अभिनेतृ रेखाको गुनासो- ‘मेरो नजन्मिएको सन्तानले चर्चा पायो !’

अभिनेतृ रेखाको गुनासो- ‘मेरो नजन्मिएको सन्तानले चर्चा पायो !’


चर्चित सिनेअभिनेतृ एवम् राप्रपाकी नेतृ रेखा थापा यतिबेला अमेरिकामा छिन् । अमेरिका बस्दै आएका आफ्ना श्रीमान्का साथ हालै अमेरिका पुगेलगत्तै ‘गर्भमा रहेको बच्चा अमेरिकामा जन्माउनकै लागि रेखा सुनियोजित तवरले अमेरिका पुगेको’ भन्दै सम्वद्ध क्षेत्रमा चर्चा शुरु भएको छ । सिनेमा र राजनीति दुवै क्षेत्रमा आफ्नो अलग प्रभाव कायम गरेर चर्चामा रहेकी रेखा थापासँग उनको अमेरिका यात्रामा केन्द्रीत रही घटना र विचारले सवाल गर्दा उनले भनिन्- ‘म अमेरिका बच्चा जन्माउन नभइ मेरो परिवारसँग समय बिताउन आएकी हुँ ।’

० तपाईं यतिबेला फेरि चर्चामा आउनुभएको छ, आफू चर्चामा छु भन्ने थाहा पाउनुभएको छ ?
– त्यस्तो धेरै त होइन, अलि-अलि हेरेको छु । मेरो अमेरिका यात्रालाई ठूलै समाचार बनाइएछ । यसरी चर्चा गरिएछ, मानौँ म ठूलो ओहोदामा बसेको मानिस हुँ र मैले कुर्सी छोडेर विदेश आएँ । मसँगै मेरो नजन्मिएको सन्तानले पनि चर्चा पाइरहेको रहेछ ।

० त्यस्तो चर्चा सुन्दा कस्तो लागिरहेको छ ?
– मैले त्यति धेरै महत्व दिनुपर्ने जस्तो ठानेकी छैन किनभने म अमेरिका बच्चा जन्माउन नभइ मेरो परिवारसँग समय बिताउन आएकी हुँ । मेरो श्रीमानको परिवार यहीँ हुनुहुन्छ । आफ्नो परिवारका सदस्यहरूलाई भेट्न पाउनु, सँगै बस्नु मेरो अधिकार र रोजाइको कुरा हो । म कहाँ भएको बेला मेरो सन्तान जन्मिन्छ, त्यो अरुको चासोको विषय हो जस्तो मलाई लाग्दैन । यो नितान्त म र मेरो परिवारको कुरा हो । कहाँ जाने, के गर्ने, कुन अस्पतालमा जँचाउने, कुन डाक्टर देखाउने अरुको चासोको विषय होइन ।

० तपाईं सिनेमाको हिरोइन मात्र नभइ एउटा राजनीतिक दलको नेता पनि भएकोले चर्चा हुनु स्वभाविक होइन र ?
– मसम्बद्ध र अन्य दलका विभिन्न नेताका सन्तान अमेरिकामै छन् । अहिले बहालवाला केही मन्त्रीका सन्तान यहीँ छन्, उनीहरूको बारेमा चर्चा छैन त… विभिन्न ओहोदामा भएका नेताका सन्तानको चर्चा नहुने अनि म कुनै ओहोदामा नभएकी साधारण राजनीतिकर्मीको नजन्मिएको सन्तानको बारेमा यति धेरै चर्चा हुने अचम्म हैन र ?

० बच्चा जन्माउनै गएको भन्ने कुराचाहिँ सही हो त ?
– म मेरो श्रीमान्को परिवारसँग बस्न आएकी हुँ । मानिसको जन्म, मृत्यु र विवाह भन्ने कुरा लेखेर आएको हुन्छ भन्ने छ । मेरो बच्चा जन्मिन अझै केही समय बाँकी छ, उ कहाँ जन्मिन्छ भन्ने कुरा गौण हो जस्तो लाग्छ मलाई । बच्चा जन्मिने बेलामा परिवारको सामिप्यमा रहन खोज्नु र सामिप्य पाउनु सामान्य कुरा हो ।

० तपाईंलाई यस्तो चर्चा सुनेर कस्तो लागिरहेको छ ?
– मलाई नेपाली मिडिया क्षेत्रका साथीहरूले कति धेरै माया गर्नुहुँदोरहेछ भन्ने लागिरहेको छ । मप्रति चासो पनि धेरै रहेछ । बच्चा पाउन रेखा थापा अमेरिका गइन् भन्नु भन्दा पनि जिन्दगीमा प्राप्त हुन लागेको फरक खुशी परिवारसँग साट्नका लागि, परिवारको माया र सामिप्य प्राप्त गर्नका लागि अमेरिका गइन् भनेर बुझिदिनुभएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छ ।

० अमेरिका बसाइ कस्तो लागिरहेको छ त ?
– म पहिला पनि अमेरिका आएकी थिएँ, त्यतिबेला मलाई त्यति राम्रो लागेको थिएन । तर अहिले श्रीमान्सँग आएको हुनाले र परिवार यतै भएकाले होला रमाइलो लागिरहेको छ । मेरो जिन्दगीको विशेष अवस्था गर्भाअवस्थालाई परिवारसँग रमाइलोसँग बिताउन पाउँदा खुशी लाग्नु स्वभाविकै हो । यता धेरै चिसो छ, अकाशबाट हिउँ पर्दै गरेको हेर्दा र हिउँमा खेल्दा रमाइलो महसूस भइरहेको छ ।

० स्वदेश कहिले फर्कनुहुन्छ नि ?
– पाँच/छ महिना जति बस्छु होला । नेपाल फर्केर गर्नुपर्ने कुरा धेरै छन । विशेषगरी छोरीका निम्ति स्वर्णिम अभियानलाई अगाडि बढाउनु छ । सिनेमा र राजनीति त छँदैछ ।