानवतासम्मत विषय हुन सक्दैन । जहाँसम्म समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने विषय छ, योचाहिँ अत्यन्तै सम्वेदनशील मानिन्छ ।

कोही मानिस जन्मदै तेस्रोलिङ्गीका रूपमा प्रकट हुन्छन् भने त्यसो हुनुमा जन्मने ब्यक्तिको दोष या योगदान मान्न सकिन्न र, त्यो कुनै गौरवको विषय पनि हुन सक्दैन । शरीरमा अस्वाभाविक किसिमले हार्मोनको विकाश भएर कसैमा समलिङ्गीप्रतिको आकर्षण पैदा हुने गर्छ भने त्यसमा पनि ब्यक्तिको योगदान या दोष रहँदैन र, यस्तो अवस्थालाई गौरवमय मान्नुपर्ने कारण पनि रहन्न । कतिपय मानिस समलिङ्गी हुनु या समलिङ्गी भाव पैदा हुनुलाई प्राकृतिक भएकोले यसलाई स्वभाविक रूपमा लिनुपर्ने धारणा राख्छन् र, उनीहरूको खुशीका निम्ति विवाहलाई पनि कानूनी मान्यता दिनुपर्छ भन्ने ती मानिसहरूको भनाइ रहने गरेको छ । प्रकृतिकै कुरा गर्ने हो भने हावा अर्थात् वायु प्राकृतिक हो, जसबिना प्राणी जीवित रहन असम्भव हुन्छ । त्यही वायु आँधिबेहरी बनेर आउँदा हामी सहज स्वीकार गर्न सक्दैनौँ, जब कि आँधिबेहरी पनि प्राकृतिक नै हो । चट्याङ, भूकम्पन, सुनामी, ज्वालामुखी आदि सबै प्रकृतिको ‘देन’ हुन्, तर अपवादका यस्ता घटनालाई प्रकृतिको विकृति ठानेर हामी सामना गर्दागर्दै पनि अस्वीकार गर्ने गर्छौं । समलिङ्गी अवस्था पनि प्राकृतिक नै हो भन्नेमा शङ्का रहन्न, तर त्यस्तो अवस्था उत्पन्न हुनु प्रकृतिका अपवादी घटना हुन् । अपवादलाई नै मूलप्रवाह मान्न या बनाउन खोजियो भने त्यसको परिणाम स्वभाविक नहुन सक्छ ।

कोही समलिङ्गी प्रकृतिका हुन्छन् भने त्यो तिनको ब्यक्तिगत समस्या या बाध्यता या रहर हुनसक्ला, त्यो अवस्थालाई ब्यक्तिगत जीवनमै सीमित गरिनु उपयुक्त हुनसक्छ । यदि समलिङ्गीहरूबाट बच्चा पैदा हुन्थ्यो भने त्यसलाई राज्यले कानून नै बनाएर सम्बोधन गर्नुपर्ने हुन्थ्यो, धर्मपुत्र/पुत्री बनाएर राख्न सोसम्बन्धी कानून अहिले नै कायम रहेको हुँदा समलिङ्गीहरूले पनि त्यस्तो कानूनी अधिकार स्वतः प्राप्त गरिरहेका छन् ।

कतिपय मानिस समलिङ्गी हुनु या समलिङ्गी भाव पैदा हुनुलाई प्राकृतिक भएकोले यसलाई स्वभाविक रूपमा लिनुपर्ने धारणा राख्छन् र, उनीहरूको खुशीका निम्ति विवाहलाई पनि कानूनी मान्यता दिनुपर्छ भन्ने ती मानिसहरूको भनाइ रहने गरेको छ । प्रकृतिकै कुरा गर्ने हो भने हावा अर्थात् वायु प्राकृतिक हो, जसबिना प्राणी जीवित रहन असम्भव हुन्छ । त्यही वायु आँधिबेहरी बनेर आउँदा हामी सहज स्वीकार गर्न सक्दैनौँ, जब कि आँधिबेहरी पनि प्राकृतिक नै हो ।

मानिसको जीवनमा बहु आयाम हुन्छन्, यौनलाई जीवनको एउटा अङ्ग मान्न सकिए पनि त्यसैलाई सम्पूर्ण मान्नु कदापि उचित हुनसक्दैन । समाज एउटा निश्चित मूल्य, मान्यता र नियमको अधीनस्थ भएर चलिरहेको हुन्छ । कोही ब्यक्तिविशेषमा समलिङ्गी अवस्था पैदा भयो भन्दैमा राज्य या समाजले आफ्ना पूर्ववत् मान्यता, मूल्य, कानून र ब्यवस्थामा अस्वाभाविक तरङ्ग उत्पन्न हुने कदम चाल्नुपर्छ भन्ने होइन । मानिसको हैसियतले समलिङ्गीहरूको न्याय, अवसर र अधिकारमा समान पहुँच स्थापित हुनुपर्छ, तर त्यसो भन्नुको अर्थ प्राकृतिक रूपमा उत्पन्न विकृतिलाई पनि राज्य र समाजले सहजै अङ्गीकार गर्नुपर्छ भन्ने होइन । त्यस्ता मानिसलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा सुधार हुनुपर्छ र, तिनलाई सम्मानित व्यवहार गर्नुपर्छ भन्नुको अर्थ विवाहलाई समेत कानूनी मान्यता दिनुपर्छ भन्ने भनाइ ग्रह्य हुन सक्दैन ।

नेपालमा पहिलोपटक कसैले रचेको समलिङ्गी विवाहलाई दर्ता गरेर कानूनी मान्यता दिने जुन कार्य अहिले भएको छ, त्यसले संसारभरिका रेन्बो झण्डावालहरूमा नयाँ उत्साह पैदा गरेको र, नेपाललाई समलिङ्गीहरूको राजधानी (samesex hub) बनाइने सम्भावना बढाएको छ । ६ महिनाअघि जुन २३ तारेखमा सर्वोच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले समलिङ्गी विवाहलाई दर्ता गर्न आदेश गरेपनि उक्त आदेश कानूनसम्मत नभएको भन्दै कुनैपनि जिल्ला प्रशासन, पालिका र अन्य कानूनी निकायहरूले समलिङ्गी विवाह दर्ता गर्न अस्वीकार गर्दै आएका छन् । तर, नवलपरासीका एक छब्बीस वर्षीय पुरुष र लमजुङका एकचालीस वर्षीय पुरुषबीच विवाह भएको प्रमाणपत्र दोर्दी गाउँपालिकास्थित पन्जिकाधिकारी कार्यालयले जारी गरिदिएको छ । यद्यपि उक्त प्रमाणपत्रमा ‘सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेशबमोजिम विवाह अस्थायी अभिलेख रहने गरी जारी गरिएको’ भनी स्पष्टीकरण लेखिएको छ । यसरी प्रमाणपत्र जारी भएको घटनालाई पश्चिमा मिडियाहरूले महाभूकम्पको समयकै स्तरमा स्थान दिएर समाचार सम्प्रेषण गरेका थिए । त्यसलगत्तै जिल्ला-जिल्लामा समलिङ्गी उत्सवको आयोजना गरिँदैछ र, अब विश्वभरिका समलिङ्गीहरूको महासम्मेलन पनि नेपालमै गरिने चर्चा सुरु भएको छ ।

अमेरिकामा जो वाइडेन राष्ट्रपति भएपछि समलिङ्गीहरूले ह्वाइटहाउसमै रेन्बो (सप्तरङ्गी, इन्द्रेणी) झण्डा फहराउने अवसर पाएका छन् । क्यानाडा र युरोपियन युनियनको संसद् तथा संयुक्त राष्ट्रसङ्घीय कार्यालयहरूमा रेन्बो झण्डाले स्थान पाइसकेका छन् । आफूलाई प्रजातान्त्रिक र धर्मनिरपेक्ष दाबी गर्ने अन्य मुलुकहरूमा पनि समलिङ्गी एजेण्डालाई अग्रताका साथ महत्व दिन खोजिएको छ । यदि यसरी नै रेन्बो अभियान प्रेरित रहने हो भने यसले संसारकै पारिवारिक संरचना, सामाजिक मूल्य-मान्यता, अनुशासन, नैतिकता, धर्म, संस्कृति र स्थापित सभ्यतालाई गम्भीर चुनौती दिनसक्ने सम्भावना खतरनाक स्तरमा देखापरेको छ । अब नेपालको सिंहदरबारमै रेन्बो झण्डा राख्न माग भयो र, सत्तासीनहरूले उक्त माग पूरा गरिदिए भने आश्चर्य मान्नुपर्ने हुँदैन ।

महाभारतमा अर्जुनले तेस्रोलिङ्गी बन्ने अवस्था आएको खुशीले नभइ अप्सराको श्रापका कारण हो । जुन अवस्था श्राप परेका कारण ब्यहोर्नुपर्ने हुन्छ त्यस्तो अवस्थालाई दण्डको रूपमा नबुझेर सम्मानित अवस्थाका रूपमा परिभाषित गर्नु आफैमा हास्यास्पद छ ।

अमेरिकामै रिपब्लिकन पार्टीसमर्थकहरू र त्यहाँको सामाजिक मूल्य-मान्यताका पक्षधरहरू समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने कुराको सख्त विरोधी छन् । भारतले समलिङ्गी विवाहलाई मान्यता दिन अस्वीकार गरेको छ । अफ्रिकी मुलुक युगाण्डाले केही महिनाअघि समलिङ्गीसम्बन्धी कठोर कानून बनाउँदै समलिङ्गी गतिविधिमा संलग्न भएको पाइएमा मृत्युदण्डसम्म हुने ब्यवस्था गरेको छ । आफ्नो देशको सामाजिक, पारिवारिक मूल्य, संस्कृति, धर्म, नैतिकता, अनुशासन र सभ्यताको रक्षार्थ युगाण्डाले उक्त कानून बनाएको ठानिन्छ । कानून पारित भएलगत्तै जो वाइडेन सरकारले युगाण्डामाथि नाकाबन्दी लगाउँदै कानून फिर्ता लिन दबाब दिइरहेको छ । विश्व बैंकले युगाण्डालाई दिइने ऋण सहयोग स्थगित गरिदिएको छ र, युरोपियन युनियनले आर्थिक सहयोग उपलब्ध नगराउने भएको छ । समलिङ्गी व्यवहार प्रकृतिमा उत्पन्न विकृति भन्ने बुझ्दाबुझ्दै पनि एकथरी मानिस किन समाज र धर्मविरूद्ध सक्रिय भएका हुन् भन्ने बुझ्न र त्यसप्रति सचेत रहन अब ढिला गर्नु भनेको समलिङ्गी हुन नसक्नेहरूले आफ्नो मानमर्दन हुने समयलाई चाँडो निम्त्याउनु हो, समाज र धर्मको बर्बादीलाई आमन्त्रण गर्नु हो ।

हुन त कतिपयले हिन्दू धर्मलाई समलिङ्गीमैत्री भनेको पनि पाइएको छ । सनातनीहरूको पौराणिक ग्रन्थहरूमा तेस्रोलिङ्गीहरूको चर्चा भएको पनि पाइन्छ । महाभारत युद्धमा शिखण्डीको प्रयोग गरिएको सन्दर्भ र अर्जुनले तेस्रोलिङ्गी भएर बृहन्नला नाममा केही समय बिताउनुपरेको सन्दर्भ प्रस्तुत गर्दै सनातनी धर्मले समलैङ्गिकतालाई महत्व दिएको अर्थ लगाइन्छ । वास्तवमा सनातनी शास्त्रहरूमा तेस्रोलिङ्गी र समलिङ्गीहरूको अवस्था दर्शाएर समाजमा यस्ता मानिस पनि हुनसक्ने भन्ने सन्देश प्रवाह गरिएको मात्र हो । उनीहरू पनि समाजको अङ्ग भएको र खास अवस्थामा ती पनि समाजलाई अन्य सरह काम लाग्नसक्छन् भन्ने सन्देश शास्त्रहरूले दिएका छन् । तर समलिङ्गी विवाहलाई मान्यता दिने अनुमति कुनैपनि शास्त्रले दिएको छैन । महाभारतमा अर्जुनले तेस्रोलिङ्गी बन्ने अवस्था आएको खुशीले नभइ अप्सराको श्रापका कारण हो । जुन अवस्था श्राप परेका कारण ब्यहोर्नुपर्ने हुन्छ त्यस्तो अवस्थालाई दण्डको रूपमा नबुझेर सम्मानित अवस्थाका रूपमा परिभाषित गर्नु आफैमा हास्यास्पद छ ।

समलिङ्गीहरूको गोपनियताको हक सूरक्षित रहने कानून बनोस्, उनीहरूको हित र सम्मानको सुनिश्चितता होस्, त्यसमा विमति जनाउने ठाउँ रहनेछैन । तर, समलिङ्गी विवाहलाई कानूनी मान्यता दिनु एउटा सभ्य र सुसंस्कृत समाजका निम्ति कदापि ग्राह्य र स्वीकार्य हुन सक्नेछैन । त्यसैले उक्त गैरकानूनी एवम् असामाजिक र असंस्कृत विवाह तत्काल दर्ता बदर गरी कानूनविपरीत आदेश दिने न्यायाधीश र त्यस्तो विवाह दर्ता गराउने अधिकारीहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन बिलम्ब गरिनु हुन्न । यदि यस्ता क्रियाकलापहरूलाई तत्काल नियोजन गरिएन भने हाम्रो समाज थप अनैतिक र भ्रष्ट बन्दै जाने र, कालान्तरमा राष्ट्रिय अस्तित्व नै सङ्कटग्रस्त बन्ने निश्चित छ । समयमै सबैको ध्यान पुगोस्, जय मातृभूमि !