राष्ट्रिय सेनाभित्र पस्यो राजनीति ! सेनाप्रतिको आस्था र विश्वास भङ्ग गरिँदै

राष्ट्रिय सेनाभित्र पस्यो राजनीति ! सेनाप्रतिको आस्था र विश्वास भङ्ग गरिँदै


यतिबेला सेनामा आफूअनुकुलको प्रधानसेनापति चयन गरेर स्वार्थ सिद्धि गर्ने राजनीति चलिरहेको छ र, यस्तो राजनीतिमा कुनै न कुनै रूपले प्रभुराम शर्मासमेत संलग्न रहेको आशङ्का गर्न थालिएको छ । प्रभु शर्मापछिका सेनापतिका रूपमा चिनिएका ताराध्वज पाण्डेलाई राजीनामा दिन बाध्य पारिएको छ ।

राज्य संयन्त्रभित्र तुलनात्मक रूपमा अलिक शुद्ध मानिएको नेपाली सेनामा पनि फोहोर राजनीतिको भल पसेपछि मुलुकमा चिन्ता थपिएको छ । नेपाल देशको एकीकरण भन्दा उमेरमा जेठो र, अपरिहार्य मानिएको सेनालाई कमजोर तथा बदनाम तुल्याउन धेरै पहिलेदेखि नै प्रयास हुँदै आएको थियो । सन् १९५८ मा युएन मिसनका नाममा सेनाबिक्रीको प्रक्रिया सुरु भएपश्चात् क्रमशः कमजोर हुँदै गएको नेपाली सेनालाई पङ्गु प्रमाणित गर्न अनेकौँ प्रयास भइरहेका छन् । एउटा माओवादी गुरिल्लालाई उच्च कमाण्डर बनाउन सेनाभित्र यतिबेला जे हुँदैछ त्यसले नेपाली सेनामाथिको विश्वास र भरोसामा गम्भीर क्षति पुऱ्याउने देखिएको छ ।

२०६३ को परिवर्तनसँगै विदेशीभूमिमा सूरक्षित बसेर नेपालमा हत्या/हिंसा गराउनेहरू रातारात नेपाली राजनीतिका हर्ताकर्ता बनेपछि उनीहरू राष्ट्रिय सेनाविरूद्ध जाइलागेका थिए । सुरुमा सेनामाथि ‘बलात्कारीहरूको अखडा’ भएको सार्वजनिक घोषणा गर्दै यसको सङ्ख्या घटाएर दस हजारमा सीमित गर्नुपर्ने धारणा माओवादीका अगुवाहरूले प्रकट गरेका थिए । त्यसपछि सेनाको लोगो र नाम बदल्नुपर्ने, सेनालाई समाबेसी बनाउनुपर्ने जस्ता आवाज उठाइयो । यसले नछोएपछि सेनालाई सडक निर्माणको ठेक्कापट्टामा अल्झाएर सैन्य नेतृत्वलाई नगदकै वरिपरि चक्कर लगाइरहने स्थितिमा पुऱ्याइएको छ ।

यस अवधिमा सेनामा आफूअनुकुलको नेतृत्व स्थापित गरेर सेनाकै आडमा अधिनायकवादी शासनसत्ता लाद्ने प्रयास पनि भयो । यसक्रममा एउटा पार्टीको एउटा ब्यक्तिलाई शासक बनाउन रचिएको हिंसात्मक सङ्घर्षमा छापामर गुरिल्लाको भूमिका निर्वाह गर्नेहरू सबैलाई राष्ट्रिय सेनामा समावेश गर्ने प्रयास पनि भएको हो । यस्ता सबै प्रयास असफल भएपछि अहिले माओवादी गुरिल्लालाई राष्ट्रिय सेनाको मुख्य कमाण्डर बनाउन दुःखद् खेल सुरु भएको पाइएको छ ।

प्राप्त जानकारीअनुसार यतिबेला सेनामा आफूअनुकुलको प्रधानसेनापति चयन गरेर स्वार्थ सिद्धि गर्ने राजनीति चलिरहेको छ र, यस्तो राजनीतिमा कुनै न कुनै रूपले प्रभुराम शर्मासमेत संलग्न रहेको आशङ्का गर्न थालिएको छ । प्रभु शर्मापछिका सेनापतिका रूपमा चिनिएका ताराध्वज पाण्डेलाई राजीनामा दिन बाध्य पारिएको छ । निज पाण्डेले केहीअघि होटल सोल्टीमा आयोजित एक रात्रीभोजमा सरिक भएका भारतीय सैन्य सहचरीलाई ‘अपमान गरेका’ले उनलाई उमेर सच्याएको अभियोग लगाउँदै कारवाही गर्ने धम्की दिएर राजीनामा दिन बाध्य तुल्याइएको बताइन्छ ।

समाचारअनुसार तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७६ सालमा उमेर अनुकुल बनाउने मौका दिएपछि ताराध्वज पाण्डे र अशोक सिग्देलले जन्ममिति सच्याएका थिए । २०७६ सालमा एकतारे जनरलबाट दुईतारे जनरल बढुवा हुने क्रममा सेनापति थापाले जन्ममिति मिलाउने मौका दिएपछि पाण्डे र सिग्देलले २०२१ सालको आफ्नो जन्ममितिलाई २०२३ बनाएर सच्याएका थिए । यसक्रममा पाण्डेले २०७६ सालकै मिति राखेर सच्याएका थिए भने सिग्देलले चाहिँ पुरानो मिति (back date)मा सच्याएका थिए । दुवैले जन्ममिति सच्याएका भएपनि प्रभुराम शर्माले पाण्डेलाई कारवाही गर्ने भनी तर्साएर उस्तै गल्ती भएका सिग्देललाई चाहिँ उन्मूक्ति दिन खोजेका छन् । उल्लिखित दुवैजनालाई एउटै कसुरमा कारवाही गर्ने हो भने निर्मल थापालाई सेनापति बन्ने मौका प्राप्त हुनेछ । तर थापाको प्रविणता प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली भएको बताइन्छ । थापाले भारतबाट प्रमाणपत्र झिकाएर काम चलाएको दावी सम्बद्ध सूत्रको छ । कदाचित थापामाथि अनुसन्धान सुरु गरियो भने उनले पनि राजीनामा दिएर भाग्ने सम्भावना देखिन्छ । यसो भएमा पच्चीस बेसिकका सन्तोष ढकाललाई प्रधानसेनापति बनाउनुपर्ने अवस्था आउनेछ ।

सन्तोषलाई सेनामा राम्रो सैन्य अधिकारीका रूपमा लिइन्छ । तर सन्तोषलाई सेनापति बनाइएको अवस्थामा गुरिल्ला कमाण्डर यमबहादुरलाई सेनापति बनाउने प्रचण्डको सपना अधुरो रहने ठानिन्छ । तीस बेसिकका मधुकर कार्की र अट्ठाइस बेसिकका अनुपजङ्ग थापासँगै गुरिल्ला कमाण्डर यमबहादुरलाई अगाडि ल्याउन सेनामा राजनीति चलिरहेको छ । कार्की र थापाका बीचमा यमबहादुरलाई राखिएको छ । थापाको रहस्यमयी कनेक्सनका कारण उनीबाट नेपाल भन्दा बाह्यशक्तिको हितमा काम हुने ठानिन्छ ।

यसरी सेनालाई गिजोलेर अस्तब्यस्त बनाउने र पानी धमिलो बनाएर माछा मार्ने दाउमा प्रचण्ड रहेको बताउन थालिएको छ ।