वर्चश्व बढाउने देउवा-जाल !

वर्चश्व बढाउने देउवा-जाल !


हिन्दुत्वको एजेण्डालाई पूरै बेवास्ता गरेर अघि बढ्दा ब्यहोर्नुपर्ने नोक्सानीबारे देउवाजस्ता ‘खेलाडी’ राजनीतिजीवीलाई राम्रै हेक्का छ, यसकै द्योतक हो ‘हिन्दुराष्ट्रको मुद्दामा छलफल गर्न सकिने’ उनको पछिल्लो अभिव्यक्ति ।

एनसेल खरिद-बिक्री प्रकरणमाथिको चर्चा यतिबेला उत्कर्षमा छ । दुर्गा प्रसाईंको ‘जनविद्रोह’लाई ओझेल पार्दै एकाएक सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म छाउन पुगेको एनसेल प्रकरणले नेपालको राजनीतिमा सघन अर्थ राख्ने अर्को एक महत्वपूर्ण विषयलाई जबर्जस्तरूपमा छेउ लगाएको महसूस गरिँदैछ । त्यो हो- धर्मनिरपेक्षताबारे पुनर्विचार गर्न सकिने नेताहरूको अभिव्यक्ति !

नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारीदेखि शशाङ्क कोइरालाहुँदै शेखर कोइरालासम्मले पनि ‘हिन्दुराष्ट्र नेपाल’को पक्षवर्ती भएर बेला-बेला अभिव्यक्ति दिँदै आएको सन्दर्भमा सो पार्टीका सभापति शेरबहादुर देउवाले समेत केही दिनअघि हिन्दु धर्म वा धर्मनिरपेक्षताका विषयमा छलफल वा पुनर्विचार गर्न सकिने धारणा सार्वजनिक गरे । काङ्ग्रेस नवलपरासी (पूर्व)को प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले धर्मनिरपेक्षताको विषयमा सोच्न सकिन्छ, पार्टीमा छलफल गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिँदा भेलामा सहभागी काङ्ग्रेसजनहरू नै आश्चर्यचकित एवम् रोमाञ्चित बन्न पुगेका थिए । शंकर भण्डारीलगायत केही नेताले काङ्ग्रेसको पछिल्लो महासमिति बैठकमा हिन्दूराष्ट्रका लागि गरेको हस्ताक्षरलाई देउवाले पूरै बेवास्ता गरिदिएका थिए, तर यसपटक बैठकको मुखमा देउवाले धर्मनिरपेक्षताबारे ‘फ्लोर ओपन’ गरेर बहसका लागि जसरी मार्ग प्रशस्त गरिदिएका छन्, यसले काङ्ग्रेसभित्र मात्र नभइ सिङ्गो राजनीतिक वृत्तमा जिज्ञासा जागृत गराएको छ ।

यसअघि हिन्दु धर्मको पक्षमा वकालत गर्ने या हिन्दुत्वलाई काङ्ग्रेसले आफ्नो मूल एजेण्डाभित्र पार्नुपर्ने आवाज उठाउने नेता-कार्यकर्ताहरूलाई किनाराकृत गर्दै आएको काङ्ग्रेसमा सभापतिको उल्लिखित अभिव्यक्तिले महत्वपूर्ण जीवनबुटीको काम गर्ने प्रतिक्रियाहरू सुनिएका छन् । नेतृत्वतहमा केही नेतामामात्र सीमित धर्मनिरपेक्षताविरुद्धको बहस अब संस्थागत बन्ने भयो या, अब काङ्ग्रेस आफ्नो मौलिक पहिचानमै फर्किने सुनिश्चित भयो भनेझैँ ब्याख्या, विश्लेषण र प्रतिक्रिया दिएको पनि पाइयो ! तर के यस्तै हो त ? यदि कोही देउवाको अभिव्यक्तिबाट यसरी नै उत्साहित भएका छन् भने तिनलाई सम्झाउनैपर्ने हुन्छ- यसरी उत्साहित अनि ढुक्क हुनु निरर्थक छ ! हिन्दुराष्ट्रको पहिचान फर्काएर देशको पक्षमा महत्वपूर्ण देन दिन देउवा उद्यत् बनेका होइनन्, बरु आफ्नो वर्चश्व जोगाउने उनको यो कुटिल चालमात्र हो ! अहिले नै यो नबुझे बीपीको काङ्ग्रेस खोज्ने इमानदार काङ्ग्रेसजन पुनः ठूलो धोकामा पर्नेछन् ।

देउवाले दोहोऱ्याइ-तेहेऱ्याइ भनेका छन् कि धर्मनिरपेक्षताको विषयमा बहस गर्न सकिन्छ तर गणतन्त्र र सङ्घीयतामा प्रश्न उठाउन पाइन्न । गणतन्त्र निर्विकल्प छ र, नेपालमा राजसंस्था फर्काउने कुरा सोच्न पनि सकिँदैन ! हो, फेरि पनि नेपाली काङ्ग्रेस र नेपाल सरकारको नेतृत्व हत्याउन उद्यत् देउवाको अभीष्ट यसमै लुकेको छ । देउवाको विगत, उनको औकात वा क्षमता अनि उनले पाएको ओहदाका अवसरहरू- यसको सुक्ष्म र सही विश्लेषण गर्नसक्नेले नेपाललाई हिन्दुराष्ट्र तुल्याउन अन्तःष्करणबाटै देउवाजस्ता पात्रहरू तयार भएहोलान् भनी कदापि विश्वास गर्न सक्दैन/मिल्दैन ।

नेपाली राजनीतिमा सामान्यमात्र चासो राख्ने सबैलाई थाहा छ, काङ्ग्रेसभित्रको ठूलो पङ्क्ति नेपाललाई धर्मनिरपेक्ष राष्ट्र तुल्याइएकोमा असन्तुष्ट छ । अर्थात्, जबर्जस्ती नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपछि काङ्ग्रेसका धेरै नेता-कार्यकर्ताले यसलाई मन पराएका छैनन् । तिनका मनमा वैदिक सनातन हिन्दुराष्ट्र नेपाल भन्ने छ । तर, दलीय सहमतिको नाममा यसलाई विरोध गर्ने खुल्ला आँट गर्न सकिरहेका छैनन् ।

जसरी गिरिजा कोइरालाले ‘बेबी किङ’को जाल फ्याँकेर भित्रभित्रै गणतन्त्रको तयारी गरी आफ्नै दल र देशलाई धेका दिएका थिए, देउवाको अभिव्यक्तिलाई पनि प्रकारान्तरले सोही कोटीमा राख्न सकिन्छ । हिन्दु धर्म, संस्कृति र राजसंस्थाको पक्षमा जनता सडकमै उत्रिन थालेको परिवेशमा यस्तो एजेन्डा बोक्नेलाई सिथिल तुल्याउन तथा आन्दोलनको लहर मत्थर पार्न यस किसिमका भ्रामक तथा रणनीतिक अभिव्यक्तिले अहम् भूमिका निर्वाह गर्दछ । मूलतः वैदिक सनातन हिन्दूराज्य या हिन्दु धर्मका पक्षधरलाई भड्किन नदिइ आफ्नो पक्षमा उभ्याउन देउवाले सो जाल फ्याँकेका हुन्, पार्टीको नेतृत्व पुनः हत्याइसकेपछि (नेपाली काङ्ग्रेसको विधानलाई थप समावेशी बनाउने भन्दै काङ्ग्रेसमा उपसभापति र महामन्त्रीमा महिलाका लागि एक/एक पद थप्ने ‘लबिइङ’ आरजु राणा देउवाको उक्साहटमा सुरु भइसकेको छ, जो कांग्रेस कब्जा गरिराख्ने देउवाको एक रणनीतिअन्तरगतकै चाल हो) हिन्दुत्वको मुद्दा बोक्नेलाई उनले कसरी किनाराकृत तुल्याउनेछन्- देख्न पाइनेछ । हिन्दुत्वको एजेण्डालाई पूरै बेवास्ता गरेर अघि बढ्दा ब्यहोर्नुपर्ने नोक्सानीबारे देउवाजस्ता ‘खेलाडी’ राजनीतिजीवीलाई राम्रै हेक्का छ, यसकै द्योतक हो ‘हिन्दुराष्ट्रको मुद्दामा छलफल गर्न सकिने’ उनको पछिल्लो अभिव्यक्ति । यत्तिमात्र बुझ्नसके मुलुक र मूलतः काङ्ग्रेसजन देउवासस्ता पात्रबाट हुनसक्ने धोकाबाट सम्भवतः बच्नेछन् ।