नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्वावेमा छनोट

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्वावेमा छनोट


लघुचलचित्र ‘द स्कुल वाल’ नाइजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ ।

यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको यस लघुचलचित्रमा श्लोक साहले मुख्य भूमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गिताश्री थापा, आयुषा गौतम, बिदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेमराज कोइराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ ।

लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जनले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ ।

ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र द स्कुल वालको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनकै लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न देशहरुमा छनोटमा परिसकेको छ । लघुचलचित्र ‘द स्कुल वाल’ को अफिसियल पार्टनरको रुपमा साईलेन्ट एक्ट र मालिका मिडिया रहेका छन् ।

‘द स्कुल वाल’मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । काम गर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालय गइरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्म तानेर लैजान्छ । पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबिच उसले अनेक तरहका उपाएहरु अपनाएर विद्यालयभित्र प्रवेश गर्न सफल हुन्छ तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरको लागि के-केसम्म गर्न सक्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको यसका निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् ।