प्रसाईंको ‘आन्दोलन’ले दिएको सन्देश

प्रसाईंको ‘आन्दोलन’ले दिएको सन्देश


प्रदर्शनकारीको जोश-उमङ्ग ओइलाएर अबका एक-दुई दिनमै तितरवितर हुने परिस्थिति निम्तिँदै छ भन्दा अन्यथा ठान्नुपर्दैन । अर्थात्, विचार/सिद्धान्त, संगठन अनि नेतृत्वको अकालले प्रसाईंको ‘जनविद्रोह’ खहरे खोलाको नियति ब्यहोर्न पुगेको छ । यो आन्दोलनले पढाएको महत्वपूर्ण पाठ गतिलो नेतृत्वविना कुनै पनि आन्दोलनले निकास दिन सक्दैन भन्ने नै हो ।

करिव सातादिनयता राजधानी काठमाडौं दुर्गा प्रसाईं नामक पात्रद्वारा उठान गरिएको ‘आन्दोलन’का कारण केही अस्तब्यस्त बनेको छ । अस्तव्यस्त यस मानेमा कि प्रसाईंसमर्थक भीडको व्यवस्थापनार्थ सरकारले आफ्नो केही शक्ति र समय खर्च गरिरहनुपरेको छ । मूलतः मेडिकल व्यवसायीका रूपमा चिनिएका प्रसाईंले ‘जनविद्रोह’ दाबी गरेको यस प्रदर्शनको तरङ्ग राजधानीबाहिर र परदेशवासी नेपालीहरूसम्म पनि पुगेको अनुभूति गरिँदैछ । सामाजिक सञ्जालमा प्रसाईंको प्रशंसा र विरोधमा चर्चा चलिरहेको छ, खासगरी युटुबरहरूले प्रसाईं तथा उनको प्रदर्शनबारे सकारात्मक/नकारात्मक चर्चाको बाढी नै ल्याइदिएका छन् । त्यसमाथि भारतीय मिडियाको एक तप्काले समेत प्रसाईंको अराजक शैलीको प्रदर्शनलाई उकेरा लगाउँदै ‘नेपालमा राजतन्त्र पुनर्स्थापनको लहर’को रूपमा ‘समाचार’ प्रवाह गरिदिएपछि यो प्रकरण प्रकारान्तरले अन्तर्राष्ट्रियकरण नै हुन पुगेको छ ।

काठमाडौंको बल्खुबाट शुरु भइ सिफलसम्म पुग्दा प्रसाईंसमर्थकको भीड निकै छिमलिन पुगेको छ । साता दिनअघिका प्रदर्शनकारीको जोश-उमङ्ग ओइलाएर अबका एक-दुई दिनमै तितरवितर हुने परिस्थिति निम्तिँदै छ भन्दा अन्यथा ठान्नुपर्दैन । अर्थात्, विचार/सिद्धान्त, संगठन अनि नेतृत्वको अकालले प्रसाईंको ‘जनविद्रोह’ खहरे खोलाको नियति ब्यहोर्न पुगेको छ । यस्तो हुनु अप्रत्यासित वा अस्वाभाविक थिएन, किनकि व्यवस्था नै उल्ट्याउने उद्घोषका साथ ‘युटुबकेन्द्रित’ बनेका प्रसाईंको आवेगपूर्ण ‘आन्दोलन’सँग यसभन्दा अघि जानसक्ने सामर्थ्य नै थिएन ।

प्रसाईंले मूलतः लघुवित्तिय संस्थाबाट पीडितहरूलाई उरालेर आफ्नो कथित जनविद्रोहको आधार खडा गरेका हुन् । हिन्दु धर्म/संस्कृतिको रक्षा र नागरिक बचाउ अभियान जस्ता नारा त उनले शुरुमै दिएका हुन्, तर परिवन्दले सडकमा उत्रिनैपर्ने बाध्यतामा पुगेपछि राजसंस्था पुनर्स्थापनाको नारासमेत उनले घन्काए । राजसंस्था पुनर्स्थापनाको नाराले स्वतः गणतन्त्र खारेजीको प्रसङ्ग पैदा गरिदियो, जसले गर्दा आफूलाई गणतन्त्रका प्रवर्तक ठान्ने दल/नेताहरू समेत प्रसाईंको आन्दोलनप्रति चनाखो बन्न पुगे । आफैं केन्द्रिय सदस्यसमेत रहिसकेको एमाले दल र त्यसका प्रमुख केपी ओलीप्रति पछिल्लो समय निकै आक्रामक देखिन थालेपछि एमालेको एक समूहको कोपभाजनको शिकार बन्न पुगेका प्रसाईंको आन्दोलनले त्यसबेला थप चर्चा बटुल्यो, जब युवा सङ्घको आवरणमा महेश बस्नेत नामका ओलीका खास पात्र प्रसाईंसँग सिँगौरी खेल्न मैदानमा प्रकट भए ।

राजसंस्था पुनर्स्थापनाको नारा उराले पनि राजावादी भनिएको दल, समूह वा व्यक्तिहरूले नै साथ नदिँदा प्रसाईको ‘जनविद्रोह’ हावा खुस्केको बेलुनझैँ बन्न पुगेको छ । उनको विश्वसनीयता र नियतमाथि गम्भीर प्रश्न उठाउनेको कमी छैन । उनी स्वयममाथि आर्थिक अनियमितता, भ्रष्टाचार र ठगीको आरोप छ र पनि प्रसाईको आन्दोलनले अर्थपूर्ण परिवर्तन ल्याइदिने आशमा सोझासाधा केही जनता उनको पछि लागे । प्रसाईंको जुझारुपनलाई भजाएर आफ्नो स्वार्थ साध्न कतिपय चतुर व्यक्ति/समूहले पनि उनलाई साथ दिएको स्वाङ रचेको देखियो ।

प्रसाईंको आन्दोलनलाई ‘प्रचण्ड तर्साउन भारतले एक औजारको रूपमा प्रयोग गरेको’ भनेर विश्लेषण गरेको पनि पाइयो । भारतीय मिडियाले निकै महत्व दिएझैँ गरेर प्रसाईंको प्रचारप्रसार गरेबाट यस्तो आशङ्का गरिएपनि यसबारे निर्क्योल गर्न सकिने बेला भइसकेको छैन । तथापि, वर्तमान संविधान, शासन-व्यवस्था, दल तथा नेताहरू भ्रष्ट छन्, यिनबाट निकास मिल्नुको साटो बेथिति झन् बढेको छ र नेपाल/नेपाली पीडामा छन् भन्ने सन्देश थप प्रवाहित तुल्याउन भने मेडिकल व्यवसायी प्रसाईंको आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको मान्नैपर्छ ।

यस्तै, एमालेको सशक्त भातृसङ्गठन दाबी गरिएको युवा सङ्घको वास्तविक चरित्र पनि प्रसाईंको आन्दोलनले उजागर गरिदिएको छ । पीडामुक्तिको मृगतृष्णामा प्रसाईंलाई पत्याएर राजधानी छिरेका निरीह महिलाहरूमाथि सो सङ्गठनका कार्यकर्ताहरू मध्यरातमा जाइलाग्न पुगेको प्रसङ्गले सो समूहको साख दयनिय किसिमबाट गिराइदिएको अनुभूति गरिएको छ । युवासङ्घको दुष्कर्मको बाछिटाले माउपार्टी एमाले र, विशेषगरी त्यसका सुप्रिमो ओलीलाई पनि दाग लगाइदिएको छ ।

एकाएक चर्चित बनेर सेलाउन पुगेको प्रसाईंको आन्दोलनलाई लिएर पछिसम्म पनि चर्चा र टीका-टिप्पणी जारी रहन सक्छ । जबर्जस्ती लादिएको गणतन्त्रको विरुद्ध आन्दोलनको बिजारोपण यसले गरिदिएकै पनि हुन सक्छ । तर, यो आन्दोलनले पढाएको महत्वपूर्ण पाठचाहिँ गतिलो नेतृत्वविना कुनै पनि आन्दोलनले निकास दिन सक्दैन भन्ने नै हो ।