नेपाली मिलन केन्द्रको अधिवेशन सम्पन्न

नेपाली मिलन केन्द्रको अधिवेशन सम्पन्न


कान्ती अधिकारीलाई मिलन केन्द्र अध्यक्षको जिम्मेवारी

  • युरोप प्रतिनिधि

बेल्जियमको आन्त्वेर्पेन शहरमा नेपाली मिलन केन्द्र आन्त्वेर्पेनले आफ्नो सातौँ अधिवेशन भब्य रुपमा सम्पन्न गरेको छ । डिसेम्बर १७ आइतबार सम्पन्न अधिवेशन बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने अधिवेशनको विशिष्ट अतिथिमा एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा रहेकी थिइन्।

अन्य अतिथिहरुमा एनआरएनए आइसीसीद्वय मदन दवाडी र हरि भट्टर्रालगायत विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए ।

नेपाली मिलन केन्द्र आन्त्वेर्पेनको आयोजनामा सम्पन्न उक्त अधिवेशनको सभापतित्व सोही संस्थाकी अध्यक्ष सुशीला खतिवडा र कार्यक्रमको संचालन महासचिव लक्ष्मी अधिकारीले गरेकी थिइन् । अधिवेशनमा उपस्थित अतिथि वक्ताहरुले अधिवेशनको सफलताको कामना गर्दै कला र संस्कृतिको क्षेत्रमा नेपाली मिलन केन्द्रले पुर्याएको योगदानको खुलेर प्रसंशा गरेका थिए।

खुला सत्रको अन्त्य भएसँगै अध्यक्ष खतिवडाले आफूअन्तर्गतको समिति भंग गर्दै आगामी निर्वाचनको सम्पूर्ण कार्यभार पत्रकार ओम शर्माको नेतृत्वमा निर्माण गरिएको निर्वाचन समितिलाई हस्तान्तरण गरिन् । ओम शर्मा, चित्र सुवेदी र गोपाल दाहाल गरी तीन जना सदस्य रहेको निर्वाचन समितिद्वारा संचालित बन्द सत्रले आर्थिक तथा सांगठानिक कार्यपत्र संसोधनसहित पारित गरी कान्ती अधिकारिको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्माण गरेको छ।

अधिकारीको कमाण्डमा चयन गरिएको कार्य समितिको पदाधिकारीमा उपाध्यक्षद्वय गणेश अधिकारी र प्रभा अर्याल रहेका छन् भने महासचिवमा कविता सिंखडा दाहाल, सचिवमा ललित पोख्रेल, कोषाध्यक्षमा विमला अधिकारी र सहकोषाध्यक्ष युद्ध बहादुर थापा छनौट भएका छन् ।

त्यस्तै, सदस्यहरुमा क्रमश दामु अधिकारी, विना खतिवडा, ध्रुव सिंखडा, भगवती पहाडी, भावना खतिवडा र रेणु गुरुङ चयन भएका छन् ।

स्मरण रहोस, यही मिलन केन्द्रमार्फत बेला बेलामा हल्याण्डको विश्व प्रसिद्ध फुलबारी लगायत विभिन्न स्थानको अवलोकन भ्रमण समेत हुँदै आएको छ । त्यस्तै नेपाली कला र संस्कृतिको प्रवर्द्धन तथा प्रचार प्रसारको लागि समेत यो संस्थाले आफ्ना पर्व उत्सवहरु प्रवासमा सम्पन्न गर्दै आएको छ ।

यो वर्ष पनि चेलीहरुलाई तिजको दर ख्वाउने कार्यक्रम बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा भब्य रुपले सम्पन्न गरेको थियो। त्यस्तै नेपाली नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा अर्थात २०२३ अप्रिल ८ आइतबार एक दिनको जर्मनी ऐतिहासिक टुर सम्पन्न गरेको थियो। जर्मनीको पश्चिम भागमा अवस्थित राइन(वेस्टफालियाको दोश्रो ऐतिहासिक शहर डसेल्डोर्पको भ्रमण सकेर कोलोनमा राइन नदीका किनारस्थित महत्वपुर्ण पानोरामिक शहरको दृश्यले भ्रमणमा रहेका सबै नेपाली अवलोकनकर्ताको मन लोभ्याएको थियो ।

नेपाली मिलन केन्द्र आन्त्वेर्पेनले बेल्जियममा नेपाली समुदायको लागि विभिन्न चाड पर्वमा सांस्कृतिक गतिविधि, अवलोकन भ्रमण र नेपाली पहिचानलाई बचाउने खालका विविध कार्यक्रमहरु गर्दै आएको छ । त्यसै कारण यो संस्था बेल्जियमस्थित नेपाली समुदायका बीच अत्यन्त लोकप्रिय रहेको छ।