पुनः गायनमै सक्रियता दर्शाउँदै चर्चित गायक प्रदीपराज

पुनः गायनमै सक्रियता दर्शाउँदै चर्चित गायक प्रदीपराज


‘म तिम्रो शहर छोडी टाढा… टाढा जाँदैछु, तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु…’

अत्यन्त लोकप्रिय एवम् सदाबहार यस गीतका गायक प्रदीपराज पाण्डे पुनः गायनमै सक्रिय भएका छन् । लामो समय रेडियो नेपालको कर्मचारीका रूपमा रहँदा गायनलाई पर्याप्त समय दिन नसकेको बताउने सदाबहार गायक पाण्डे रेडियोको जागिर छोडेपछि फुर्सदिला बनेका छन् र, नियमित गीत गायनमा अभ्यस्त हुन थालेका छन् ।

बीबी थापाको शब्द र नातिकाजीको संगीतमा २०४८ सालमा पाण्डेले गाएको ‘म तिम्रो हर…’ गीत अहिले पनि त्यत्तिकै रुचाइन्छ । नेपालमात्र नभएर विदेशसम्म पनि चर्चित बनेको यो गीत गाएपछि विदेशमा कार्यक्रम गर्न धेरै निम्तो आएको पाण्डे सम्झन्छन् ।

२०३९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि पाण्डेको गायन यात्रा सुरु भएको थियो । उनका बुबा स्वर्गीय वासुदेव शास्त्रीय गीत गाउँथे । आमा मन पाण्डे पनि गीत गाउने । घरमा बुबा र आमा नै गीत गाउने भएपछि प्रदीप पनि अनायासै गायक बनेको आफ्नो अनुभूति सुनाउँछन् ।

नेपाली भजन, राष्ट्रिय र आधुनिक गीत गरेर करिव तीन दर्जन गीत गाइसकेका उनका दर्जनबढी गीत सदाबहार चर्चित नै छन् । गीतकार उर्वशीको रचना र सीके रसाइलीको संगीतमा ‘हाम्रो बोलचाल छैन, के भनेर बोल्ने…’ बोलको गीतबाट गायनयात्रा सुरु गरेका उनले ‘तमासा भएछु मायाको बजारमा, प्रिय सम्झी अँगालेथे कसैलाई हजारौँमा’ दोश्रो गीत गाएका थिए, जो अहिले पनि सङ्गीतप्रेमीका माझ उत्तिकै रुचि र चर्चाको गीत बनेर रहेको छ ।

२०२५ सालमा राजधानीको मैतीदेवीमा जन्मिएका प्रदीपराजले स्थानीय विजय मेमोरियल स्कुलबाट एसएलसी र सरस्वति क्याम्पस लैनचौरबाट आइकम र बिकम उत्तीर्ण गरे । २०४७ मा रेडियो नेपालमा जागिरेको रूपमा प्रवेश गरेका उनले त्यहाँ समाचार वाचकदेखि कार्यक्रम सञ्चालक र उद्घोषणको जिम्मेवारी पूरा गरे । फुर्सदको समयमा छानिएका गीतमात्र गाउने उनले बीबी थापाको शब्द र नातिकाजीको संगीतमा ‘थाहै थिएन दिल आगोबिना नै जल्दो रहेछ, थाहै थिएन मायाले पनि पोल्दो रहेछ’ जस्ता मर्मस्पर्षी गीत गाइरहे ।

पत्रकार देवप्रकाश त्रिपाठीले रचना गरेको ‘आज पनि तिम्रै नाममा आँधी चल्यो, टाँसिएथ्यौ मुटुभित्र झिक्न खोज्दा मुटु चुँड्यो’ बोलको गीतदेखि हालका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले रचना गरेको ‘अल्झिरह्यो याद बल्झिरह्यो घाउ, जलिरह्यो यो मन निभाउन म कहाँ जाऊँ’ गीत पनि उनले गाएको सुन्दर गीतको कोटीमा पर्दछ ।

अहिले सातामा एउटा गीत रेकर्ड गरिरहेका पाण्डे अब भने नियमित संगीत र गायनमै रहने बताउँछन् । लोकप्रिय गायक प्रदीपको गायनयात्रा शिखर चुम्ने बाटोमा अघि बढिरहोस्, हाम्रो पनि शुभकामना !

  • प्रस्तुति : सुरेन्द्र सुवेदी