कानुनी बन्धनमा कस्ने कसले ?

कानुनी बन्धनमा कस्ने कसले ?


जुन तप्काबाट खासमा विरोध हुनुपर्ने थियो सोही वर्ग नै प्रचण्डका गल्तीलाई ‘गौरव’ मानेर प्रतिवादमा उत्रन्छ भने त इमानदार सर्वसधारण नेपालीजनले आफैंलाई धिक्कार्नुबाहेक के नै पो गर्न सक्छन् र !

मङ्सिर महिना भर्खरै बित्यो । हिन्दू संस्कारअनुसार नेपाली समाजमा मङ्सिर महिनालाई विवाहको यामका रूपमा बुझ्ने प्रचलन छ । अन्य महिनामा पनि विवाहोत्सव आयोजना नगरिने होइन, तर उमेर पुगेकामध्ये अधिकांश युवायुवती विशेषगरी मङ्सिरमा वैवाहिक बन्धनमा बाँधिने प्रचलन छ । गत मङ्सिरमा पनि हजारौँ जोडी प्रणय बन्धनमा बाँधिए । सनातनदेखि चलिआएको विवाह-बन्धनको विषय सामान्य एक सामाजिक व्यवहार हो, जसलाई बेग्लै चर्चाको सन्दर्भ तुल्याइरहनु आवश्यक छैन । तथापि, यदाकदा कतिपय विवाह-सन्दर्भ विशेष चर्चाको विषय बन्न पुग्दछ । यस्तै चरम चर्चाको विषय बन्न पुग्यो गत साता सम्पन्न प्रधानमन्त्री प्रचण्डकी नातिनीको विवाह-सन्दर्भ पनि ।

प्रधानमन्त्रीको परिवारका सदस्यको वैवाहिक शुभकार्य भएकोले तुलनात्मकरूपमा खास चर्चा र चासो हुनु त स्वभाविक नै हो, तर प्रकारान्तरले उक्त विवाह उल्लासको भन्दापनि विवादकै विषय बन्न पुग्यो । नवविवाहित जोडीलाई शुभकामनाका शब्द खर्चिनेहरू भन्दा प्रचण्डको आलोचनामा सामाजिक सञ्जालका भित्ता रङ्ग्याउनेहरू ज्यादा देखिए । पत्रपत्रिका तथा विद्युतीय सञ्चारमाध्यमहरूले ‘सर्वहारा’ वर्गको राजनीतिबाट उदाएर मुलुकको कार्यकारी प्रमुखको कुर्चीसम्म पुगेका प्रचण्डको जमेर आलोचना गरे, नातिनीको वैवाहिक समारोहलाई अस्वाभाविक तामझाममार्फत् अभिजात्यीय आवरण प्रदान गरेकोमा ।

हो, विवाह एक पारिवारिक तथा वैयक्तिक अधिकारकै विषय हो, आफ्नो गक्षअनुसार व्यक्ति वा परिवारले वैवाहिक समारोहलाई कुन तहको तामझाम प्रदान गर्ने हो- सोबारे सोच्न पाउँछ । तर, आफ्नो पृष्ठभूमि, जिम्मेवारी र वैवाहिक समारोहले उत्पन्न गर्नसक्ने तरङ्गप्रति पनि समयमै सचेत हुन सक्नुपर्छ । त्यसमाथि मुलुकको नियम-कानुनलाई समेत ख्याल राखेर यस्ता कार्यक्रम आयोजना गर्नु त नागरिकको अहम् कर्तव्य नै हो ! हो, विगतको पारिवारिक आर्थिक अवस्था, वर्तमानको ओहदा र संविधानले तोकेको कानुनी व्यवस्थाको कोणबाट प्रचण्ड-परिवारले गम्भीर गल्ती गरेको छ, अत्यन्त रवाफिलो वैवाहिक तामझाम प्रदर्शन गरेर । सर्वसाधारण नेपालीले कल्पना पनि गर्न नसक्ने अत्यन्त महँगो रिसोर्ट छनोट गरेर नातिनीको वैवाहिक समारोह आयोजना गर्नुपर्ने के बाध्यता थियो- तीन तोला सुन र एक कठ्ठा जमिन सम्पत्ति घोषणा गरेर प्रधानमन्त्रीको कुर्चीमा आसिन भएका पात्रलाई ? पेचिलोमात्र नभइ अत्यन्त विष्मयकारी पनि छ यो प्रश्न ।

यहाँनेर स्मरण गर्नैपर्ने हुन्छ- प्रचण्डनेतृत्वको माओवादी पार्टीले कुनैबेला सर्वहारा वर्ग, वर्गीय प्रेम र संस्कृति, समाजवादी क्रान्ति र जनवादी विवाहको पैरवी गर्ने गर्दथ्यो । कथित ‘जनयुद्ध’को समयमा कार्यकर्ताबीच अन्तर्जातीय र मञ्च-विवाहका लागि प्रेरित गरेका थुप्रै सन्दर्भ देखिए/सुनिए । यो पाटो एकतिर छ भने अर्कोतिर आमनेपालीले त्योबखत आफ्नो संस्कार-संस्कृति अपनाएर गक्षअनुसार बिहे-समारोह आयोजना गर्न माओवादीकै कारण नपाएका घटना-सन्दर्भ पनि अनगिन्ती छन् । सामन्ती तथा बुर्जुवा संस्कृति उन्मुलन गर्ने भन्दै सर्वसाधारण नेपालीलाई तिनले आफ्नो धर्म-संस्कार मान्न/मनाउन पनि अवरोध पुऱ्याए । तर आज माओवादी पार्टीका सुप्रिमोकै नातिनीको विवाह तिनकै भाषामा भन्नुपर्दा ‘बुर्जुवा पारा’ले तामझामपूर्ण र करोडौँ खर्चका साथ भएको छ । सर्वहारा वर्गको मुक्तिका लागि भन्दै लडेका नेताले यो रवैया प्रदर्शन गर्नु कति विडम्बनायुक्त छ- सामान्य चेत भएकाले समेत अनुमान लगाउन सक्छन् ।

मुलुकको प्रमुख कार्यकारी व्यक्तित्व हुनुका नाताले प्रधानमन्त्री प्रचण्डले सिङ्गै देश र जनतालाई देशको कानुनप्रति प्रतिवद्ध तुल्याउन, कानुन मान्न/मनाउन पनि अभिप्रेरित गर्नुपर्ने हुन्छ । त्यसका लागि शासनको डण्डा चलाउने भन्दा पनि प्रथमतः आफ्नै व्यवहारबाट नागरिकलाई अभिप्रेरित गर्नु उनको दायित्व हुन आउँछ । तर, प्रधानमन्त्री प्रचण्डले मुलुककै कानुनको पनि धज्जी उडाएर आफूलाई एक अराजक शासकको कोटीमा उभ्याउन पुगे । नेपालको विद्यमान कानुनले विवाहको जन्ती र भोजमा ५१ जनासम्म मात्रै सहभागी गराउन मिल्ने व्यवस्था गरेको छ । यो कानुनी व्यवस्था उल्लङ्घन गर्नेलाई १० हजार रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ । यस्तोमा हजार या त्यसभन्दा बढी सङ्ख्यामा पाहुना निम्त्याएर खुलेआम करोडौँको फजुल खर्च गर्दै ‘गौरव’ महसूस गर्ने प्रधानमन्त्रीलाई कानुनी व्यवस्थाअनुरुपको सजाय हुने कि नहुने ? यो कानुन कसले कार्यान्वयन गराउने ? यो सवाल पनि अत्यन्त सामयिक छ ।

सबै जान्दछन् कि प्रधानमन्त्री प्रचण्डबाट भएको यो ‘सामाजिक अपराध’वापत कतैबाट कुनै कारवाही हुने छैन । गठबन्धनमा गाँसिएका पात्रहरूको प्रवृत्ति र सोच एकैनासको जो छ ! त्यसमाथि माओवादी कार्यकर्ताहरू शर्म पचाएर प्रचण्ड-परिवारको बचाउमा उत्रिसकेका छन् । जुन तप्काबाट खासमा विरोध हुनुपर्ने थियो सोही वर्ग नै प्रचण्डका गल्तीलाई ‘गौरव’ मानेर प्रतिवादमा उत्रन्छ भने त इमानदार सर्वसधारण नेपालीजनले आफैंलाई धिक्कार्नुबाहेक के नै पो गर्न सक्छन् र !